निगमले कर्मचारी र नागरिक लगानीलाई तिर्‍यो ७ अर्ब ३९ करोड

निगमले कर्मचारी र नागरिक लगानीलाई तिर्‍यो ७ अर्ब ३९ करोड

काठमाडौं : नेपाल वायुसेवा निगमले दुई वाइडबडी र दुई न्यारोबडी किने बापत चैत मसान्तसम्म ७ अर्ब ३९ करोड ऋण तिरेको छ।

निगमले कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषको ऋण तिरेको हो। निगमले चैत महिनाको किस्ता बापत ५३ करोड ९ लाख ५५ हजार रकम तिरेको हो।

वाइडबडी खरिदका लागि नागरिक लगानी कोषले १२ अर्ब लगानी गरेको थियो। कर्मचारी सञ्चय कोषले २३ अर्ब लगानी गरेको थियो। निगमको यी दुवै खरिद प्रक्रिया विवादमा तानिएको थियो।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खरिद प्रक्रियामा भ्रष्टाचार भएको दाबी गर्दै अभियोग पत्र दर्ता गरेको थियो।अभियोग पत्रमा पूर्वपर्यटनमन्त्री जीवनबहादुर शाही, पूर्वसचिवद्वय शिशिरकुमार ढुंगाना र शंकर अधिकारी र वायुसेवा निगमका तत्कालीन प्रमुख सुगतरत्न कंशाकारसहित २४ नेपाली नागरिक, ६ जना विदेशी नागरिक र दुई वटा कम्पनीविरुद्ध एक अर्ब ४७ करोड १० लाख ८५ हजार ४ सय ८२ रुपैयाँ बिगोको मागदाबी गरेको थियो।

विशेष अदालतले निगमका अध्यक्ष एवं पर्यटन सचिव शंकर अधिकारी, महाप्रबन्धक सुगतरत्न कंसकार र सहसचिवहरू बुद्धिसागर लामिछाने र शिशिर ढुङ्गानालाई दोषी ठहर गरेको थियो। 

वैशाख १, २०८२ सोमबार १७:३४:५५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।