विपिन र शौरभको कर्म बदल्न असफल ‘कर्मा’

अगस्त्य अनि कर्माको क्यारेक्टर हेर्ने हो भने सौरभ चौधरी चुनौती स्वीकार गर्न रुचाउने निर्देशक हुन् भन्न कञ्जुस्याईँ गर्न आवश्यक छैन। चुनौती नस्विकार्ने हो भने अगस्त्यमा उनले नाजिरलाई अनि कर्मामा विपिन कार्कीलाई एक्सन अवतारमा उतारेर फिल्म बनाउने त के कल्पनासम्म पनि नगर्नु पर्ने हो।
कल्पना हैन, नाजिरलाई स्थापित चरित्रको लिकबाट बाहिर निकालेर विल्कुल फरक पात्रका रूपमा प्रस्तुत गरे। ‘कर्मा’मा पनि उनले त्यही चुनौती स्वीकार गर्दै विपिन कार्की र मुकुन भुसाललाई एक्सन अवतारमा प्रस्तुत गरे।
माओवादीले गोली हानेर बाबुको हत्या गरेको प्रत्यक्ष देखेका कर्मा प्रहरी निरीक्षक बन्न चाहन्छन्। त्यसैको तयारी गर्छन्। तर प्रहरी निरीक्षकको परीक्षा हलमा हुनुपर्ने उनी जेल पुग्छन्। के उनी जेलबाट छुटेर प्रहरी निरीक्षक बन्न सक्लान् या जसले उनलाई परीक्षा हलको साटो प्रहरी हिरासतमा पुर्याउन भूमिका खेलेको छ उसँग बदला लिन सक्छ? फिल्मको मुख्य कथा यही प्रश्न वरपर घुमेको छ।
करिब साढे दुई घण्टाको फिल्ममा विपिनसँगै मुकुन भुसाल, दिब्यदेव, उपासनासिंह ठकुरी लगायतका कलाकार छन्।
कथा, छायाङ्कनदेखि चरित्र निर्माणसम्म अगस्त्यमा शौरभले निकै मिहिनेत गरेका थिए। तर कथ्य संरचनामा चिप्लँदा फिल्म नै झुर भएको थियो। त्यो कमजोरी उनले कर्मामा दोहोर्याएका छैनन्। कथ्य संरचनामा देखिने गरी नै सुधार गरेका छन्। तर कथामा चिप्लिए उनी यसमा। जम्पकटको अधिक प्रयोगले फिल्मको कथा चैँ के हो भनेर अलमलमा पर्छन् दर्शक।
फिल्मको कथामा गीतलाई कसरी कनेक्ट गर्ने भन्ने सिकाएका छन् उनले। गीतलाई कथासँग मिसाएर अगाडि बढाएका छन्। गीत आउँदा कथा खल्बलिदैनन्।
विपिनको फरक-फरक चरित्र हेर्न रुचाउने दर्शकलाई कर्मामा देखिएको विपिनको नयाँ अवतार रमाइलो लाग्न सक्छ। तर फिल्मको प्रमोसनमा जसरी विपिनलाई पुरै एक्सन अवतारमा रहेको भान दिइयो त्यही सोचेर हलमा पुग्ने दर्शक भने निराश हुन सक्छन्।
फिल्म एक्सन जनराको भनेर हलमा जाँदा निराश हुन सकिन्छ। किनकि फिल्ममा एक्सन भन्दा सोसल ड्रामा हाबी छ।
कर्मा बनेका विपिनले मिहिनेत गरेका छन् अभिनयमा। प्रहरी निरीक्षकको भूमिकामा रहेका विजय हमाल (दिव्यदेव) ले चरित्रमा न्याय गर्ने तहको अभिनय गरेका छन्। कर्माका कलाकारमध्ये अब्बल देखिन्छ उनको अभिनय। अर्को सरप्राइज अभिनय असई बनेकी छिन् सन्ध्या भण्डारी (सुज्यान सिलवाल) को देखियो।
गीताञ्जलीको भूमिकामा रहेकी उपासनासिंह ठकुरीले निराश बनाएकी छैनन्। भीम न्यौपाने बनेका छन् मुकुन भुसालले चरित्रमा फिट हुन बढो सङ्घर्ष गरेका छन्।
तर चरित्र निर्माणका दृष्टिमा अगस्त्यमा उनले जसरी नाजिरको छवि निर्माण गर्न सकेका थिए कर्मामा विपिन र मुकुनको एक्सन छवि निर्माण गर्न सफल देखिएनन्।
विपिनको बाल्यकालको चरित्रलाई युवाकालमा ल्याएर जोड्ने हो भने २४ वर्षका युवाको चरित्र निभाएको देखिन्छ। २४ वर्षको ठिटो देखिन शारीरिक रूपमा विपिनले गरेको मिहिनेत देखिन्छ फिल्ममा। मेकअप आर्टिस्टले पनि मिहेनत गरेका छन् पर्दामा विपिनको उमेर घटाउन।
तर उमेर भनेको शारीरिक बनोट मात्र त हैन, पात्रको व्यवहार पनि उमेर सुहाउँदो देखिनु पर्ने हो। बोलाई, लवाई, सोचले पनि उमेरको प्रतिनिधित्व गर्छ नै। ती पक्षमा विपिन अहिलेकै उमेरका देखिएका छन्, २४ वर्षका हैनन्।
सबैभन्दा ठूलो समस्या विपिनको एक्सन अवतारको विफलता हो। यसमा कलाकार भन्दा पनि निर्देशककै कमजोरी बढी देखिन्छ। कथाको चरित्रमा साउथ फ्लेभर घुसाए तर विपिनलाई चरित्रमा घुसाउन सकेनन्। प्रौढ उमेरको चरित्रमा बालकको आत्मा घुसाए जस्तै देखियो।
यस्तै समस्या देखियो मुकुनमा पनि। उनको गेटअप र उनको चरित्र निर्माणमा जति मिहिनेत गरेका छन् निर्देशकले त्यसलाई दर्शकले सहजै स्वीकार गर्न सक्दैनन्। कपाल हल्लाउँदैमा भिलियनको भाव आउँदैन। चरित्रको हाउभाउले पनि साथ दिनुपर्छ। मुकुनको हाउभाउले चरित्रलाई न्याय गर्न सकेको देखिएन।
कथामा द्वन्द्व नै द्वन्द्व मिसाइएको छ। बाबु-छोरा, सपना पुरा गर्न विपिनको सङ्घर्ष, आमा-छोरा, प्रेमी-प्रेमिका अनि दाजु-बहिनीबिच द्वन्द्व निर्माण गरिएको छ। सङ्घर्ष मिसाइएको छ। दर्शकलाई पटक-पटक भावुक बनाउने प्रयास गरेका छन् निर्देशकले।
तर न द्वन्द्वको भाव दर्शकको मनसम्म पुगेको देखिन्छ न त पर्दामा भावुक दृश्य आउँदा दर्शकले अनुभव गर्न सक्छन्। कथासँग दृश्य फिट नहुँदा निर्देशकको मिहिनेत खेर गएको अनुभव हुन्छ।
बाबुको हत्या हुँदा होस् या प्रहरी निरीक्षक बन्न हिँडेको छोरा हिरासतमा फेला पर्दाको दृश्य होस्, फिल्ममा दर्शकलाई भावुक बनाउन सक्ने यस्ता दृश्य टन्नै छन्।
फिल्मको पहिलो भागमा दर्शक कनेक्ट हुन सक्छन्। तर दोस्रो भाग सुरु भएसँगै कथा लिक बाहिर गएको अनुभव हुन्छ। जब विपिन हिरासतमा पर्छन् फिल्मको लय पनि हिरासतमा परे समान देखिन्छ।
अर्को समस्या स्टन्टको हो। स्टन्ट र नृत्यको पात्र विपिनका लागि फिट हुने पक्ष हैन। तर डेमोकलाकार प्रयोग गर्न सकिन्छ यसमा। कर्मामा पनि स्टन्टमा सहायक कलाकार प्रयोग भएको प्रस्टै देखिन्छ। तर स्टन्टको दृश्यमा प्रयोग गरिएको कलाकारको बडीस्टक्चर विपिनसँग फिट गराउन सकेका छैनन् निर्देशकले। अलग्गै पात्रले मोटरसाइकल उडाएको सामान्य दर्शकले पनि भेउ पाउँछन्।
फिल्मको सिनेमाटोग्राफीमा मिहेनत देखिन्छ। तर बिजिएमले साथ दिएको अनुभव हुन्न। हिंसात्मक दृश्यमा एनिमल अनि साउथ फिल्मका दृश्यको झल्को दिन्छ।
फिल्मको सम्पादन पक्ष निकै फितलो देखियो। एकातिरको दृश्य अर्कोतिर लगेर जोडेको सहजै अनुभव हुन्छ। अगाडि आउनुपर्ने दृश्य पछाडि अनि पछाडिको दृश्य अगाडि ल्याएको राखिएको देखिन्छ।
काठ गोदाममा भएको द्वन्द्वको छायाङ्कनमा विपिनले बालुवामुनि लुकाएको तरबारले भिलेनको टाउको काटेको दृश्यले ज्यान सिरिङ्ग बनाउन सक्छ। मेकअप र लाइटिङमा पनि सजगता अपनाएको देखियो निर्माण टिमले।
अगस्त्य र कर्मालाई एकै ठाउँमा राखेर हेर्ने हो भने निर्देशक चौधरीमा सबैभन्दा ठूलो समस्या कथा प्रस्तुतिमा देखियो। कथाको निर्माण भइसकेपछि त्यसलाई दृश्य भाषामा बदल्दा उनी अलमलिने रहेछन् भन्ने कर्माले पनि देखायो।
फिल्म दृश्य भाषा भएकाले अधिकतम दृश्यको प्रयोग हुनुपर्नेमा पछिल्लो समय संवाद हाबी भएका फिल्मको निर्माणकोक्रम बढेको छ। पात्रको संवाद हावीहुँदा कस्तो फिल्म बन्छ भन्ने उदाहरण वसन्त बनिसक्यो।
वसन्तको हदसम्म पात्र संवादको साटो भाषण गर्ने तहमा झरेका छैनन् कर्मामा तर दृश्यमाथि संवाद हाबी भएको सहजै अनुभव गर्न सकिन्छ।
अगस्त्यबाट कर्मासम्म आइपुग्दाको सौरभको सुधार भनेको केही मात्रामा कथ्य शैलीमा देखियो। तर कथाको माग अनुसारको कास्टिङमा चुक्दा त्यो सुधार पनि छायाँमा पर्यो।
चैत ३१, २०८१ आइतबार २३:३९:५९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।