हङकङ टी२० सिरिजको उपाधि कुवेतलाई, बसिरको ८० रनका बावजुद नेपाल तीन रनले पराजित

काठमाडौं : चार देश सम्मिलित हङकङ टी२० सिरिजमा नेपाल कुवेतसँग तीन रनले पराजित भएको छ। मिसन रोड क्रिकेट मैदानमा १७५ रनको लक्ष्य पछ्याउने नेपालको टप अर्डर ध्वस्त भयो।
पाँचौं ओभरको पाँचौं बलमा २८ रन बनाउँदा चार विकेट गुमेको नेपालको पारीलाई बसीर अहमदले अन्तिम ओभरसम्म सम्हाले। तर अन्तिम तीन बल बाँकी छँदा १७१ रनमा समेटियो।
नेपालका लागि बसिरले ४३ बलमा ८० रनको योगदान दिँदा नन्दन यादवले १४ बलमा ३७ रन र आशिफ शेखले ११ बलमा २१ रन बनाए। त्यसबाहेक अन्य खेलाडी आज चल्न सकेनन्।
कुवेतका अनुदीप छेन्थामाराले तीन विकेट लिँदा यासिन पटेल र नवीनराज राजेन्द्रनले समान दुई-दुई विकेट लिए।
त्यसअघि मिसन रोड क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङमा तानिएको कुवेतले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १७४ रन बनाएको थियो।
उसका लागि रविजा सन्दारुवनले ३६ बलमा ६३ रनको अर्धशतकीय पारी खेल्दा क्लिन्टो एन्टोले २६, उस्मान पटेलले २३, मित भावसारले २३ रन बनाए।
नेपालका लागि नन्दन यादव र सोमपाल कामीले समान दुई-दुई विकेट लिँदा करण केसी र कुशल भुर्तेलले समान एक-एक विकेट लिए।
यसअघि भएको समूह चरणको खेलमा अपराजित रहँदै नेपाल फाइनल प्रवेश गर्दा कुवेतले नेपालसँगको एक खेल हारेर फाइनलमा प्रवेश गरेको हो।
चार देश सहभागी टी२० सिरिजमा आयोजक हङहङ, नेपाल र कुवेतसहित कतार पनि सहभागी थियो। आजै विहान तेस्रो स्थानको लागि भएको खेल हङकङले एक रनले जित्यो।
चैत ३१, २०८१ आइतबार १५:१२:१० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।