परमाणु सम्झौताका विषयमा इरान र अमेरिकाबीच सात वर्षपछि वार्ता

एजेन्सी : परमाणु सम्झौताका विषयमा इरान र अमेरिकाबीच सात वर्षपछि वार्ता भएको छ।
ओमानको मध्यस्थतामा शनिबार दुवै देशका प्रतिनिधिमण्डलबीच ओमानको राजधानी मस्कटमा अप्रत्यक्ष वार्ता भएको हो।
इरानको आणविक कार्यक्रमको सम्बन्धमा २०१८ पछि दुई देशबीच भएको यो उच्चस्तरीय बैठक थियो।
दुवै देशले पहिलो चरणको बैठकलाई ‘रचनात्मक’ भनेका छन्। दोस्रो चरणको छलफल अर्को हप्ता हुनेछ।
अमेरिकी प्रतिनिधिमण्डलको नेतृत्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत स्टिभ विटकफले गर्दा इरानी प्रतिनिधिमण्डलको नेतृत्व इरानका विदेशमन्त्री अब्बास अराघचीले गरेका थिए।
बैठक छुट्टाछुट्टै कोठामा आयोजना गरिएको थियो, जसमा ओमानका विदेशमन्त्री बद्र बिन हम्माद अल-बुसैदी मार्फत दुवै देशका प्रतिनिधिहरूलाई सन्देश पठाइएको थियो।
यद्यपि, बुसैदीको उपस्थितिमा अराग्ची र विटकफले केही मिनेट कुराकानी गरेका थिए।
वार्तापछि अब्बास अराघचीले इरानी सरकारी टिभीलाई पहिलो बैठकको रूपमा बैठक रचनात्मक भएको बताए।
उनले भने, ‘पहिलो बैठकको रूपमा यो रचनात्मक बैठक थियो जुन धेरै शान्तिपूर्ण र सम्मानजनक वातावरणमा सम्पन्न भयो किनभने कुनै अनुपयुक्त भाषा प्रयोग गरिएको थिएन।’
ह्वाइट हाउसले पनि एक विज्ञप्तिमार्फत वार्ता ‘निकै सकारात्मक र रचनात्मक’ भएको उल्लेख गरेको छ।
चैत ३१, २०८१ आइतबार ०८:४८:१६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।