यु१९ पुरुष विश्वकपको एसिया छनोटमा नेपाल युएईसँग भिड्दै, तल्लो मुलपानीमा पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता

यु१९ पुरुष विश्वकपको एसिया छनोटमा नेपाल युएईसँग भिड्दै, तल्लो मुलपानीमा पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता

काठमाडौं : आईसीसी पुरूष अन्डर-१९ विश्वकप एसिया छनोट आजदेखि काठमाडौंमा सुरू हुँदैछ।

प्रतियोगिताको पहिलो दिन आज दुई खेल हुँदै छन्। मुलपानीको तल्लो मैदानमा नेपालले युएइसँग खेल्दैछ भने माथिल्लो मैदानमा अफगानिस्तान र ओमान खेल्न लागेका हुन्। तल्लो मुलपानी मैदानमा पहिलो पटक अन्तर्राष्ट्रिय प्रतियोगिता हुन लागेको हो।

दुबै खेल बिहान साढे ९ बजे सुरु हुनेछन्। हिजो आयोजित क्याप्टेन्स मिटमा सहभागी पाँच वटै देशका कप्तानले आफ्नो टिम विश्वकपमा पुग्ने दाबी गरेका छन्।

प्रतियोगितामा आयोजक नेपालसहित अफगानिस्तान, यूएई, ओमान र हङकङ सहभागी हुने छन्। नेपाली युवा टोलीका कप्तान नरेन भट्टले २ महिनादेखि तयारी थालेको र घरेलु समर्थक माझ नेपाल प्रतियोगिताको शीर्ष स्थानमा रहँदै विश्वकपमा पुग्ने दाबी गरे।

अफगानिस्तान, यूएई, ओमान र हङकङका कप्तानले समेत आफ्नो टोली विश्वकपमा पुग्ने लक्ष्यसहित नेपाल आएको बताए।  प्रतियोगिताको तयारी स्वरुप नेपालले अफगानिस्तानसँग ३ खेलको अभ्यास सिरिज खेलेको थियो।

सो सिरिजमा २-१ ले पछि परेको नेपालले दिल्ली अन्डर-१९ विरुद्धको सिरिज भने ३-० ले क्लिनस्विप गरेको थियो।

प्रतियोगिता अन्तर्गत नेपालले सोमबार ओमानसँग खेल्ने छ भने बुधबार हङकङ र आगामी शनिबार अफगानिस्तानको सामना गर्ने छ।

सिङ्गल राउण्ड रोविनको शीर्ष स्थानमा रहने टोलीले जिम्बाबे र नामिबियामा आयोजना हुने आईसीसी पुरूष अन्डर-१९ विश्वकप २०२६ मा स्थान बनाउने छ।

चैत ३१, २०८१ आइतबार ०८:२२:०१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।