तीनकुनेमा भिड नियन्त्रण रणनीति नङग्याएका दुर्गाले आसाम पुगेर सीमा सुरक्षा संयन्त्रको धज्जी उडाए

काठमाडौं : तीनकुनेमा वितण्डा मच्चाएर भागेका दुर्गा प्रसाईँलाई भारतीय सुरक्षाकर्मीको सहयोगमा १४ दिनपछि नेपाल प्रहरीले आसामबाट नेपाल ल्यायो।
१४ दिनपछि भए पनि प्रसाईँ पक्राउ गर्न सफल भएकोमा सुरक्षा संगठन मखलेल देखिन्छन्। भागेर भारतको आसाम पुगेका प्रसाईँलाई लुकेकै घरबाट थुतेर नेपाल ल्याउनसक्नु एक खालको अनुसन्धानको सफलता पनि हो। प्रहरीको यो सफलतासँगै अर्को गम्भीर समस्या पनि उजागर गर्यो सीमा सुरक्षा।
प्रहरीको अनुसन्धानमा दुर्गाले चैत १५ गते बेलुका साढे चार बजेबाट शनिबार दिउँसो नौ बजेभित्र ललितपुरको इमाडोलदेखि झापाको काकडभिट्टासम्म पुगेको खुलायो। योसँगै एक ‘फरार’ ले १७ घन्टामा सहजै काठमाडौं उपत्यकादेखिको आठ आन्तरिक सुरक्षा चेकपोस्ट अनि एक अन्तर्राष्ट्रिय सीमा सुरक्षा चेकपोस्ट सहजै पार गरेर सहज रूपमा अर्को देश पुगेको खुलायो।
अनुसन्धानमा प्रहरीले तयार पारेको दुर्गा भागेको रुटको समयतालिका अनुसार तीनकुनेबाट ललितपुरको इमाडोल पुगेका उनले हरिसिद्धि, चापागाउँ, सानागाउँ हुँदै सिन्धुलीको बाटोबाट सहजै बिर्तामोड पुगेर त्यहाँबाट काँकडभिट्टा हुँदै भारतको सिलगुढी पुगेका थिए।
ललितपुरबाट काभ्रेको हाइवेसम्म पुग्न उनले भित्री बाटोको प्रयोग गरेका थिए। तर, त्यहाँबाट सिन्धुली हुँदै बिर्तामोड जान वीपी राजमार्ग बाहेक अर्को विकल्प छैन।
यता काठमाडौंभित्र उपत्यका अपराध अनुसन्धान कार्यालय अनि जिल्ला प्रहरी परिसर काठमाडौंले बेलुका साढे ६ बजेबाटै दुर्गाको खोजी शुरू गर्दा उनी भने मजाले चेकपोष्ट हुँदै मुख्य राजमार्गबाटै बिर्तामोड पुगेका थिए।
यता प्रहरी उनको खोजीमा लागेकै बेलामा उता काँकडभिट्टामा रहेको अन्तर्राष्ट्रिय सीमा सुरक्षा चेकपोस्टले समेत उनलाई रोक्न सकेन। साढे नौ बजे आसपास उनले सहजै काँकडभिट्टाको नेपाल प्रहरी र सशस्त्र प्रहरीको सीमा सुरक्षा चेकपोस्ट पार गरेर सिलगुढी पुगेको देखियो।
आठ चेकपोष्टका प्रहरीले ‘चिनेनन्’ दुर्गा
काभ्रेबाट मात्रै प्रहरीको चेकपोस्टहरू गन्दा आठ वटा आन्तरिक देखिए। त्यसमा एक ठाउँमा सशस्त्रसहितको देखियो भने अन्यत्र नेपाल प्रहरीको।
काभ्रेस्थली, मंगलटार र रामेछापको प्रवेश विन्दु नेपालथोकमा नेपाल प्रहरीको चेकपोष्ट छ। सिन्धुलीको भिमानको चेकपोष्टपछि एकै पटक गाईघाट कटेपछि मात्र चेकपोस्ट छ। कोशी पुलमा प्रहरीको चेकिङ हुन्छ भने सुनसरीको चतरामा शसस्त्रको चेकपोष्ट छ। दुर्गा यही बाटो हुँदै गएका थिए।
दमकको ताराबारीमा रहेको चेकपोष्ट पार गरेपछि बिर्तामोडसम्म आकस्मिक बाहेक कुनै चेकपोस्ट छैन। अनि बिर्तामोडबाट एकै पटक काँकडभिट्टा नै हो चेक हुने। दुर्गाले सहजै यी सबै चेकपोष्ट पार गरेर भारत पुगे।
पाँच बजे नै खुलेको थियो दुर्गा भागेको गाडी
तीनकुनेको कार्यक्रमका आयोजकहरूलाई पक्राउ गर्न प्रहरी चैत १५ गते बेलुका सात बजेबाटै सक्रिय भइसकेको थियो। दुर्गा प्रसाईँ त्यो बेलामा भागिसकेका थिए। लगभग सात बजेतिरै धवलशमशेर राणा र रविन्द्र मिश्र पक्राउ परेको समाचार बाहिरिइसकेका थिए।
अनुसन्धानमा त्यो बेलासम्म प्रसाईँ काठमाडौं उपत्यकाभित्रै रहेको देखाउँछ। भोलिपल्ट चैत १६ मा मात्र उनी बिर्तामोड पुगेका थिए। अनि त्यही दिन भारतको सिलगुढी।
दुर्गा अपरिचित व्यक्ति थिएनन्। चेकपोष्टका प्रहरीले सहजै पहिचान गर्न सक्थे। लौ प्रहरीले दुर्गा चिनेन रे। नम्बरका आधारमा गाडी त नियन्त्रणमा लिन सक्थे नै। दुर्गाले तीनकुनेबाट भाग्न बा १ ब ४२०८ नम्बरको गाडी प्रयोग गरेका थिए।
उनी यही बोलेरोमा ललितपुरबाट बिर्तामोडको बिएन्डसी अस्पतालसम्म पुगे। गाडी त्यहीँ छाडेर अर्को गाडीमा भारत पुगे। तर, राजमार्गमा चेकपोइन्ट राखेर खटिएका न प्रहरीले थाहा पाए न त सशस्त्र प्रहरीले नै चाल पाए।
साढे ४ बजे ललितपुरमा देखिएका दुर्गा भोलिपल्ट सिलगुढीमा
तीनकुनेमा वितण्डा मच्चाएका प्रसाईँ प्रहरीको घेराबाट उम्किएर एक घण्टाजति तीनकुनेकै एक रेष्टुरेन्टमा बसेका थिए।
त्यसपछि उनी दलबलसहित प्राडो गाडीमा चढेर भागेका थिए। सुरक्षाका लागि चालक पछाडिको सिटमा पहिला दुई जना छिरेका थिए। त्यसपछि दुर्गालाई राखेर थप दुई जना झ्यालको सिटतिर बसेका थिए।
प्रहरी अनुसन्धानमा चार बजेसम्म प्रसाईँ तीनकुने क्षेत्रमै देखिएका थिए। त्यो बेलासम्म उनको मोबाइल सक्रिय नै थियो। प्रदर्शन हिंसात्मक भएपछि स्थानीय प्रशासनले कर्फ्यू घोषणा गर्यो। माहौल शान्त हुँदै गएपछि प्रदर्शनमा संलग्नहरुलाई पक्राउ गर्न शुरू गरेको थियो।
सबैभन्दा पहिला आयोजक संस्थाका उग्र नेताहरूको खोजी शुरू भयो। त्यो बेला प्रसाईँ ललितपुरको इमाडोलमा थिए। अनुसन्धान स्रोतका अनुसार त्यो बेलासम्म दुर्गाको मोबाइल अफ भइसकेको थिएन। साढे चार बजेसम्म इमाडोल क्षेत्रमै देखिएको दुर्गाको मोबाइल एकाएक बन्द भयो।
प्रहरीलाई किच्नेगरी सुरक्षा ब्यारिकेड भत्काएपछि दुर्गाले आफ्नो गाडी त्यतै छाडेका थिए। तीनकुनेबाट रेष्टुरेन्टबाट निस्किएर उनी बोलेरोमा भागेको दृश्य सामाजिक सञ्जालमा छ्यापछ्याप्ती भइसकेको थियो। गाडी नम्बर थियो- बिएबी ४२०८।
इमाडोलमा गएर दुर्गा लुकेको घर खोज्न प्रहरीलाई रातभर लाग्यो भोलिपल्ट बिहान मात्रै पुष्करको घरमा प्रहरी पुगेको थियो।
तर, दुर्गा सहयोगीसहित पुष्करको घरमा बसेको भिडियो टिकटकमा चैत १५ कै रात सार्वजनिक भएको थियो। घरमा प्रहरी आएपछि पुष्करले ‘फलफूल खाएर बेलुकै प्रसाईँ हिँडेको’ बताए। घरमा प्रसाईँ थिएनन्।
सम्पर्कविहीन भए पनि उनको खोजमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टिम खटिएको थियो। उनीहरूले सम्भावित लोकेशन हेर्न दुर्गाको मोबाइल नम्बर ट्रयाक गरे। तर, इमाडोलमा बन्द भएको उनको नम्बर रहेको मोबाइल खुलेन।
दुर्गाका सहयोगीमध्येका एक प्रमुख सहयोगी दुरेन राईको मोबाइल नम्बर सक्रिय नै थियो। त्यसको लोकेशन र कल ट्रयाक गर्दा धवल प्रहरी नियन्त्रणमा पर्नु अगाडि कल भएको देखियो। लोकेशन थियो उपत्यकाबाट दक्षिण पूर्व झर्ने ठाउँ- सानागाउँ।
त्यही लोकेशनको आधारमा प्रहरीले इमाडोलदेखिको सम्भावित क्षेत्रको सिसिटिभी फुटेजहरू संकलन गर्यो अनि दुर्गा तीनकुनेबाट भाग्न प्रयोग भएको गाडी नम्बरको आधारमा लोकेशन हेर्दै गयो।
इमाडोलबाट साढे चारबजेतिर निस्किएको गाडी त्यस्तै आधा घण्टामा भक्तपुरबाट बाहिरिने विन्दु पुगेको देखियो। तर, हरिशिद्धि पुगिसकेको गाडी काभ्रेतिर नलागेर पुन: सानागाउँतिर फर्कियो। त्यहीँबाट दुरेनको मोबाइलबाट धवलसँग कुरा भयो।
‘साँगाचोकमा उनका एक जना दाई बस्ने रहेछन्। उनी त्यहीँ जान चाहन्थे। तर प्रहरी पुगिसकेको शंका लागेर उनी त्यता नगई सिन्धुलीतिर लागे’, अनुसन्धान स्रोत भन्छ।
त्यसपछि उनी दक्षिण-पूर्वतर्फ झर्दै काभ्रे हुँदै मध्यरात १२:२१ मा सिन्धुली पुगे। बिहान पाँच बजे उनीहरू बिर्तामोडमा रहेको बिएन्डसी अस्पताल पुगेको खुल्यो।
अनुसन्धानमा संलग्न प्रहरी स्रोतको दाबी अनुसार यी सबै समय र लोकेशन दुर्गा प्रसाईंले प्रयोग गरेको गाडीको क्लोज सर्किट टेलिभिजनको फुटेजको आधारमा निकालिएको हो।
उनी अस्पतालमा गएर आफ्नो ब्लड प्रेसर नापे। उनले चालकको मोबाइलबाट सालोलाई कल गरे। उठेन। अनि श्रीमतीलाई कल गरे। श्रीमतीसँग कुरा भएपछि उनले काठमाडौंबाट चढेको स्करपियो त्यतै छाडेर अर्की गाडीमा काँकडभिट्टातिर लागे।
पौने १० बजेतिर प्रसाईँको लोकेशन देखियो भारतको सिलगुढी। उनी त्यही दिन आसाम गएर बक्सा भन्ने ठाउँमा नेपाली मुलका भारतीय नागरिकको घरमा बसेका थिए। तेस्रो दिन त्यहीँ खिचेर भिडियो पठाए प्रकाशचन्द दाहाललाई। दाहालले फेसबुक पेजमा ‘म नेपालमै छु’ भनेर दाबी गरेको भिडियो राखिदिए।
ठोरीबाट प्रयागराजको फण्डा
प्रसाईँ आसाम पुगेर त्यतै बसेनन्। उनी त्यताबाट लखनउ आए। लखनउबाट दिल्ली गए। दिल्लीबाट राजस्थान गएका उनी पुन फर्किएर आसामको बक्सामा आएर पुरानै घरमा बसे।
यता अन्तर्देशिय अपराध अनुसन्धान गर्ने जिम्मेवारी पाएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले उनी चितवनको ठोरीबाट भारत छिरेर प्रयागराज गएको भन्दै एक टोली त्यता पठायो।
माओवादी द्वन्द्वकाल अनि मधेश आन्दोलनमा समेत अति बलियो सूचना संयन्त्र भएको ब्यूरो फेक सूचनाको पछि दौडिरहेको थियो। तर, उनी थिए आसाममा।
प्रहरीले दुर्गालाई फेला नपारे पनि काठमाडौंदेखि बिर्तामोडसम्म भाग्न प्रयोग गरेको गाडी फेला पार्यो। गाडी लुकाउन परालले छोपेर राखेको अवस्थामा फेला पारेपछि चालकसँगै गाडीधनी मुकुन्द दाहाललाई नियन्त्रणमा लियो। दुरेन राई पनि पक्राउ परे।
प्रहरीले यी तीनै जनाबाट पाएको सूचनाको आधारमा दुर्गा ठोरी हुँदै प्रयागराज हाेइन, काँकडभिट्टाबाट छिरेर भारत गएको र दार्जिलिङ या आसामतिर हुनसक्ने निष्कर्ष निकाल्यो। विशेष ब्यूरोको सूचना फेल भयो।
यहीबीचमा अन्तर्देशिय अपराधको अनुसन्धानमा राम्रो दखल भएका प्रहरी अधिकृत दिल्ली गए। त्यहाँ बस्दा दिल्ली प्रहरीबाट प्राविधिक अनुसन्धानमा सहयोग हुने भएकाले दुई सदस्यीय टोली दिल्ली गएको थियो।
सार्वजनिक भएको भिडियो, उनले भाग्न प्रयोग गरेको रुटका आधारमा अनुसन्धान दार्जिलिङ वा आसाम केन्द्रित भइसकेको थियो। भौतारिँदै आसाम पुगेका दुर्गाले हडबडमा एक गल्ती गर्छन्। जसले उनी दिल्लीमा रहेको नेपाल प्रहरीको टिमले लोकेट गर्छ।
यता अनुसन्धान गन्जागोल भइसकेको थियो। ब्यूरो लगभग असफल भइसकेको थियो। दुर्गा समात्न नसके पनि उपत्यका अपराध अनुसन्धान कार्यालयले उनी कसरी भागे अनि कहाँ हुनसक्छन् भन्ने अनुमानित खाका बनाइसकेको थियो। दिल्लीमा भएको टिममा अपराध अनुसन्धान कार्यालयका एक अधिकारी पनि मिसिए उतै।
स्थान लोकेट भए पनि भारतीय सुरक्षाकर्मीको सहयोग अनिवार्य थियो। अर्को समस्या तीनकुनेमा भएको प्रदर्शन हिंसात्मक भए पनि अजेण्डा त राजनीतिक थियो।
कुनै अनुसन्धान विवादमा परे फिल्डमा खटिएको टोली कारबाहीमा पर्नु सामान्य हो प्रहरीमा। प्रहरी टोलीले गृह मन्त्रालयबाट निर्णय भए मात्र मुभ हुनसक्ने सूचना पठाएपछि यता गृहबाट समिति बनाउने निर्णय भयो। निर्णय अनुसार औपचारिकताका लागि विशेष ब्यूरोको प्रमुख सिद्दीविक्रम शाहको नेतृत्वमा समिति बन्यो।
यता समिति बनेपछि दिल्लीमा रहेको टिम आसाम पुग्यो र आसाम प्रहरीको सहयोगमा घरमा लुकिरहेका प्रसाईँ नियन्त्रणमा आए।
कसरी छलियो सुरक्षा चेकपोस्ट
जानकार अनुसन्धान अधिकारीका अनुसार प्रारम्भमा प्रसाईँ खोज्न प्रहरीले त्यति चासो देखाएको थिएन। उनी भागिहाल्छन् भन्ने समेत प्रहरीको आँकलन थिएन। जसरी सहजै धवल र रविन्द्र समातिए दुर्गा पनि समातिने अति आत्मविश्वासले प्रारम्भमा खोजी फितलो भयो।
गाडी नम्बर थियो। तर चेकपोस्टहरूमा गाडी नम्बर सर्कुलेट नै भएको देखिएन। प्रसाईँ गाडीमा आउनसक्छन् भन्ने मात्र भयो।
बिर्तामोडबाट काठमाडौं भित्रिने सवारी साधनमाथि जुन रूपमा निगरानी हुन्छ, सुरक्षा चेकपोस्टमा रहेकाले काठमाडौंबाट बाहिरिने गाडीमाथि त्यति निगरानी राख्दैनन्।
त्यसमा पनि उनीहरूको ध्यान मालबाहक र सार्वजनिक सवारी साधनमा मात्रै हुन्छ। अधिकांश निजी गाडीमा को छ भन्ने चेकपोस्टमा खटिने प्रहरी र ट्राफिकले वास्ता गर्दैन। चालक गएर गाडी नम्बर टिपाए पुग्छ।
दुर्गालाई किन नसमातेको भनेर राजनीतिक मञ्चदेखि मिडियामा आलोचना शुरु भएपछि बल्ल प्रहरी तात्यो। प्रहरी तात्दासम्म उनले संगठनको कमजोरीमा खेल्दै सीमा पार गरिसकेका थिए।
काँकडभिट्टाको सीमा अन्तर्राष्ट्रिय भए पनि यहाँको सुरक्षा संयन्त्र र परिचालन शैली पनि अन्तर जिल्लाको भन्दा फरक देखिँदैन।
यहाँ प्रहरी र सशस्त्र दुवैको टोली छ। तर दुवै टोलीको ध्यान भारतबाट नेपाल आउने अधिकांश मालबाहक गाडी र सामान बोक्ने यात्रुमा केन्द्रित देखिन्छ। कुनै व्यक्तिले अवैध सामान ल्याउँदैछ भन्ने पूर्व सूचना बाहेकको अवस्थामा व्यक्तिमाथि निगरानी हुन्न।
नेपाल आउनेको अवस्था त यस्तो छ भने अब नेपालबाट भारत जानेमाथि हुने निगरानी कति फितलो छ सहजै अनुमान गर्न सकिन्छ। कहिलेकाँही गाडीका चालकलाई ‘कहाँसम्म जान लागेको?’ प्रश्न सोध्नु नै काँकडभिट्टाको नाकामा खटिने सुरक्षाकर्मीको सबैभन्दा ठूलो चनाखोपन रहेको अनुभवी एक प्रहरी अधिकारीले नै बताए।
रेहिंग्या शरणार्थीहरू सबैभन्दा धेरै भित्रिने नाका पनि यही हो। यसले नै यहाँको सुरक्षा प्रणालीको अवस्था देखाउँछ नै।
प्रसाईँ बिर्तामोडका भएकाले उनी काँकडभिट्टाबाट भारत भाग्न सक्छन् है भन्ने सामान्य अनुमानकै आधारमा पनि सीमामा अलर्ट गराएको भए उनी आसामसम्म पुग्न सम्भव देखिन्न। तर यतिसम्म पनि प्रहरीले गरेको खुलेन।
नेपालबाट भारत जानेहरूको हकमा यता संयोग बाहेक नियमित चेकजाँच भए पनि सिलगुढीमा यो सम्भव छैन। यताबाट बोकेको सामान अनिवार्य एक्स्रेबाट जाँच हुन्छ। सँगै भारत जाने नेपालीको नागरिकता समेत अनिवार्य हेर्छ प्रहरीले।
काँकडभिट्टाबाट दुर्गा पारी जानसक्ने सामान्य अनुमान गरेर भारतीय सीमा सुरक्षाका अधिकारीलाई विवरणसहित अनुरोध गरेको भए दुर्गालाई खोज्न दिल्लीदेखि आसामसम्म धाउनै पर्दैनथ्यो।
यी नै तथ्यले आसाममा दुर्गा प्रसाईँलाई नियन्त्रणमा लिएर नेपाल ल्याउने कामले प्रहरीको अनुसन्धान र नेपाल प्रहरी र भारतीय प्रहरीबीचको अनौपचारिक सम्बन्ध खुलायो नै। सँगै नेपालको सीमा सुरक्षा कति कमजोर रहेछ भन्ने तथ्य पनि छर्लंग बनायो।
चैत ३१, २०८१ आइतबार ०७:५६:५२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।