आईपीएल : लगातार चार खेलमा हारपछि हैदरावादकाे जित, अभिषेकको शानदार शतक

आईपीएल : लगातार चार खेलमा हारपछि हैदरावादकाे जित, अभिषेकको शानदार शतक

काठमाडौं : जारी इन्डियन प्रिमियर लिग (आईपीएल)मा लगातार चार खेलमा हार बेहोरेपछि सनराइजर्स हैदरावादले दोस्रो जित निकालेको छ।

पन्जाब किंग्सले दिएको २ सय ४६ रनको लक्ष्य पछ्याएको हैदरावादले अभिषेक शर्माको शानदार शतकको मद्दतमा ९ बल अघि नै दुई विकेट गुमाएर पूरा गर्यो।

अभिषेक र ट्रेभिस हेडले पहिलो विकेटका लागि १ सय ७१ रनको साझेदारी गर्दै जितलाई सुनिश्चित गरे। अभिषेकले ४० बलमा ११ चौका र ६ छक्कासहित आईपीएलमा आफ्नो पहिलो शतक पूरा गरे।

५५ बल खेलेका अभिषेकले १४ चौथो र १० छक्कामा १ सय ४१ रनको योगदान गरे। उनी अर्शदीप सिंहको बलमा आउट भएका थिए। हेड ३७ बलमा ९ चौका ३ छक्कासहित ६६ रन बनाए। हर्निच क्लासन २१ र इसान किसन ९ रनमा नटआउट रहे।

त्यसअघि राजीव गान्धी अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस जितेर पन्जाबले पहिले ब्याटिङ गर्यो। २० ओभरमा ६ विकेट गुमाउँदै २ सय ४५ रनको ठूलो योगफल खडा गर्यो। कप्तान श्रेयस अयरले सानदार ब्याटिङ गरे। ३६ बल खेल्दै ६ चौका र ६ छक्का सहित सर्वाधिक ८२ रन बनाए।

प्राभिसिमरन सिंहले ४२ रन जोडे। प्रियान्स आर्याले ३६ रन र नेहाल वादेराले २७ रन बनाए। यस्तै मार्कस स्टोनिस अविजित ३४ रनमा रहे। उनले मात्र ११ बल खेल्दै ४ छक्का र १ चौका प्रहार गरे।

बलिङमा हर्ष पटेलले ४ ओभर बलिङ गर्दै ४२ रन खर्चेर ४ विजेट लिए। इशान मालिङ्गाले २ विकेट झारे।

पहिलो जित पछि हैदरावादले लगातार ४ खेल हारेको थियो। ६ खेलमा ४ अंकसहित हैदरावाद आठौं स्थानमा उक्लिएको छ। पन्जाब ५ खेलमा ६ अंकसहित छैंटौं स्थानमा छ।

चैत ३१, २०८१ आइतबार ०७:३५:३९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।