प्रचण्डको दुखेसो ‘एक जनालाई पिटेको छैन, तर १७ हजार मार्यो भन्छन्’

काठमाडौं : सशस्त्र द्वन्द्वमा मारिएकाहरूको संख्या जोडेर माओवादी केन्द्रका नेतामाथि ‘१७ हजारको ज्यान लिएको’ आरोप लागिरहन्छ। अनि माओवादी नेताहरू प्रतिवादमा उत्रिन्छन्।
प्रतिवादकाक्रममा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नै ‘मारिएकामध्ये पाँच हजार जनाको जिम्मेवारी लिन्छु’ सम्म भनेका थिए।
तर शनिवार आफूले अहिलेसम्म एक जनालाई पिट्नेसम्मको काम नगरे पनि १७ हजारको ज्यान लिएको आरोप लाग्ने गरेकोमा दुख लाग्ने गरेको बताए।
शनिवार खिमलाल देवकोटाको पुस्तक विमोचनमा प्रचण्डले सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता व्यक्ति छानबिन आयोगले छिट्टै पूर्णता पाउने आशा व्यक्त गरे।
‘संविधानसभा पनि दुई पटक गठन गरेर संविधान जारी गर्यौँ। सिफारिस समिति पनि तीन पटक गठन भइसक्यो। हाम्रो नियति नै त्यस्तै छ। यस पटक यसले आयोगलाई छिट्टै पूर्णता दिन्छ’ उनले भने।
एक थरी मानिसहरू इतिहासलाई पछाडि धकेल्न चाहनेहरूले १७ हजारको हत्यारा भनेर आरोप लगाइरहेको भन्दै उनले प्रश्न गरे ‘युद्धमा राज्य पक्षले कति मार्यो? विद्रोहीले कति के गर्यो भन्ने कुरा अध्ययन अनुसन्धान गर्न सकिन्छ तर यो आरोप सत्य हो त?’
माओवादीको लडाकु क्याम्पहरूमा आन्तरिक विद्रोह सुरु हुन थालेपछि प्रचण्ड हतारमा सेना समायोजनमा सहमत भएका थिए। हतारमै हतियार बुझाउने काम सकिएको थियो। तर उनले शनिवार सेना समायोजन र हतियार व्यवस्थापनमा माओवादी केन्द्रले नै सबैभन्दा धेरै जोखिम उठाएको दाबी गरे।
आफ्नो पार्टी विभाजनमा जाने जोखिम देख्दादेख्दै पनि हतियार व्यवस्थापन आजकै दिन हुनुपर्छ भएन भने भोलि थुप्रैको हत्या हुनसक्छ भन्न सक्ने पार्टी माओवादी केन्द्र भएको उनले दाबी गरे।
हतियार व्यवस्थापन र सेना समायोजनको जोखिम उठाएर पनि माओवादीले टुङ्ग्याएको भन्दै उनले इतिहासलाई पछाडितिर धकेल्न चाहनेहरूले १७ हजारको हत्यारा भनेर आरोप लगाउने काम भएको भन्दै दुखेसो व्यक्त गरे।
‘१७ हजार प्रचण्डले मार्यो भन्छन् तर आफूले अहिलेसम्म हत्याको त कुरै छोडिदिनुस् एक जनालाई पनि पिटेको छैन,’ उनले दाबी गरे।
‘युद्ध’को नेतृत्व गरेकाले शान्ति प्रक्रियामा आइसकेपछि सम्पूर्ण कुराको जिम्मा आफूले लिने भन्दै उनले यति धेरै गलत आरोप लागिराख्दा कोही पनि नबोलेको भन्दै चित्त दुखाए।
‘यसरी नबोल्दा शान्ति प्रक्रियालाई साँचो अर्थमा निष्कर्ष र दिगो बनाउन सकिँदैन। सत्यलाई सत्य भनेर राख्ने आँट गर्न सकिँदैन भने हामीले कसरी समाजलाई एउटा नयाँ स्थायित्व र रूपान्तरणतिर लान सकिन्छ भन्ने प्रश्न राख्न चाहन्छु’ उनले भने।
चैत ३०, २०८१ शनिबार २०:२७:४१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।