धार्मिक शोभायात्रामा झडप, नियन्त्रण बाहिर गएपछि कर्फ्यु आदेश जारी

रौतहट : पर्साको वीरगन्जमा दुई पक्ष बिचको झडपले स्थिति तनावग्रस्त बनेपछि प्रशासनले कर्फ्यु आदेश जारी गर्यो।हनुमानको जन्मजयन्तीको अवसरमा निस्केको शोभा यात्रा छपकैयाको इदगाह चोकमा पुगेपछि दुई समूहबीच झडप भएको थियो।
विश्व हिन्दु परिषद् नेपाल, वीरगन्ज महानगर समितिले धार्मिक शोभायात्रा आयोजना गरेको थियो। सो शोभायात्रा अपराह्न करिब ४:५० बजे वीरगन्ज महानगरपालिका-२ श्रीराम हलस्थित जामा मस्जिद अगाडि पुगेपछि दुई समूहबीच झडप सुरु भएको थियो।
तनाव बढ्दै गएपछि प्रहरीले ५:४० बजे अश्रुग्याँस प्रहार गरेको थियो। झडपका क्रममा एक थान मोटरसाइकल र एउटा फ्रिजमा आगजनी भएको प्रहरीले जनाएको छ।
घटनामा ८ जना प्रहरी घाइते भएका छन्, जसमध्ये तीन जनाको नारायणी क्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ। स्थिति नियन्त्रणमा लिन प्रहरीले साँझ ६ बजेर १० मिनेटमा पानीको फोहोरा प्रयोग गरेर भीड तितरबितर पारेको थियो।
स्थिति सामान्य नभएपछि प्रमुख जिल्ला अधिकारी गणेश अर्यालको आदेशअनुसार साँझ ६:३० बजेदेखि भोलि आइतबार दिउँसो १२:०० बजेसम्म कर्फ्यु आदेश जारी गरियो।
जिल्ला प्रशासन कार्यालयमा बसेको सुरक्षा समितिको बैठकपछि वीरगन्जका विभिन्न क्षेत्रमा प्रशासनले कर्फ्यु आदेश जारी गरेको छ।
जिल्ला प्रशासन कार्यालयले जारी गरेको कर्फ्यु आदेशमा शनिवार साँझ ६ :३० बजे देखि भोलि आइतबार १२ बजे सम्म रहने उल्लेख छ।
पूर्वमा भेडियाही चोक, पश्चिममा सिर्सया पुल, उत्तरमा गण्डक चोक र दक्षिणमा शंकराचार्य गेटसम्म कर्फ्यु आदेश जारी गरेको छ।
सो सिमाना भित्र कसैलाई आवतजावत गर्न, कुनै पनि प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा, बैठक, घेराउ लगायत गर्न नपाउने गरी कर्फ्यु आदेश जारी गरेको पर्साका प्रमुख जिल्ला अधिकारी (सिडिओ) गणेश अर्यालले जानकारी दिए। उनका अनुसार स्थानीय प्रशासन ऐन ,२०२८ को दफा ६ (क) बमोजिम कर्फ्यु आदेश जारी गरेको हो।
चैत ३०, २०८१ शनिबार २०:०५:०४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।