डा. सुरेशको उपचार अनुभव : ती ७२ वर्षीय बाजे आँखाको ज्योति खुलेपछि नाति-नातिनासँग छमछम नाचे

डा. सुरेशको उपचार अनुभव : ती ७२ वर्षीय बाजे आँखाको ज्योति खुलेपछि नाति-नातिनासँग छमछम नाचे

नेत्ररोग विशेषज्ञ डा. सुरेशराज पन्तले एक लाखभन्दा बढी मोतियाविन्दुको समस्या भएका बिरामीको आँखाको अप्रेशन गरी संसार देखाएका छन्। दुर्गमको कुनाकाप्चाका व्यक्तिलाई आँखा देखाउनमा केन्द्रित उनै सुरेशले उपचारका शिलशिलामा देखे भोगेको अनुभव उकेरालाई सुनाए:

आँखाको ज्योति खुलेपछि छमछम नाचेका ती ७२ वर्षीय बाजे
स्वास्थ्य शिविरमा आँखाको शल्यक्रिया गरेको एउटा प्रसङ्ग डा. सुरेश कहिल्यै भुल्दैनन्। प्रसङ्ग केही वर्षअघिको हो। बाजुराको कोल्टीमा डा. सुरेशको टिम आँखाको स्वास्थ्य शिविर लिएर गयो। स्वास्थ्य शिविरमा पुगेका धेरै व्यक्तिले आँखाको औषधि उपचार र शल्यक्रियापछि आँखा देख्न सक्ने भए। त्यही स्वास्थ्य शिविरमा एक जना करिब ७२ वर्षका बाजेलाई पनि आँखाको उपचारका लागि लगिएको थियो।

डा. सुरेशले ती बाजेको आँखाको जाँच गरे। बाजेले दुवै आँखा देख्न छोडेको करिब एक वर्ष बितिसकेको रहेछ। तर, मोतिविन्दुका कारण दुवै आँखाको ज्योति गुमेर बाहिरी संसार देख्न छोडेको एक वर्ष बितिसक्दा पनि ती बाजेले उपचार पाउन सकेका रहेनछन्। डा. सुरेशको टिमले बाजेको एउटा आँखाको मोतिविन्दुको शल्यक्रिया गर्यो। अनि शल्यक्रिया गरेको आँखामा पट्टी लगाइयो। भोलिपल्ट ती बाजेको आँखामा लगाइएको पट्टी खोल्नुपर्ने थियो। त्यो दिन बाजे स्वास्थ्य शिविर भएकै क्षेत्रमा बास बसे।

डा. सुरेशले भोलिपल्ट बिहानै बाजेको शल्यक्रिया गरिएको आँखाको पट्टी खोलिदिए। बाजेले संसार देखे। पट्टि खोलेपछि त बाजेले सबैभन्दा पहिला डा. सुरेशलाई नै देखे। एउटा आँखाले मात्रै भए पनि पुन: बाहिरी संसार देखेपछि बाजे भावुक बने। अनि उनका आँखाबाट खुसीका आशु खसे।

बाजेले नातिनातिना लगायत परिवार देखे। परिवारलाई देखेर बाजे मुस्कुराए। बाजेको खुसीको सीमा नै भएन। बाजे त संसार देखेपछि नातिनातिना लगायत परिवारसँग ‘म त आँखा देख्ने भएँ’ भन्दै रमाउँदै छमछम नाच्न पो थालिहाले। त्यो क्षण हेर्दा डा. सुरेश पनि अलि भावुक बने। तर, बाजेलाई संसार देखाउन सफल भएकोमा उनी पनि दङ्ग परे। डा. सुरेशलाई आनन्द महसुस भयो।

दुवै आँखामा मोतियाविन्दुको समस्या भएको अवस्थामा दुवै आँखाको एकै पटक शल्यक्रिया गरिँदैन। दुवै आँखाको एकैपटक शल्यक्रिया गर्दा केही गरी एउटा आँखामा संक्रमण भइहाल्यो भने अर्को आँखामा सर्ने जोखिम हुने उनले सुनाए। यसरी संक्रमण भएको खण्डमा आँखाको ज्योति नै गुमाउनुपर्ने जोखिम समेत हुने डा. सुरेशले सुनाए। त्यसैले आँखाको पट्टी खोलेको भोलिपल्ट ती बाजेको अर्को आँखाको पनि शल्यक्रिया गरियो। बाजे दुवै आँखा देख्न भएर घर फर्किए।

ती बाजे त एक जना प्रतिनिधिमुलक पात्र मात्रै हुन्। अघिल्लो दिनसम्म आँखा नै नदेखेका तर उपचारपछि चमत्कार जस्तै गरी संसार देखेर बिरामी खुसी भएका कयौं क्षणहरू हुने डा. सुरेशले सुनाए। आँखाको शिविर लिएर दुर्गमका गाउँ-गाउँ पुगेका छन्, उनी। दुर्गमका गाउँ-गाउँमा पुग्दा कुनाकाप्चाका कयौं बिरामीहरू अस्पताल नै पुग्न नसकेर आँखाको उपचार गर्नबाट बञ्चित भएको उनले नजिकबाट देखेका छन् अनि स्वास्थ्य शिविरमा गएका बेला धेरै बिरामीको आँखाको उपचार गरी संसार देख्ने बनाएको पनि उनलाई सम्झना छ।

नर्वेका चिकित्सकको आँखाको त्यो शल्यक्रिया
त्यसैगरी नर्वेका एक जना मुटु शल्य चिकित्सकको आँखाको शल्यक्रिया गरेको प्रसङ्ग पनि डा. सुरेश कहिल्यै भुल्दैनन्। प्रसङ्ग करिब दश वर्ष अघिको हो। एक जना नर्वेजियन मुटु शल्य चिकित्सक सहयोगका लागि गेटा आँखा अस्पताल आएका थिए।

ती शल्य चिकित्सकलाई पनि आँखामा मोतियाविन्दुको समस्या रहेछ। मोतियाविन्दुको समस्याका कारण ती चिकित्सकको एउटा आँखा शल्यक्रिया भइसकेको थियो। अर्को आँखाको पनि शल्यक्रिया गर्नुपर्ने रहेछ। अनि एक दिन ती चिकित्सकले डा. सुरेशसँग ‘तपाईंले नै मेरो आँखाको शल्यक्रिया गरिदिनुपर्यो’ भनेर सल्लाह गरेछन्। सुरूमा त ती चिकित्सकले ठट्टा गरेका होलान् भन्ठाने उनले। तर, ठट्टा हैन रहेन।

एक दिन डा. सुरेश अस्पतालको ओपिडीमा बसिरहेका थिए। ती नर्वेका चिकित्सक त लाइन लागेर ओपिडीको टिकट काटेर ‘सिस्टम’ अनुसार आँखाको जाँच गराउन लाइनमा बसेछन्। अनि लाइनमा लागेर नै डा. सुरेशले बिरामी जाँचिरहेको ओपिडीमा पुगेछन्।

लाइन लागेर बिरामी जाँचिरहेको ठाउँमा ती नर्वेका  चिकित्सक पनि पुग्दा डा. सुरेश छक्क परे। डा. सुरेशले न ती चिकित्सकले टिकट काटेको पत्ता पाए, न त लाइन लागेको नै। सँगै हुँदा समेत न ती चिकित्सकले टिकटका लागि उनलाई भने न लाइन नै मिचे। सिस्टम अनुसार नै लाइनमा लागेर उनीकहाँ जचाउन पुगे।

ओपिडीमा केहीबेरको सरसल्लाह पछि डा. सुरेश ती चिकित्सकको आँखाको शल्यक्रिया गरिदिने निष्कर्षमा पुगे। अनि त्यही दिन उनको आँखाको शल्यक्रिया सफल भयो। केही दिनपछि ती चिकित्सक आफ्नो देश फर्किए। अझै पनि बेलाबेलामा ती चिकित्सकले सम्पर्क गर्ने गरेको उनले सुनाए।

परिवारमा डाक्टरी माहौल
कैलालीको धनगढीमा जन्मिएका सुरेशको पुर्ख्यौली थलो डोटी हो। उनका बुवा आयुर्वेदको ‘कविराज’मा सरकारी जागिरे भएकाले बुवाको कैले कता कैले कता सरुवा भइरहन्थ्यो।

सुरशले धनगढीको ऐश्वर्य विद्या निकेतनबाट २०४७ मा एसएलसी गरे। त्यसपछि काठमाडौंको अमृत साइन्स क्याम्पसबाट आइएस्सी गरी त्रिचन्द्र कलेजमा बीएस्सी अध्ययनका लागि भर्ना भए। अनि पहिलो वर्षको परीक्षा पनि दिए। पास भएर दोस्रो वर्ष पढ्न थाले।

तर, सुरेशलाई सानैबाट डाक्टर बन्ने रहर थियो। उनका बुवा र हजुरबुवा पनि आयुर्वेदकै ‘कविराज’ भएकाले उनको पारिवारिक माहौल नै डाक्टरी थियो। त्यसैले उनलाई पनि डाक्टर नै बन्ने इच्छा जाग्नु स्वभाविकै हो। अनि उनले डाक्टरी विषय अध्ययनकै लागि तयारी गरे।

नभन्दै सुरेश एमबीबीएस अध्ययनका लागि छनोट भएर बंगलादेश पुगे। अनि बंंगलादेशको चिटागोङस्थित ‘युनिभर्सिटी अफ साइन्स एण्ड टेक्नोलोजी’मा सन् १९९६ मा भर्ना भएर एमबीबीएस अध्ययन गर्न थाले। सन् २००२ मा  एमबीबीएस अध्ययन सकेर उनी नेपाल फर्के।

छनोटमा आँखा देखाउने विषय
एमबीबीएस अध्ययनपछि डा. सुरेशले बाँकेको कोहलपुर स्थित ‘नेपालगञ्ज मेडिकल कलेज’मा एक वर्ष मेडिकल अधिकृतका रूपमा काम गरे। त्यसपछि उनी धनगढीस्थित गेटा आँखा अस्पतालमा पुगेर करिब तीन महिना मेडिकल अधिकृतकै रुपमा काम गरे। त्यहाँ काम गर्दा उनलाई आँखा रोग विषयप्रति चासो बढ्दै गयो।

आँखाको शल्यक्रियापछि  यसको नतिजा पनि चाँडै थाहा हुने उनले देखे। अघिल्लो दिनसम्म आँखा नै नदेख्ने बिरामी मोतियाविन्दुको उपचारपछि छर्लङ्ग संसार देखेर खुसी भएको देख्दा यो विषय त गज्जप नै लाग्यो उनलाई।

डा. सुरेशलाई थप अध्ययन गर्नु छँदै थियो। चिकित्सा शास्त्रको स्नातकोत्तर तहको उनको अध्ययनको छनोटमा नेत्र रोग विषय नै पर्यो। उनले त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थान अन्तर्गत महाराजगञ्ज चिकित्सा क्याम्पसमा स्नातकोत्तरत तहको नेत्ररोग (अफथाल्मोलोजी) विषमा सन् २००४ मा एमडी अध्ययन गर्न थाले। सन् २००७ मा उनको एमडी अध्ययन पूरा भयो।

नेत्ररोग विषयमा एमडी अध्ययन सकेपछि डा. सुरेश फर्केर पुनः धनढीस्थित गेटा आँखा अस्पतालमा नै पुगेर नेत्ररोग विशेषज्ञका रुपमा काम गर्न थाले। जहाँ उनले मेडिकल अधिकृत भएर करिब तीन महिना काम गरिसकेका थिए। अनि त्यहाँ काम गर्दा नै उनलाई नेत्ररोग विषय अध्ययन गर्ने भोक जागेको थियो।

एमडी अध्ययनपछि १७ वर्षयता उनी निरन्तर गेटा आँखा अस्पतालमा नै कार्यरत छन्। डा. सुरेश गेटा आँखा अस्पतालमा उपनिर्देशकको भूमिकामा समेत काम गरे। आठ वर्ष यता भने उनी अस्पतालमा निर्देशकको जिम्मेवारीमा समेत रहेर काम गरिरहेका छन्।

आँखा शरीरको निकै संवेदनशील अंग मध्येमा पर्छ। डा. सुरेशले जर्मनबाट सन् २०१० मा आँखाको ‘प्लाष्टिक’ तथा ‘रिकन्स्ट्रक्टिभ’ सर्जरीसम्बन्धी तीन महिने फेलोसिप समेत गरेका छन्। यही विषयमा इजरायलबाट पनि उनले अर्को तीन महिना फेलोसिप  गरे।

यस्तो सर्जरीलाई चिकित्सकीय भाषामा ‘अक्लोप्लास्टी’का नामले पनि चिनिन्छ। आँखाको समस्या बोकेर अस्पताल पुग्ने बिरामीको जाँच र औषधि उपचार गर्नु उनको दैनिकी हो।

आँखाको खसेको परेला मिलाउने, आँखाको लोती  झरेको छ भने मिलाउने, आँखाको आकार मिलाउने जस्ता कस्मेटिक सर्जरी सम्बन्धी काम पनि गर्छन् उनी। त्यसैगरी आँखाको ट्युमरको उपचार, आँखाका जन्मजात अङ्गभङ्ग भएका रोग, आँखाको वरिपरि चोटपटक लाग्ने, आँखाको डिलसम्बन्धी रोग, आँखाबाट आँसु झर्ने नली सम्बन्धीका रोग, आँखाको क्यान्सर सम्बन्धीका रोगहरूको उपचार गर्नु उनको दैनिकी हो। त्यसैगरी विभिन्न कारणले आँखामा समस्या भएको खण्डमा आँखाको उपचार गर्नु उनको चिकित्सकीय पेशाको धर्म र कर्म हो।

डा. सुरेशका विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जर्नलमा आँखा सम्बन्धी वैज्ञानिक आलेख प्रकाशित छन्। राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सेमिनारमा उनले कार्यपत्र प्रस्तुत गर्नुका साथै सहभागिता जनाएका छन्। त्यसैगरी उनी विभिन्न किसिमका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पुरस्कारबाट समेत पुरस्कृत तथा सम्मानित भएका छन्।

गेटा आँखा अस्पतालमा भारतबाट पनि औषधि उपचार र शल्यक्रिया गर्न आउने बिरामीको संख्या बाक्लो हुने गरेको डा. सुरेशले अनुभव सुनाए। सस्तो अनि गुणस्तरिय लगायतका कारण भारतीय नागरिकहरू आँखाको उपचारका लागि नेपाल आउने गरेको उनले अनुभव सुनाए।

चैत ३०, २०८१ शनिबार १३:४४:४२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।