हलमा हेर्नुपर्ने फिल्म टिकटकमै छ्यापछ्याप्ती : दर्शकले नटेर्दा हलवाला हैरान, लगानी डुब्ने डरले‍ निर्माताको निद हराम

हलमा हेर्नुपर्ने फिल्म टिकटकमै छ्यापछ्याप्ती : दर्शकले नटेर्दा हलवाला हैरान, लगानी डुब्ने डरले‍ निर्माताको निद हराम

काठमाडौं : आजकल हलमा नयाँ फिल्म रिलिज भएको एकाध दिनमै निर्माण पक्षबाट एउटा चेतावनीयुक्त सूचना जारी हुन्छ- ‘फिल्म खिचेर सञ्जालमा राखे साइबर ब्युरोमा उजुरी हाल्न बाध्य हुनेछौँ।’

‘अञ्जिला’, ‘लाज शरणम्’, ‘होस्टेल ३’ देखि ‘आउट : ल दफा २१९’का निर्माणपक्षले पनि यस्तै सन्देश राखे सामाजिक सञ्जालमा। यी त केही प्रतिनिधि फिल्मका नाम मात्र हुन्। यसको संख्या टन्नै छ। यी सबको कारण हो टिकटक।

हलमा फिल्म रिलिज भए लगत्तै टिकटकमा फिल्मका दृश्य छ्यापछ्याप्ती हुन्छन्। न फिल्मको सस्पेन्स जोगिन्छ न क्लाइमेक्स नै। मैले सानो क्लिप राख्या त हो नि भन्ने लाग्नसक्छ। तर धेरै दर्शकले स-साना दृश्यहरू राखिदिँदा फिल्म बराबरकै दृश्य आइदिन्छ टिकटकमा।

प्रयोगकर्ताको मुड अनुसारको क्लिप फ्याक्ने अल्गोरिदम छँदैछ। फिल्मको सानो क्लिप हेरेपछि सँगै अन्य क्लिपहरू सिफारिस गरेको गर्यै गर्छ टिकटकको अल्गोरिदमले। अनि फिल्म हेर्न हलसम्म जानै पर्दैन। टिकटकबाट फेसबुकका रिल्ससम्म छरिन्छन् फिल्मका क्लिपै क्लिप।

‘चमत्कार’ पनि गराउँछ टिकटकले
‘झिँगेदाउ’ फिल्म रिलिज भए पनि हलमा दर्शकले वास्ता गरेनन्। पुरानो कथ्यशैली अनि कथा पनि पुरानै भएकाले अहिलेका नयाँ दर्शकको ध्यान तान्न गार्है थियो निर्मातालाई।

टिकटकमा अभिनेत्री केकी अधिकारी र आँचल शर्माको नोकझोकका भिडियोहरू छरिन थाल्यो। रमाइला क्लिपले दर्शकको ध्यान तानियो। हलका रित्ता सिट भरिन थाल्यो। फिल्म चल्यो।

कार्तिक १५ गतेबाट हलमा लागेको फिल्म ‘पूर्णबहादुरको सारङ्गी’को पोस्टर र ट्रेलर हेरेरै पत्याएननन् दर्शकले। हलका सिट रित्तै भए। तीन दिनसम्म पिकअप अति सुस्त। राम्रो शो नै दिएनन् भनेर निर्माणपक्ष गनगन गर्न थालिसकेका थिए।

तेस्रो दिनबाट बिस्तारै हलमा दर्शकको चाप बढाउँदै लग्यो। र नेपालमा सर्वाधिक व्यापार गर्ने फिल्मको रेकर्डसम्म पुग्यो। त्यसमा टिकटकले राम्रै सघाएको थियो फिल्म प्रचारमा। टिकटकमा फिल्मका महत्वपूर्ण दृश्यहरू चुहिए। सँगै फिल्म हेर्दै हलमा दर्शक रोएका क्लिपले टिकटक भरियो। अहो खतरै फिल्म रैछ भनेर हलमा दर्शकको संख्या ह्वात्तै बढायो।

‘पुर्णबहादुर सारङ्गी’का निर्देशक सरोज पौडेलले पुर्णबहादुरको सारङ्गीको व्यापारमा टिकटकले सघाएको स्वीकारे। तर एउटा फिल्म सफल भयो भन्दैमा यस्तो गलत कामलाई प्रोत्साहन गर्न नहुने उनको मत छ।

‘कतिपय फिल्मका साना क्लिपले सघाउँछ पनि। विज्ञापनको रुपमा पनि हेरिन्छ। तर रिभ्यु गर्ने तरिकाले नै खिचेर अनि लामा-लामा क्लिप हालियो भने फिल्ममेकरलाई असर गर्छ,’ उनले भने ‘यसले फिल्मका निर्मातालाई राम्रो गर्दैन। यसलाई म घाटा नै हो भन्छु।’

चित्त दुखाउँदै निर्देशक
सबैको हकमा टिकटक फलिफाप हुन्न। जस्तो ‘लाज शरणम्’ को अधिकांश सस्पेन्स टिकटकका क्लिपहरूले सस्पेन्स रहन दिएनन्। फिल्म नचल्नुको अन्य कारण पनि नभएका हैनन्। तर टिकटकका क्लिपहरू पनि त्यसमध्ये एक देखियो। क्लाइमेक्स समेत बाँकी राखिदिएनन् दर्शकले।

फिल्मका क्लिपहरू हेर्दा लगभग फिल्म कस्तो रहेछ भन्ने बुझिन्छ। अनि को जान्छ हलसम्म!

हलमा प्रदर्शन भइरहेको फिल्म ‘अन्जिला’ले राम्रै व्यापार गरिरहेको छ। तर, निर्देशक मिलन चाम्स टिकटकमा क्लिपहरू नराखिदिएको भए अझ राम्रो व्यापार हुने दाबी गर्छन्। हलमा चलिरहेको फिल्मका क्लिपहरु टिकटकभरी देख्दा चित्तै दुख्ने गरेको बताउँछन् उनी पनि।

‘फिल्मका मुख्य पार्टहरू टिकटकमा भाइरल छन्। हलमा दर्शकहरूले मोबाइलबाट पूरै सिनेमा खिचिरहेको देखिन्छ,’ उनले भने, ‘कसैले फिल्म खिच्न रोक्दैनन्। हलवालाहरूले वास्तै गरेको देखिँदैन। एउटा सिनेमा मेकरको लागि यो जतिको दु:खद कुरा के होला र!’

फिल्म ‘बेहुली फ्रम मेघौली’को क्लाइमेक्स सिन नै टिकटकबाट लिक भएपछि फिल्म निर्माता तथा निर्देशक निश्चल बस्नेत साइबर ब्यूरोमा पुगेका थिए क्लिप हटाउन। फिल्म राम्रै चलिरहेको थियो। नियोजित रूपमा हल सञ्चालकहरूले शो कम दिएको भन्दै हलबाट फिल्म उतारेका थिए उनले।

उनको अनुभवमा पनि टिकटकले फिल्मको व्यापार बिगारिरहेको देखिन्छ। फिल्मको मुख्य पक्ष नै खिचेर सामाजिक सञ्जालमा हाल्नु गलत रहेको उनको भनाइ छ।

‘सानातिना क्लिपले असर नपरे पनि मुख्य भाग नै टिकटकमा आएपछि असर गर्छ। दर्शक हलमा जाँदैनन्। त्यसैले यसमा कडाइ हुनुपर्छ।’

निर्देशक दीपाश्री निरौलाको मत पनि उस्तै छ।

‘अर्काको प्रोपर्टी कुनै हिचकिचाहट बिना नै रिल्स र टिकटकमा हाल्दा कति चित्त दुख्छ। टिकटक तथा सामाजिक सञ्जालमा राखेपछि लगानी डुब्छ। निर्माताले अर्को फिल्म बनाउन सक्दैन’, उनी भन्छिन्।

उनले यो नियन्त्रणको जिम्मा सम्बन्धित हल प्रशासनको भए पनि यसमा हेलचेक्राँइ भएको बताइन्। उनी यो बढ्दो क्रममा रहेकाले हलमा मोबाइल नै लैजान नपाउने नियम बनाउने हो कि समेत भन्छिन्।

‘लाज शरणम्’का लेखक तथा निर्देशक कुमार कट्टेल सामाजिक सञ्जालमा सबै फिल्मका क्लिपहरू आएकाले फिल्मले भन्न खोजेको मुल कुरा नै बाहिरिएकोमा दुखेसो पोख्छन्।

‘फिल्मको मुख्य दृश्य नै टिकटकमा आएपछि दर्शकले हलसम्म आउँदैनन्। सर्जकको क्रियसन नै मर्छ। हाम्रो फिल्मको सुरुवातबाट नै त्यहीँ भयो’ उनले भने।

भेटेजति नियन्त्रण गरिरहेका हलवालाको दाबी
कलाकार र निर्देशकले हलावालाले नरोकेको आरोप लगाइरहँदा हलवालाहरू भने आफूहरूले देखे र भेटेजतिलाई नियन्त्रण गरिरहेको दाबी गर्छन्। चलचित्र संघका अध्यक्ष तथा हल सञ्चालक नरेन्द्र महर्जन हलमा फिल्म चल्नुअघि फोटो र भिडियो खिच्न पाइँदैन भनेर सूचना जारी हुने गरेको बताउँछन्।

उकेरासँगको कुराकानीमा उनी भन्छन्, ‘कसैले खिच्छन् कि भनेर हलका स्टाफहरूले घुम्ने गरेका छन्। कतिपय अवस्थामा दर्शकले आफूलाई मन लागेको फोटो तथा भिडियो कति बेला खिच्छन् भनेर हलमा घुमेका स्टाफले समेत पत्ता लगाउन सक्दैनन्। देखे र भेटे जति नियन्त्रण गरेका छौँ।’

आजकल दर्शकहरू स्मार्ट बन्न थालिसकेको भन्दै उनले कतिपयले त क्यामेरावाला चस्मा लगाएको पनि सुन्ने गरेको उनको भनाइ छ। त्यस्ता दर्शकलाई नियन्त्रणमा लिने गरेको उनको दाबी छ।

उनी अगाडि भन्छन्, ‘अहिले क्यामेरा वाला चस्मा लगाएर पनि हलमा गएका हुन्छन् रे। त्यसलाई नियन्त्रणमा लिने प्रयास गरेका हुन्छौँ। तर झुक्याउनुहुन्छ।’

कारबाही गर्दैन, सम्झाएर पठाउँछ साइबर ब्यूरो
फिल्मकर्मीहरूले आफ्नो फिल्म सामाजिक सञ्जालमा पाइरेसी भएको भन्दै साइबर ब्यूरोमा उजुरी दिँदै आएका छन्। त्यसरी आएका उजुरीहरूमध्ये अधिकांशलाई भिडियो हटाएर सम्झाएर पठाउने गरेको साइबर ब्यूरोका अधिकारी बताउँछन्।

ब्यूरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक दिपक राज अवस्थी भन्छन्, ‘पाइरेसी भएका आइडी सञ्चालकलाई कारबाही गरेका छौँ। उजुरी परेको खण्डमा कारबाही गर्दै आएका छौँ। यसलाई रोक्नका लागि उहाँ (उजुरीकर्ता)हरुसँग पनि छलफल हुँदै आएको छ। अधिकांश मुद्दामा भिडियो हटाएपछि सम्झाएर पठाउने गरेका छौँ।’

कानूनमा के छ?
नेपालमा प्रतिलिपि अधिकार ऐन २०५९ को परिच्छेद-६ को दफा २५ को (क)ले रचयिता वा प्रतिलिपि अधिकार धनीको अनुमति प्राप्त नगरी वा अनुमति प्राप्त गरेको भए तापनि सम्झौता वा अनुमतिपत्रमा उल्लेख भएको शर्तको उल्लङ्घन गरी आर्थिक लाभ उठाई वा नउठाई व्यापारिक वा अन्य कुनै उद्देश्यले आफ्नो हक नपुग्ने रचनाको प्रतिलिपिहरू उत्पादन गरी बिक्री वितरण वा सार्वजनिक सञ्चार गर्न रोक लगाएको छ।

दफा २७ मा यसको सजायबारे उल्लेख गरिएको छ। कसैले यस्ता कार्य गरेमा कसूरको मात्रा अनुसार दश हजार रुपैयाँदेखि एक लाख रुपैयाँसम्म जरिवाना वा छ महिनासम्म कैद वा दुवै सजाय हुनेछ र दोस्रो पटकदेखि पटकै पिच्छे बीस हजार रुपैयाँदेखि दुई लाख रुपैयाँसम्म जरिवाना वा एक वर्षसम्म कैद वा दुवै सजाय हुने उल्लेख छ।

त्यसरी प्रकाशन वा पुनरुत्पादन गरेको वा वितरण गरेको वा पुनरुत्पादन गर्न प्रयोग गरिएका सामग्रीहरू जफत हुने भनिएको छ। यसका अलावा संरक्षित अधिकारको उल्लङ्घन गर्ने व्यक्तिबाट प्रतिलिपि अधिकार प्राप्त व्यक्तिलाई परेको नोक्सानीको क्षतिपूर्ति समेत भराउने उल्लेख छ।

चैत ३०, २०८१ शनिबार ११:५९:१८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।