फिल्म 'के घर के डेरा : घर नम्बर २' को काव्यिक टिजरमा बुद्धिसागरको संवाद, श्रवण मुकारुङको कविता

काठमाडौं : कवि श्रवण मुकारुङको कविता अनि आख्यानकार बुद्धिसागरको लेखन रहेको फिल्म 'के घर, के डेरा घर नम्बर २' कस्तो बन्यो होला? टिजरको संकेत हेर्ने हो भने निकै आख्यानात्मक देखिन्छ।
पशुपति आर्यघाटको दृश्यको बाहुल्य रहेको टिजरमा अभिनेता खगेन्द्र लामिछानेलाई देख्दा 'पशुपति प्रसाद'को झल्को आउने नै भयो। त्यसमा निर्देशन पनि दीपेन्द्र के खनाल छन्। 'पशुपति प्रसाद'मै जोडिएका प्रकाश घिमिरे पनि रहेछन् यो फिल्ममा।
तर अन्य कलाकार भने नयाँ, केकी अधिकारी, आर्यन सिग्देल अनि उपासना सिंह ठकुरी। फिल्मको टिजरमा समेटिएका पात्रहरूको भावले सबैलाई दुखी पात्र देखाएका छन्। टिजरको प्रारम्भ नै आर्यघाटबाट गरिएको छ।
दुई पात्रको संवादमा खगेन्द्र भन्छन् 'जसले दुखको कुरा मुस्कुराएर सुनाउँछ बुझ्नु मनको घाउ भरिए पनि खत चैं बाँकी छ।' रुँदै गरेको यो दृश्यमा बोलिएको संवादमा बुद्धिसागर लेखन फ्लेवर झल्किएको छ। तर संवाद र दृश्यको कनेक्सन मिल्यो र! रुँदै गरेको पात्रले सोधेको प्रश्नको जवाफमा खुसीको कुरा अलि नमिले झैँ सुनिने। तर टिजरकै भरमा निष्कर्षमा पुग्ने विषय हैन फिल्म।
श्रवण मुकारुङको कवितामा कथा भनिएको टिजरमा देखाइएका सबै पात्रहरू दुखी छन्। तनावमा छन्। कवि श्रवणको शब्द बग्दै जान्छ :
पृथ्वी नै डेरा हो, सबले भाडा तिर्नु छ,
मान्छे आफैँ पाहुना हो
भोलि घर फिर्नुछ।
तेरो मेरो के कुरा
के घर के डेरा।
यसले फिल्ममा समेटिएको साहित्यिक खुराक देखाउँछ नै। तर साहित्यिक खुराकले मात्र फिल्म चल्ने भए श्रवणकै त्यति मीठा कविता भएको दुखी आत्माको निर्देशक पक्कै दुखी हुनु पर्ने थिएन।
कर्णाली ब्लुज लगायतका आख्यानमा शब्दबाट दृष्य वर्णन गर्न सफल लेखन हुन् बुद्धिसागर। उनी फिल्मका कीरा नै हुन्। उनले शब्दबाट दृष्य नै बगाउने जिम्मा लिएर लेखेको अनि फिल्म निर्देशनको राम्रै ज्ञान रहेका निर्देशक रहेकाले फिल्म दर्शकका लागि प्रतीक्षित हुने संकेत भने देखायो टिजरले।
जेठ २ रिलिज मिति तोकेर प्रचारमा उत्रिएको निर्माण टिममा नकिम उद्दिन, शरद श्रेष्ठ अनि किरण महर्जन निर्माता छन् भने युवराज कार्की कार्यकारी निर्माता।
चैत २९, २०८१ शुक्रबार २३:३०:११ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।