समर्थकलाई झुक्क्याउन बनाएको आफ्नै भिडियोको जालमा परे दुर्गा ,मन्दिरको प्रमाणले खुलायो विजेपी नेताको सेल्टर होम

समर्थकलाई झुक्क्याउन बनाएको आफ्नै भिडियोको जालमा परे दुर्गा ,मन्दिरको प्रमाणले खुलायो विजेपी नेताको सेल्टर होम

काठमाडौँ :  सशस्त्र प्रहरीका डिआइजी रञ्जन कोइराला दोहोर्याएर श्रीमतीको शव जलाएको स्थानमा नपुगेको भए सायद पक्राउ पर्ने समय बढ्न सक्थ्यो।

बूढानीलकण्ठको घरमा गीता ढकालको हत्यापछि उनले टिस्टुङ पालुङको सुनसान स्थानमा लगेर शव जलाएका थिए। शव जलाउँदा जलाउँदै भएको अवरोधमा पुरै जल्यो कि जलेन भन्ने पक्का भएन। उनी कतै शवको अवशेष त छैन भनेर पक्का गर्न दोहोर्याएर हेर्न जाँदा पक्राउ परे र कारागार पुगे।

अपराध गरेका भागेकाले जोगिन हडबडमा कुनै न कुनै प्रमाण छाड्छन् नै। अनुसन्धानका अनुभवी प्रहरी कर्मचारीले पर्खने वा खोज्ने त्यस्तै प्रमाण नै हुन् जसले फरार अभियुक्तसम्म पुग्न महत्त्वपूर्ण आधार बन्न सक्छ।

राजा फर्काउन तीनकुनेमा आयोजना गरेको कार्यक्रम हिंसात्मक भएपछि ललितपुर हुँदै रातारात फरार भएका दुर्गा प्रसाईँले पनि उही रञ्जन कोइरालाको जस्तै व्यवहार गरे जसले उनी लुकेर बसेको स्थानसम्म पुग्न नेपालका प्रहरीलाई निकै सहज बनायो।

त्यो प्रमाण हो फरार भएको अवस्थामा उनले सामाजिक सञ्जालमा राखेको भिडियो।

प्रसाईँ चैत १५ मा ललितपुरमा रहेको धर्मगुरुको आवरणमा रहेका पुष्करको घरमा गएर बसेका थिए। जब काठमाडौँको प्रहरी सक्रिय भएर रवीन्द्र मिश्र अनि धवल शमशेर राणा लगायतलाई पक्राउ गर्न थाल्यो अनि भाग्ने योजना बनाए।

प्रहरी खोजीमा खटिइसकेको अवस्थामा मोबाइल बन्द गराएर उनी आफ्नै गाडीमा बनेपा हुँदै बिर्तामोड पुगे अनि गाडी बदलेर काँकडभिट्टा नाकाबाट भारत प्रवेश गरे।

प्रसाईँले भाग्न प्रयोग गरेको गाडी अनि चालक दुबैलाई प्रहरीले उनको बिर्तामोडमा रहेको अस्पताल परिसरमै फेला पार्यो प्रहरीले। यता प्रहरी दुर्गा प्रसाईँको खोजीमा थियो।

चैत १७ गते फेसबुकमा उनको नयाँ भिडियो सार्वजनिक भयो। पछाडि रातो रंगको मन्दिरको ढोकैमा बसेर बनाएको भिडियोमा उनले चैत १५ गते कार्यक्रमस्थलको वरपरको घरको छतमा सार्पसुटर बसेर आफूलाई टार्गेट गरेको,आफ्नो कान नजिकबाट गोली गएको दाबीहरू गर्दै आफू नभागेको र नेपालभित्रै रहेको बताए।

त्यतिबेला उनी चितवनको ठोरीहुँदै भारत छिरेका दाबीहरू समेत आइरहेका थिए। तर जब मन्दिरको भिडियो सार्वजनिक भयो उनी नेपालमा रहेको अनि ठोरीबाट भारत छिरेको दुवै दाबी गलत देखायो।

OOO

राजा फर्काउने आन्दोलनमा राप्रपाको पनि समर्थन थियो। तर जब प्रसाईँ भागे राप्रपाकै अध्यक्ष राजेन्द्र लिङदेनले सरकारले नियोजित रूपमा प्रसाईँलाई छाडेर आफ्ना नेतालाई मात्र हिरासतमा राखेको भनेर आलोचना गरे।

प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल अनि माओवादीका नेताहरूले समेत प्रहरी नियन्त्रणमा आइसकेका प्रसाईँलाई नियन्त्रणमा नलिएर किन छाडेको भन्दै गृह प्रशासनको आलोचना सुरु गरे।

राज्य व्यवस्था समितिको बैठकमा गएका गृहमन्त्री रमेश लेखक, प्रहरी महानिरीक्षक दीपक थापा अनि सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल सबैमाथिको प्रश्न थियो ‘प्रहरीलाई किच्न खोज्नेगरि गाडी चलाएका दुर्गा प्रसाईँलाई पक्राउ नगरी किन छाडेको?’ उनीहरू उत्तरहीन थिए।

प्रसाईँको भिडियोमा देखिएको मन्दिर र आसाममा पक्राउ परेको घरको मन्दिर।भर्खर प्रहरी महानिरीक्षक भएका दीपक थापा तनावमा आउने नै भए। उनी नेपालमा छन् कि भारत पुगिसके यकिन गर्ने अवस्था थिएन।

त्यही समयमा उनी भारत पुगेको शङ्का गर्दै भारतमा एक टोली पठाउन थापाले गृहमन्त्री लेखकसँग अनुमति मागे। जसरी नि दुर्गालाई पक्राउ गर्ने दबाबमा रहेका लेखकले स्वीकृति दिइहाले। स्वीकृति पाएसँगै भारतीय सुरक्षाकर्मीहरूसँग राम्रै सम्बन्ध भएका प्रहरी दिल्ली लागे।

फेसबुक लगायतका सामाजिक सञ्जालमार्फत हुने गतिविधि निगरानी गर्न नेपालमा कठिन छ। तर भारतमा अनुसन्धानमा संलग्न सुरक्षा सङ्गठनले रियल टाइममा चाहेको सामाजिक सञ्जालका प्रयोगकर्ताको नियमन गर्न सक्ने सुविधा छ।

दिल्ली पुगेको टोलीले त्यो सहयोग पाउने नै भयो। तर जति प्रयास गरे पनि दुर्गा कहाँ छन् भन्ने ट्र्याक भइरहेको थिएन। त्यही बेलामा उनीहरूले दुर्गाको भिडियोको पृष्ठभूमिमा रहेको मन्दिर लक्षित गरेर अनुसन्धान अगाडि बढाए। बल्ल सङ्केत मिल्यो ‘आसामको बक्सा’।

OOO

नेपाली प्रहरी टोली दिल्लीबाट आसाम पुग्यो। आसाममा नेपाली भाषीहरू टन्न। सत्तामा भारतीय जनता पार्टी। दुर्गा नेपालमा हिन्दु राष्ट्र बनाउने अभियानमा लागेका।

उता विजेपीको अभियान पनि त्यहीँ। त्यसमा विशेष राष्ट्रिय स्वयम् सेवक संघका केही पदाधिकारीहरूसँग दुर्गाको उठबस थियो नै।

नेपाल प्रहरी टोली दिल्लीबाट जुन क्लु बोकेर आसाम गएको थियो त्यसको आधारमा अनुसन्धान अगाडि बढाउँदा आसामको हिन्दुवादी अनि आरएसएसका नेतालाई दुर्गाको संरक्षक देखायो। ती थिए अभिचन्द्र पाठक।

पाठक आसाममा हिन्दुवादी नेताका रूपमा परिचित थिए नै आसामको सत्तासँग समेत निकट थिए। नेपाली मूलका भारतीय अनि हिन्दु धर्मको पक्षमा कडा अभिव्यक्ति दिइरहने उनको पृष्ठभूमिले आसामको प्रहरी हच्कियो।

पहिलो कानुनी रूपमा दुर्गा प्रसाईँले भारतमा कुनै कानुन उलङ्घन गरेका थिएनन्। भारतमा गएर बस्न नेपालीलाई विशेष अनुमति थिएन। प्रसाईँका कारण भारत दबाबमा थिएन, दबाबमा थियो त नेपाल।

पाठकको घरमा नेपालबाट गएको प्रहरी टोलीले सिधै छापा मार्न सक्दैनथे। आसाम प्रहरी दुर्गालाई नियन्त्रणमा लिने पक्षमा देखिएन।

उनले प्रहरी पुगेको सङ्केत पाए भने त्यहाँबाट अन्त भाग्ने जोखिम थियो नै। यहीबिचमा पुन प्रसाईँले ब्याक ग्राउन्ड क्रप गरेर अर्को भिडियो सामाजिक सञ्जालमा राखे। प्रसाईँको गतिविधिले भारतमा समेत दबाब बढ्न सक्ने देखेपछि बल्ल आसाम प्रहरी तयार भयो।

बिहीबार दिउस आसाम प्रहरीले पाठकको घरमा गएर दुर्गालाई नियन्त्रणमा लियो। सँगै थिए उनका बडीगार्ड। उनलाई पनि नियन्त्रणमा लियो भारतीय प्रहरीले।

प्रसाईँ नेपालको बोर्डरसम्म ल्याउने जिम्मा त भारतीय प्रहरीकै थियो। सबैभन्दा नजिकको नेपालको बोर्डर काँकडभिट्टा। लाग्ने समय करिब १० घण्टा आसपास। उनलाई जतिसक्दो चाँडो नेपाल ल्याउने तयारीकै क्रममा नेपालमा दुर्गा प्रसाईँ पक्राउ परेको सूचना सार्वजनिक हुन थाल्यो।

प्रसाईँ भारतमा पक्राउ परेको सूचना उनै पाठकले नेपालमा रहेका दुर्गाको परिवारलाई दिएका थिए। भारतबाट अनौपचारिक रूपमा यसरी नियन्त्रणमा लिइएका केही नेपालमा नाटकीय इन्काउन्टरमा मारिएका थिए।

आसामको बक्सामा रहेको पाठकको घर जहाँ दुर्गा पक्राउ परेका थिए। र दुर्गासँगै पाठक।प्रसाईँले आफ्नो इन्काउन्टर गर्न प्रधानमन्त्रीले नै निर्देशन दिएको दाबी गरिरहेका थिए। प्रसाईँ पक्राउ परेपछि उनको नेपालमा रहेका परिवारका सदस्यले सूचना मिडियासम्म पूर्याएर सार्वजनिक गरे।

नेपाली बोर्डर भित्र नल्याउँदै प्रसाईँ पक्राउ परेको समाचार सार्वजनिक हुन थालेपछि उता भारतीय प्रहरी सहयोग गर्न हच्किने नै भयो।

त्यसपछि बिहीबार बेलुका साढे नौ बजेतिर प्रहरी प्रधान कार्यालयबाट प्रहरी प्रवक्ता दिनेश आचार्यले प्रसाईँ पक्राउ परेको समाचार गलत भएको दाबी गर्दै विज्ञप्ति निकाले। त्यसले दुर्गा पक्राउ परेको हैन कि भन्ने माहौल बनाउन सघायो।

उताबाट हिँडेको टिमले बाटोभरि दुर्गाको भाषण सुन्दै स्थलमार्गबाट करिब साढे नौ घण्टामा काँकडभिट्टा नाकाबाट नेपाल भित्र्यायो। नेपाल प्रहरी र सशस्त्र प्रहरीको स्कटिङमा भद्रपुरबाट विमानबाट काठमाडौँ ल्याउने तयारी गर्यो।

अनि बल्ल नेपाल प्रहरीले विज्ञप्ति निकालेर प्रसाईँ बडीगार्डसहित भद्रपुरमा पक्राउ परेको स्विकार्यो। काठमाडौँ ल्याएर जिल्ला अदालतमा बुझाएर अनुसन्धानका लागि १२ दिन हिरासतमा राख्ने म्याद पाएपछि प्रसाईँलाई सिधै जिल्ला प्रहरी परिसर काठमाडौँको हिरासतमा लग्यो जहाँ रवीन्द्र र धवल उनै दुर्गाको पर्खाइमा थिए। 

सम्बन्धित समाचार

चैत २९, २०८१ शुक्रबार २१:४९:४२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।