दुर्गाको १२ दिने हिरासतको हाँसो

दुर्गाको १२ दिने हिरासतको हाँसो

काठमाडौं : दुई जनाको ज्यान जाने गरी तीनकुनेमा भएको हिंसात्मक घटनाको मुख्य कमाण्डर दुर्गा प्रसाईँलाई काठमाडौं जिल्ला अदालतले १२ दिन न्यायिक हिरासतमा राख्न अनुमति दियो। बिहीबार भारतको आसाममा नियन्त्रणमा लिएर शुक्रवार दिउस काठमाडौं ल्याइपूर्याइएका प्रसाईँलाई उनको बडीगार्ड दीपक खड्कासहित प्रहरीले काठमाडौँ जिल्ला अदालतमा पेस गरेको थियो।

राज्य विरुद्धको अपराध र सङ्गठित अपराधमा प्रहरीले अनुसन्धानका लागि न्यायिक हिरासतमा राख्न माग गर्दै अदालतमा बुझाएकोमा काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजलासले दुबैलाई १२ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दियो। 

चैत १५ को घटनामा संलग्न रहेको अभियोगमा यस अगाडि नै  राप्रपाका नेताहरू रवीन्द्र मिश्र र धवल शमशेर जबरा लगायतकाहरु प्रहरी हिरासतमै छन्। पछिल्लो समय अदालतले उनीहरूलाई १५ दिन हिरासतमा राख्न तब म्याद दिएको थियो। प्रहरीले उनीहरूसँगै म्याद मिलाउन हुने गरी प्रसाईँलाई पहिलो पटक हिरासतमा राख्न १२ दिनको म्याद मागेको थियो। अदालतले स्वीकार पनि गर्यो।

प्रसाईँले आफूलाई क्यान्सर जितेको व्यक्ति भएको दाबी गर्छन्। तर जब जब पक्राउ पर्छन् स्वास्थ्यको कारण देखाउँदै अस्पतालमा गएर बस्छन्। यस अगाडि उनी तीन पटक पक्राउ पर्दा यसरी नै अस्पताल गएर बसेका थिए।

दुर्गालाई झापाबाट काठमाडौँ ल्याउँदा विमानस्थलमा उनी देखिए पनि काठमाडौं विमानस्थलबाट बाहिर निकाल्दा प्रहरीले नियमित बाटोको प्रयोग नगरी नेपाल आयल निगमको गेटबाट उनलाई बाहिर निकालेको थियो।

जिल्ला प्रहरी कार्यालय काठमाडौँमा लगेर पक्राउ पुर्जी दिएपछि म्याद थपको प्रक्रिया अगाडि बढाउन उनलाई प्रहरी कार्यालयसँगै रहेको जिल्ला सरकारी वकिलको कार्यालयमा लगेको थियो। त्यहाँ कानुनी प्रक्रिया पुरा भएपछि उनलाई बबरमहलमा रहेको काठमाडौँ जिल्ला अदालतमा लगिएको थियो।

म्याद थपेर प्रहरी कार्यालय लैजानेक्रममा प्रहरी थुनुवाको पहेँलो ज्याकेट लगाएका उनी प्रसन्न देखिन्थे। उनले सञ्चारकर्मीहरूतिर हेरेर पोज दिँदै हात हल्लाएका थिए।

चैत २९, २०८१ शुक्रबार १६:०४:३४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।