प्लेन चढेपछि प्रसाईंको हतकडी खोलियो, भने- ‘मैले पिर मानेको छैन है’

काठमाडौं : चैत १५ को तीनकुने प्रदर्शन हिंसात्मक भएपछि गायब भएका दुर्गा प्रसाईंले आफूले कुनै पिर नमानेको बताएका छन्। चन्द्रगढी विमानस्थलबाट काठमाडौं ल्याउने क्रममा बुद्ध एयरमा चढेका उनले त्यहाँ चढेका यात्रुलाई आफूले कुनै पिर नमानेको बताएका हुन्।
जहाजमा रहेका यात्रुले बनाएको भिडियोमा उनले भनेका छन्, ‘मैले पिर मानेको छैन है।’ लगत्तै भिडियो बनाउने बोल्छन्, ‘पिर मान्नु नि हुँदैन है सर।’
शुक्रबार विहान असमको बक्साबाट भद्रपुर ल्याइएका उनलाई प्रहरीले नियन्त्रणमा लिएर काठमाडौं ल्याउँदैछ। यसअघि उनले चन्द्रगढी विमानस्थलमा सञ्चारकर्मीसँग ‘यो तस्करविरुद्धको लडाईं हो हैन, आफैँ पक्राउ देको है फेरि’ भनेका थिए।
विमानमा राख्नुअघि हतकडीमा देखिएका प्रसाईंमा विमानमा भने हतकडी खोलिएको देखिन्थ्यो। सो क्रममा उनले हात उठाएर हल्लाउन भ्याइसकेका थिए।
साढे ११ बजे बुद्ध एअरको फ्लाइटमार्फत चन्द्रगढी विमानस्थलबाट उनलाई काठमाडौं ल्याइँदैछ। प्लेनमा चढाउनुअघि उनलाई जिल्ला प्रहरी कार्यालय झापाको हिरासतमा राखिएको थियो।
भारतीय प्रहरी भद्रपुर नाकासम्म ल्याउन्जेल उनलाई नेपाल प्रहरी र सशस्त्र प्रहरी बललले स्कर्टिङ गरेको थियो।
चैत १५ गते हिंसात्मक प्रदर्शन भएपछि उनी भागेर भारत-भुटान सीमानजिक असमको बक्सा भन्ने स्थानमा पुगेका थिए। प्रहरीले खोजी सुरु गरेपछि उनी केही सहयोगीसहित स्थलमार्गबाटै काँकडभिट्टा पुगेर त्यताबाट बक्सामा पुगेको थियो।
असमको सुरक्षाकर्मीले उनलाई बिहीबार दिउँसो नियन्त्रणमा लिएको हो। प्रसाईंले आफ्नो फेसबुक पेजमा भिडियो अपलोड गर्न सहयोगीको मोबाइल प्रयोग गरेका थिए।
त्यसैको लोकेसनको आधारमा उनी रहेको स्थानको पहिचान भएपछि नेपाल प्रहरीको टोली दुर्गालाई नेपाल ल्याउन समन्वय गर्न असम गएको थियो।
नेपाल प्रहरीको आग्रहमा भारतीय प्रहरीले प्रसाईंलाई नियन्त्रणमा लिएको हो। प्रसाईंलाई पक्राउ गर्दा पनि दुवै देशका प्रहरीले अनौपचारिक तवरबाट समन्वय गरेका थिए।
राजसंस्था पुनर्स्थापनाका लागि भन्दै संयुक्त जनआन्दोलन परिचालन समितिले तीनकुनेमा चैत १५ गते गरेको प्रदर्शनको मुख्य कमाण्डर दुर्गा प्रसाईं थिए।
सो प्रदर्शनले हिंसात्मक रूप लिँदा दुई जनाको मृत्यु भएको थियो भने निजी तथा सार्वजनिक सम्पत्तिमा तोडफोड र आगजनी भएको थियो।
चैत २९, २०८१ शुक्रबार १२:३९:२७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।