दुर्गा प्रसाईंलाई बक्साबाट साढे नौ घण्टामा झापा ल्याइयो, नेपाल प्रहरी र सशस्त्र प्रहरीको स्कर्टिङ

दुर्गा प्रसाईंलाई बक्साबाट साढे नौ घण्टामा झापा ल्याइयो, नेपाल प्रहरी र सशस्त्र प्रहरीको स्कर्टिङ
तीनकुनेमा गाडीले प्रहरीको ब्यारिकेट तोडेपछि यूट्युवरलाई अन्तर्वार्ता दिँदै प्रसाईँ। तस्बिर : दिपेश श्रेष्ठ।

काठमाडौं : चैत १५ को तीनकुने प्रदर्शन हिंसात्मक भएपछि गायब भएका दुर्गा प्रसाईंलाई काँकडभिट्टा नाकाबाट नेपाल ल्याइएको छ।

भारतीय प्रहरीले काँकडभिट्टा नाकासम्म ल्याउन्जेल उनलाई नेपाल प्रहरी र सशस्त्र प्रहरी बललले स्कर्टिङ गरिएको थियो। यसअघि काँकडभिट्टामा उनका समर्थकको भिड बढ्न थालेपछि मेची पुलबाट सिधै भद्रपुर लैजाने भनिए पनि अन्तिम समयमा प्रहरीले उनलाई काँकडभिट्टा नै ल्याएको हो।

उनलाई अब विमानमार्फत काठमाडौं ल्याउने प्रहरीको तयारी छ। साढे ११ बजे बुद्ध एअरको फ्लाइटमार्फत चन्द्रगढी विमानस्थलबाट उनलाई काठमाडौं ल्याइँदैछ। प्लेन नआएसम्म उनलाई जिल्ला प्रहरी कार्यालय झापाको हिरासतमा राखिएको छ।

चैत १५ गते हिंसात्मक प्रदर्शन भएपछि उनी भागेर भारत-भुटान सीमानजिक असमको बक्सा भन्ने स्थानमा पुगेका थिए। प्रहरीले खोजी सुरु गरेपछि उनी केही सहयोगीसहित स्थलमार्गबाटै काँकडभिट्टा पुगेर त्यताबाट बक्सामा पुगेको विश्वस्त स्रोतले उकेरालाई बतायो।

असमको सुरक्षाकर्मीले उनलाई बिहीबार दिउँसो नियन्त्रणमा लिएको हो। बक्साबाट काँकडभिट्टा स्थलमार्ग आउन मात्रै साढे नौ घण्टा हाराहारीको समय लागेको थियो।

प्रसाईंले आफ्नो फेसबुक पेजमा भिडियो अपलोड गर्न सहयोगीको मोबाइल प्रयोग गरेका स्रोत बताउँछ। त्यसैको लोकेसनको आधारमा उनी रहेको स्थानको पहिचान भएपछि नेपाल प्रहरीको टोली दुर्गालाई नेपाल ल्याउन समन्वय गर्न असम गएको थियो।

नेपाल प्रहरीको आग्रहमा भारतीय प्रहरीले प्रसाईंलाई नियन्त्रणमा लिएको हो। प्रसाईंलाई पक्राउ गर्दा पनि दुवै देशका प्रहरीले अनौपचारिक तवरबाट समन्वय गरेका थिए।

राति नै प्रसाईं पक्राउ परेको समाचार आए पनि प्रहरी प्रधान कार्यालयले विज्ञप्ति जारी गरेर त्यसको खण्डन गरेको थियो। यद्यपि अहिले भने नेपाल प्रहरीका प्रवक्ता दिनेश कुमार आचार्यले प्रसाईंलाई झापाको भद्रपुर क्षेत्रबाट पक्राउ गरेको पुष्टि गरेका छन्।

आचार्यले भने, ‘उनलाई भद्रपुर क्षेत्रबाट पक्राउ गरिएको हो। निजको साथबाट उनका बडिगार्ड दिपक खड्का पनि सँगै छन्।’

राजसंस्था पुनर्स्थापनाका लागि भन्दै संयुक्त जनआन्दोलन परिचालन समितिले तीनकुनेमा चैत १५ गते गरेको प्रदर्शनको मुख्य कमाण्डर दुर्गा प्रसाईं थिए । सो प्रदर्शनले हिंसात्मक रुप लिँदा दुई जनाको मृत्यु भएको थियो भने निजी तथा सार्वजनिक सम्पत्तिमा तोडफोड र आगजनी भएको थियो ।

क देशको प्रहरीले अर्को देशमा रहेका कोही व्यक्तिलाई सिधै पक्राउ गर्ने अधिकार पनि कानुनतः राख्दैन। त्यसका लागि सो देशका प्रहरीसँग अनुमति र समन्वय आवश्यक पर्छ।

फेब्रुअरी महिनामा भागेर नेपाल आएका पञ्जाबका एक अपराधीलाई पक्राउ गर्न भारतको पञ्जाब प्रहरी अनुमति र समन्वय विना नेपाल आउँदा उनीहरूको टोलीलाई नै नेपाल प्रहरीले नियन्त्रणमा लिएको थियो। भारतीय गृह मन्त्रालयको आग्रहमा उनीहरूलाई दूतावासको जिम्मा लगाइएको थियो।

यो घटनापछि भारतीय गृह मन्त्रालयले अनुमति र समन्वयविना कुनै पनि देशमा अपरेशनमा नजान निर्देशन नै जारी गर्नुपरेको थियो। यद्यपि यसबारेमा दुवै देशका प्रहरी अधिकारी र गृह प्रशासनले भने औपचारिक रूप अस्वीकार गर्दै आएका छन्।

सम्बन्धित समाचार

चैत २९, २०८१ शुक्रबार १०:५२:४० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।