आफू प्रमुख अतिथि भएको कार्यक्रम बहिस्कार गरेपछि ऊर्जा राज्यमन्त्री तामाङद्वारा सचिव आचार्यलाई २४ घण्टे स्पष्टिकरण

आफू प्रमुख अतिथि भएको कार्यक्रम बहिस्कार गरेपछि ऊर्जा राज्यमन्त्री तामाङद्वारा सचिव आचार्यलाई २४ घण्टे स्पष्टिकरण

काठमाडौं : आफू प्रमुख अतिथि भएको कार्यक्रम बहिस्कार गरेपछि ऊर्जा, जलस्रोत तथा सिंचाइ राज्यमन्त्री पूर्णबहादुर तामाङले सचिव सुरेश आचार्यलाई २४ घण्टे स्पष्टिकरण सोधेका छन्।

स्पष्टिकरणमा सिंचाइ विभाग जावलाखेलले आयोजना गरेको सिंचाइ दिवस एवं ७२औं वार्षिक उत्सवको कार्यक्रममा राज्यमन्त्री पूर्णबहादुर तामाङ प्रमुख अतिथिको रूपमा उपस्थित हुँदा सचिव आचार्यले मञ्चमा आसनग्रहण नगरी कार्यक्रम छाडेको आरोप लगाइएको छ।

स्पष्टीकरण पत्रमा ‘विभागका महानिर्देशक संजिब बरालले पटक-पटक आसनग्रहणको लागि आग्रह गर्दा पनि राज्यमन्त्री सहभागी कार्यक्रममा आफू बस्न तयार नभएको भन्ने तुच्छ अभिव्यक्ति दिएको’ उल्लेख छ।

साथै, ‘पदिय आचरण पालना नगर्नुको साथै पदिय गरिमा समेत कायम गर्न नसकेको, नेपाल सरकारको सचिव पदको गरिमा र मर्यादालाई समेत धन्जी उडाउने गरि कार्यक्रम बहिष्कार गरेको’ आरोप लगाइएको छ।

स्पष्टिकरणमा ‘निजामती सेवा ऐन २०४९ को दफा ४२(३) विपरीतको कार्य के कति कारणले गरिएको?, आफू मातहतको विभागले गरेको कार्यक्रममा विभागीय मन्त्री प्रमुख अतिथिको रूपमा उपस्थित हुँदा पदीय आचरण विपरीतको कार्य किन गरिएको? र निजामती सेवा नियमावली २०५९ को दफा ५९ बमोजिमको सजाय किन नगर्नुपर्ने?’ भनी तीन प्रश्न गरिएको छ।

यो पत्रको बोधार्थ प्रधानमन्त्री, ऊर्जा मन्त्री र मुख्य सचिवलाई समेत दिइएको छ। सचिव आचार्यबाट स्पष्टीकरण प्राप्त भएपछि मात्र यस विषयमा थप प्रक्रिया अगाडि बढ्ने बताइएको छ।

चैत २९, २०८१ शुक्रबार ०९:४३:४४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।