तीनकुनेमा काण्ड मच्चाएर भागेका प्रसाईँ भारतीय प्रहरीको नियन्त्रणमा, प्रहरी प्रवक्ताले भने 'थाहा छैन'

तीनकुनेमा काण्ड मच्चाएर भागेका प्रसाईँ भारतीय प्रहरीको नियन्त्रणमा, प्रहरी प्रवक्ताले भने 'थाहा छैन'
तीनकुनेमा गाडीले प्रहरीको ब्यारिकेट तोडेपछि यूट्युवरलाई अन्तर्वार्ता दिँदै प्रसाईँ। तस्बिर : दिपेश श्रेष्ठ।

काठमाडौं : राजा फर्काउने भन्दै तीनकुनेमा आयोजित विरोध प्रदर्शन हिंसात्मक भएसँगै दुई जनाको ज्यान गएपछि भागेका दुर्गा प्रसाई भारतको आसाम प्रहरीको नियन्त्रणमा आएका छन्।

चैत १५ मा तीनकुनेबाट भागेका उनलाई खोज्न नेपाल प्रहरीको टोली भारत पुगेको थियो। काँकडभिट्टाबाट भारत छिरेका उनी दार्जिलिङ वा आसाम क्षेत्रमा लुकेको शङ्कामा त्यता गएको नेपाल प्रहरीलाई प्रसाई खोज्न भारतीय प्रहरीले संयोजन गरेको थियो।

नेपाल-भारतबीच सुपुर्दगी सन्धि भए पनि प्रक्रिया लामो भएकाले फास्ट ट्रयाकमा खोजेका आरोपी आदान-प्रदान गर्न अनौपचारिक संयन्त्र सक्रिय गराइन्छ। प्रसाईको हकमा पनि यही अपनाएको देखियो। यस्तो प्रक्रियामा भारतीय सुरक्षाकर्मीले नेपाल भारत बोर्डमा ल्याएर हस्तान्तरण गरेपछि मात्र नेपाल प्रहरीले औपचारिक रुपमा पक्राउ गर्न सक्छ।

तर प्रहरी प्रवक्ता दिनेश आचार्यले भने प्रसाँई पक्राउको हल्ला मात्र भएको र कुनै पनि नेपाल प्रहरी उनलाई पक्राउ गर्न भारत नगएको दाबी गरे।

तीनकुने प्रदर्शनमा गाडीले प्रहरीलाई किच्न खोजेको र उनी संयोजक रहेको विरोध प्रदर्शनका क्रममा हिंसा फैलिएकाले प्रहरीले उनलाई राज्य विरुद्धको अपराध, हत्या प्रयास र संगठित अपराधमा प्रहरीले उनलाई खोजिरहेको थियो। उनी भने फरार भएका थिए। गाडीले प्रहरी ब्यारिकेट भत्काउँदा पनि प्रसाईँलाई पक्राउ नगरेको भन्दै प्रहरीको तीव्र आलोचना भइरहेको थियो। 

चैत १५ को आयोजकमध्ये नवराज सुवेदी घरमै प्रहरी नियन्त्रणमा छन्। रवीन्द्र मिश्र र धवल शमशेर राणा लगायत करिब एक सय प्रदर्शनकारी राज्य विरुद्धको अपराध, संगठित अपराध र आपराधिक उपद्रवको अभियोगमा प्रहरी हिरासतमा छन्।

*हेडलाइन सच्याएको

चैत २८, २०८१ बिहीबार २१:५९:२६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।