राजपुरमा भएको आगलागीमा साढे १२ लाखको क्षति

राजपुरमा भएको आगलागीमा साढे १२ लाखको क्षति

रौतहट : रौतहटको राजपुर नगरपालिकामा भएको आगलागीबाट साढे १२ लाख बराबरको धनमाल जलेर नष्ट भएको छ।

बुधवार राति राजपुर नगरपालिका–६ बस्ने प्रमोद साह कलवारको मोटरसाइकल वर्कसप, सोही नगरपालिका ५ बस्ने शेख एकरामुलको पान पसल, रहमत अलीको मिठाई पसल र बसको टिकट काउन्टरमा आगलागी भएको थियो।

आगो कसरी सुरु भयो एकिन हुन सकेको छैन। जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार मन्जर आलमले सञ्चालन गरेको बस टिकट काउन्टरमा विद्युत् सर्ट भएर आगो लागेको अनुमान छ।

टिकट काउन्टरमा रहेको कुर्सी, टेबल तथा कागजपत्र जलेर नष्ट भएको रौतहट प्रहरी निरीक्षक उमाशंकर प्रसादले जानकारी दिए। उनका अनुसार सबैभन्दा बढी क्षति मोटरसाइकल वर्कसपमा भएको छ।

आगलागीबाट वर्कसपमा रहेका टायर, मोबिल, हावा भर्ने ट्याङ्कीलगायत जलेर १० लाख बराबरको क्षति भएको प्रारम्भिक अनुमान छ। आगो नजिकै रहेको पान पसलमा समेत सल्कँदा एक लाख बराबरको क्षति भएको रौतहट प्रहरीले जानकारी दिएको छ।

सुरक्षाकर्मी र स्थानीयवासीको सहयोगमा आगो नियन्त्रणमा आएको थियो। आगलागीबाट करिब १२ लाख ५० हजार रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको र घटनाका बारेमा आवश्यक अनुसन्धान भई रहेको रौतहट प्रहरीले जानकारी दिएको छ।

चैत २८, २०८१ बिहीबार १९:०९:५७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।