आगामी बजेटमा सुरक्षा खर्च बढाउने प्रधानमन्त्रीको संकेत, सुरक्षा प्रबन्ध र उचित स्रोत साधनको तयारी गर्न निर्देशन

आगामी बजेटमा सुरक्षा खर्च बढाउने प्रधानमन्त्रीको संकेत, सुरक्षा प्रबन्ध र उचित स्रोत साधनको तयारी गर्न निर्देशन

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले उत्पादन र रोजगारी वृद्धि गर्ने गरी आगामी आर्थिक वर्षको बजेट ल्याउन निर्देशन दिए।

सरकारले हरेक जेठ १५ गते सङ्घीय संसदमा आगामी आर्थिक वर्षको बजेट तथा कार्यक्रम प्रस्तुत गर्छ। बजेट पेस गर्नु अगाडि संसदमा बजेटका प्राथमिकता र सिद्धान्तबारे सदनमा छलफल हुने भएकाले प्रधानमन्त्रीले बिहीबारे बजेटको तयारीबारे सबै मन्त्रालयका मन्त्री र सचिवहरूसहित छलफल गरेका थिए।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको छलफलमा उनले जनताको विकासको आवश्यकता र प्राथमिकताका आधारमा बजेट बनाउन निर्देशन दिए।

शान्ति सुरक्षा, भ्रष्टाचार अन्त्य र जनतालाई सहजरुपमा सेवा सुविधा दिएर सुशासन कायम गर्नेगरि बजेट ल्याउन प्रधानमन्त्री ओलीले निर्देशन दिए। 

मुलुकमा शान्ति खलबल्याउने तत्त्वहरू सक्रिय भएकाले सुरक्षा प्रबन्ध र उचित स्रोत साधनको तयारी गर्न उनले निर्देशन दिए।

‘सुशासन कायम गर्न कुनै सम्झौता गर्नु हुँदैन। राजस्व सङ्कलनमा बदमासी पाइए संलग्न जोकोहीलाई तुरुन्त कारबाही गर्नुपर्छ,’ उनले छलफलमा भनेका थिए ‘पर्याप्त राजश्व उठेपछि नै जनताको विकासमा खर्च गर्न सकिन्छ। स्रोतको आधारविना बजेट ल्याउने हालको प्रवृत्ति अन्त्य गर्नुपर्छ।’

छलफलमा अर्थमन्त्री विष्णु पौडेल।छलफलमा उपप्रधान तथा अर्थमन्त्री रहेका विष्णुप्रसाद पौडेलले स्रोत सुनिश्चितताविना धेरै योजना राख्ने र भएको पुँजीगत खर्च गर्न नसक्ने तर थप बजेट माग्नेजस्ता बेथिति सुधार्ने बताए।

उनले विधि र मापदण्डका आधारित रही बजेट तर्जुमामा आफूहरू लागेको प्रधानमन्त्रीलाई जानकारी गराएका थिए।

अर्थ मन्त्रालयका अनुसार चालु आर्थिक वर्षको हालसम्म राजस्व सङ्कलन ५५ प्रतिशत, कुल खर्च ५२ प्रतिशत र पुँजीगत खर्च २८ प्रतिशत मात्र भएको छ।

चैत २८, २०८१ बिहीबार १८:५६:३७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।