सोचपत्र अलपत्र पार्दै केशरजङ्गको राजीनामा स्वीकृत, फकाउन सकेनन् प्रधानमन्त्री ओलीले

काठमाडौं : सत्ता निकटताका आधारमा भन्दा पनि क्षमताका आधारमा विश्वविद्यालयको नेतृत्व चयन गर्ने दबाबकाबीच त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्त प्रा.डा.केशरजङ्ग बरालको राजीनामा अन्ततः : स्वीकृत भएको छ।
चैत ११ गते स्वास्थ्य कारण देखाएर उनले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा राजीनामा पत्र दिए पनि फिर्ता गराउन भएको प्रयास सफल नभएपछि बिहीबार विश्वविद्यालयको कुलपतिको हैसियतमा प्रधानमन्त्री केपी शर्मा ओलीले बरालको राजीनामा स्वीकृत गरे।
राजनीतिक आस्थाका आधारमा भन्दा पनि प्रतिस्पर्धाबाट नेतृत्व छानिनुपर्ने दबाब बढेपछि आवेदक ४३ जनाबाट १४ हुँदै ३ जनाको नाम सर्ट लिस्ट भएको थियो।
त्यही सूचीमध्येबाट गत वर्षको फागुन १० मा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बराललाई विश्वविद्यालयको उपकुलपति नियुक्त गरेका थिए।
उपकुलपति नियुक्त भएपछि उनले त्रिभुवन विश्वविद्यालय सुधार्ने सोचपत्र सार्वजनिक गरेर काम अगाडि बढाएका थिए। तर त्रिबिमा भइरहने राजनीतिक खिचातानीका कारण उनी टिक्न सकेनन् र राजीनामा दिए।
उनी यस अगाडि २०६४ मा पोखरा विश्वविद्यालयको उपकुलपतिमा नियुक्त भएका थिए। त्रिबिमा रहेका दलका भातृ संगठनको दबाब हटाएर काम गर्ने उद्घोष गरेका उनी सफल भएनन् र १३ महिनामै राजीनामा दिएर हिँडे।
चैत २८, २०८१ बिहीबार १८:४२:०२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।