सवारी दुर्घटनामा बाँचेका प्राविधिक ढुंगाना घरमा मृत भेटिए, आत्महत्याको शंका

हेटौँडा : पाँच दिनको अवलोकन भ्रमण सकाएर घर फर्कँदै गर्दा बस दुर्घटनामा परेर घाइते भएका भीमफेदी गाउँपालिकाका एक कर्मचारी बिहीबार घरमा मृत भेटिए। भीमफेदी गाउँपालिकाको पशु विकास शाखाका प्राविधिक विमल ढुंगाना मृत भेटिएका हुन्।
चैत २२ गते शुक्रवार धरान, धनकुटा, कन्यामलगायतका स्थानहरूको अवलोकनका लागि निस्किएको गाउँपालिकाको टोली भ्रमण गरेर बुधवार राति मकवानपुरको भीमफेदी फर्कने क्रममा धरान–चतरा सडक खण्डमा दुर्घटनामा परेको थियो।
मकवानपुरको बकैया गाउँपालिका–३, चिसापानीमा आइपुगेपछि उक्त टोली सवार बागमती प्रदेश ०६–००१ ख ०२७० नम्बरको बस ओरालोमा चिप्लिएर दुर्घटना भएको थियो। बसमा सवार ३१ जनामध्ये २३ जना घाइते भएका थिए। तिनै घाइतेमध्येका एक थिए ढुंगाना।
पाँच वर्षदेखि भीमफेदी गाउँपालिकाको पशु शाखा प्राविधिकको रूपमा कार्यरत ढुंगाना पनि गाउँपालिकाको अवलोकन भ्रमणमा निस्किएका थिए।
पालिकाको कृषि तथा पशु शाखाको भ्रमण भएका कारण शाखाका कर्मचारी, किसानहरू र केही जनप्रतिनिधि पनि भ्रमणमा थिए। शुक्रवार बिहान गाउँपालिकाबाट निस्किएको टोली मंगलबार नै आइपुग्ने योजनामा थियो।
तर, उनीहरू सवार बस बाटोमा बिग्रिने, टायर पन्चर हुनेजस्ता समस्या देखिएपछि फर्कन एक दिन ढिलो भएको थियो। पशु शाखाको व्यवस्थापनमा आयोजना गरिएको अवलोकन भ्रमणको जिम्मा पशु शाखा प्रमुख सरोज ओझाको थियो।
सवारीसम्बन्धी कुराहरू थाहा हुने भन्दै प्रमुख ओझाले विमललाई बस रिजर्भ गर्ने जिम्मेवारी थमाएका थिए। सोहीअनुरूप विमलले नै रिजर्भ गरेको बसमा पालिकाको टोली भ्रमणमा निस्कियो।
चार दिन कन्यामदेखि धनकुटासम्म घुमेका उनीहरू बुधवार दिउँसो २ बजे गाईघाट आइपुगेका थिए। भीमफेदी गाउँपालिका–२ का वडाध्यक्ष काशीराम बज्युका अनुसार दिउँसो गाईघाटमा खाना खाएपछि मकवानपुर फर्कनका लागि बाटो लागे। साँझ सिन्धुली आइपुगेपछि खाजा खाएर निस्किएका उनीहरू बिच बाटोमै दुर्घटनामा परे।
दुर्घटनामा केही घाइतेको अवस्था गम्भीर रहे पनि धेरैको अवस्था मध्यमदेखि सामान्य छ। पशु प्राविधिक विमलको अवस्था पनि सामान्य नै थियो।
दुर्घटनापछि उपचारका लागि हेटौँडा अस्पताल ल्याइएका उनी सामान्य उपचारपछि बिहीबार बिहान ३ बजेतिर डिस्चार्ज भए।
हेटौँडा–१८, हर्नामाडी घर भएका उनी कहिले हर्नामाडी जाने भन्दै थिए त कहिले भीमफेदी नै जाने भन्दै दोमन गरिरहेका थिए।
सँगै भ्रमणमा गएका सोही शाखामा कार्यरत रुविन घर्तीका अनुसार, विमलले भीमफेदी जाने भनेपछि सँगै डिस्चार्ज भएका कर्मचारीहरूले पनि सँगै जाने प्रस्ताव राखेका थिए।
तर उनी कसैलाई नभनी निस्किएका थिए। उनी हेटौँडा–२ स्थित संगमचोकतिर हिँडिरहेको भन्ने खबर पाएपछि भीमफेदी गाउँपालिका–९ का वडा सदस्य उदयप्रसाद कटुवालको घरमा गएर बस्न सुझाव दिएको रुविनले बताए।
आफूहरू भने बजारतिरै साथीको कोठामा सुतेको उनको भनाइ छ। वडा सदस्य कटुवालले हेटौँडा–११, नवलपुरमा रहेको आफ्नो घरमा बिहानीपख विमललाई लिएर गएका थिए। बिहान अबेरसम्म पनि नउठेपछि थकाइ लागेर सुतिरहेका होलान् भन्ने लागेर घरका मान्छेले त्यति वास्ता गरेनन्। घरको दोस्रो तल्लामा छुट्टै कोठामा सुतेका विमल निकैबेरसम्म पनि नउठेपछि वडा सदस्य कटुवालले ढोका ढकढक्याउँदै बोलाए। तर, भित्रबाट कुनै चालचुल भएन।
भित्र सुनसान नै भएपछि उनले झ्यालबाट चिह्याएर विमल सुतेको कोठामा हेर्दा पंखामा झुन्डिएको अवस्थामा देखे। केही बेरको हो–हल्लापछि प्रहरी घटनास्थल आइपुग्यो।
उनी सुतेको कोठाको ढोका फुटाएर हेर्दा घाँटीमा पासो लगाएर आत्महत्या गरेको अवस्थामा विमल फेला परे। उनी सुतेको कोठामा रहेको कपडा राख्ने दराजबाट टाई र खादा लगायतका सामग्री निकालेर डोरी बनाएर झुन्डिएको मकवानपुर प्रहरीले जनाएको छ।
घटनास्थलमा चुँडिएको अवस्थामा पेटीसमेत भेटिएको छ। उनले लगाएको पेटीले पासो लगाउने प्रयास गर्दा चुँडिएपछि खादा र टाई जोडेर डोरी बनाएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ।
दुर्घटनाबाट ज्यान जोगिएर नयाँ जीवन पाएका उनले किन आत्महत्या गरे खुलेको छैन। विमलका छिमेकीका अनुसार भ्रमणमा रिजर्भ गरेर लगिएको बस विमलकै थियो। उनले त्यो बस कहिले किने भन्ने यसभन्दा अघि थाहा नभए पनि घटनापछि उनकै बस रहेछ भन्ने थाहा पाएको उनका एक छिमेकीको भनाइ छ।
-नेपाल न्यूज बैंक
चैत २८, २०८१ बिहीबार १६:३७:३२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।