गगनको दुई दाबी : ज्ञानेन्द्र संवैधानिक राजा हुन अयोग्य, सरकारको बिँड तात्यो तर ताप्के तातेन

काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पूर्व राजा ज्ञानेन्द्र शाह संवैधानिक राजा बन्न योग्य नभएको दाबी गरे। काठमाडौँमा पार्टीले आयोजना गरेको कार्यक्रममा बिहीबार सम्बोधन गर्दै उनले प्रश्न गरे ‘अहिले शीतल निवासमा हुँदा त यत्रो उत्पात मच्चाए, नारायणहिटीमा भएको भए के हुन्थ्यो?'
कांग्रेसले राजा बोक्दै आए पनि अन्तमा कांग्रेसले नै दुख पाएको उनको भनाई थियो। राजा बोक्दा वीपी कोइरालामाथि राजद्रोहसहित ७ वटा मुद्दा लागेको, गिरिजा प्रसाद कोइरालाले ढुंगा खाएको भन्दै उनले अनुभवबाट पार्टी संवैधानिक राजा राख्न नसक्ने निर्णयमा पुगेको बताए।
ज्ञानेन्द्र शाहलाई जति धोए पनि संवैधानिक राजा बन्न योग्य नरहेको उनको तर्क थियो।
सरकारको काममा असन्तुष्ट
वर्तमान सरकारको मुख्य सहयोगी दलका महामन्त्री रहेका थापा वर्तमान सरकारको कामप्रति पनि सन्तुष्ट देखिएनन्। सरकारलाई सघाउन बनेको राजनीतिक संयन्त्रमा समेत रहेका उनले बिँड ताते पनि ताप्के नतातेको भन्दै प्रधानमन्त्री ओली र मन्त्रीहरूले काम गर्न नचाहेको दाबी गरे।
काम गर्ने सरकारको गतिबारे जुन अपेक्षा गरेको त्यो अनुसार काम नभएको र संयन्त्रको जिम्मेवारीमा रहेकाले आफूमाथि प्रश्न उठिरहेको उनले बताए।
'केपी शर्मा ओली नेतृत्वको सरकारले राम्रो काम गरोस् भनेर हामीले सहयोग गरिरहेका छौँ। तर बिँड तातेर केही नहुँदो रहेछ ताप्के पनि तात्नुपर्ने रहेछ’ उनले भने।
चैत २८, २०८१ बिहीबार १४:०६:२३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।