बार एसोसिएसनको निर्वाचनमा सत्ताधारी दलका उम्मेदवारको कब्जा, अध्यक्षमा मिश्र, महासचिवमा कोइराला

बार एसोसिएसनको निर्वाचनमा सत्ताधारी दलका उम्मेदवारको कब्जा, अध्यक्षमा मिश्र, महासचिवमा कोइराला

काठमाडौं : नेपाल बार एसोसिएसनको निर्वाचनमा सत्ताधारी दल नेपाली कांग्रेस-एमालेका उम्मेदवारहरू विजयी भएका छन्। बिहीबार घोषित मत परिणाम अनुसार अध्यक्ष पदमा कांग्रेस-एमाले गठबन्धनका वरिष्ठ अधिवक्ता प्रा.डा.विजयप्रसाद मिश्र दोब्बर मतान्तरले निर्वाचित भए।

मिश्रले ५ हजार ५२ मत पाउँदा उनको प्रतिद्वन्द्वी वरिष्ठ अधिवक्ता रमनकुमार श्रेष्ठले २ हजार ६ सय २१ मत पाए। श्रेष्ठलाई माओवादी केन्द्र, एकीकृत समाजवादी, राप्रपा लगायतका दलको समर्थन थियो। 

महासचिव पदमा कांग्रेस-एमाले गठबन्धनका वरिष्ठ अधिवक्ता केदारप्रसाद कोइराला ४ हजार ८ सय ७४ मत पाएर विजयी भए। उनका प्रतिद्वन्द्वी यज्ञमणि न्यौपानेले २ हजार ३ सय ६७ मत पाएका थिए। बारको निर्वाचित अध्यक्ष कांग्रेस र महासचिव एमाले निकट सङ्गठनका उम्मेदवार हुन्।

निर्वाचन समितिले सार्वजनिक गरेको नतिजा अनुसार कोशी प्रदेशमा पदमप्रसाद लिम्बु, मधेस प्रदेशमा अजयशंकर झा,बागमती प्रदेशमा तेजबहादुर रावल, गण्डकी प्रदेशमा भूपेन्द्र खनाल, लुम्बिनी प्रदेशमा कृष्णप्रसाद पोख्रेल, कर्णाली प्रदेशमा विवसकुमार बस्नेत, सुदूरपश्चिम प्रदेशमा सिद्धराज ओझा निर्वाचित भए। महिला खुला उपाध्यक्षमा सरस्वती श्रेष्ठ र कोषाध्यक्षमा जगतबहादुर कार्की निर्वाचित भए।

चैत २८, २०८१ बिहीबार १३:५२:३० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।