‘पूर्णबहादुरको सारङ्गी’का निर्माताको स्वीकारोक्ति- फिल्म चलाउन पनि २०-२५ लाखको टिकट आफैँ किन्नुपर्छ

काठमाडौं : वर्ष २०८१ को सबैभन्दा बढी कमाउने फिल्म ‘पूर्णबहादुरको सारङ्गी’का निर्माता विनोद पौडेलले फिल्म चलाउनका लागि २०-२५ लाखको टिकट आफैँ किन्नुपर्ने स्वीकार गरेका छन्।
बिहीबार विहान सामाजिक सञ्जालमा एक पोस्ट लेख्दै उनले फिल्मकर्मीहरूमाथि लाग्दै आएको आरोप स्वीकार गरेका हुन्। ‘पूर्णबहादुरको सारङ्गी’ चलाउनका लागि आफूहरूले पनि १० देखि १२ लाखको टिकट खरिद गरेको उनले बताए।
उनले लेखेका छन्, ‘इन्द्रेको बाउ चन्द्रेले फिल्म बनाए पनि २०-२५ लाखको ट टिकट किन्नैपर्छ। १०-१२ लाखको त हामीले पनि किनेकै हो अब टिकट काट्नु पनि मार्केटिङ प्लान हो।’
उनले यसलाई मार्केटिङ प्लान भएको स्पष्ट पार्दै आजकल फिल्म चलाउन यतिसम्मको फन्डा नगरी नहुने स्वीकारे। निर्माता पौडेलले अहिले स्वीकारे पनि केही समयअघिदेखि नै नेपाली फिल्मका निर्माताहरूमाथि यस्तो आरोप लाग्दै आएको थियो।
टिकट किनेपछि हलमा दर्शक छन् भन्ने भ्रमका कारण दर्शकहरू हलमा आउने उनीहरुको बुझाइ छ। फिल्मलाई दर्शकको राम्रो रेस्पोन्स छ भनेर देखाउनका लागि पनि यस्तो गर्नुपर्ने कतिपय निर्माताको भनाइ छ।
चैत २८, २०८१ बिहीबार १२:४१:३९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।