रास्वपा सचिवालय बैठकको निष्कर्ष- रवि लामिछानेको दुई दिन तीन रातको हिरासत बसाई स्वत: अवैध

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सभापति रवि लामिछानेको दुई दिन तीन रातको हिरासत बसाई अवैध भएको निष्कर्ष निकालेको छ।
बुधबार बेलुकी बसेको सचिवालय बैठकले चैत २२ गते राति पक्राउ परेका लामिछानेलाई २५ गतेमात्र जिल्ला अदालत रुपन्देहीमा उपस्थित गराएर थुनुवा पूर्जी दिइएको भन्दै उनको दुई दिन तीन रातको हिरासत बसाई स्वत: अवैध भएको निष्कर्ष निकालेको हो।
बैठकले उच्च अदालतको आदेश कार्यान्वयनका लागि जिल्ला अदालतले प्रक्रिया सुरू नगर्दै चैत २२ गते प्रहरीले सभापति रवि लामिछानेलाई गरेको पक्राउ कानूनको उचित प्रक्रिया विपरीत रहेको समेत बताएको छ।
जिल्ला अदालत रुपन्देहीले प्रक्रिया सुरू नगर्दै सभापति लामिछानेलाई पक्राउ गर्न आफैँ सक्रिय भएको प्रहरीले उनको निवासमा गरेका क्रियाकलाप झनै आपत्तिजनक भएको पार्टी बैठकको निष्कर्ष छ।
कानूनले निर्धारण गरेका आधारभूत कागजात र अदालतको आदेशसमेत नलिई घर प्रवेश गर्नु, सभापति लामिछानेले मागेपछि मात्रै ढिला गरी दिनु, उच्च अदालतले समेत आदेश गरिसकेको मुद्दामा अनुसन्धानका लागि भन्दै पक्राउ गर्नु र प्रहरीका उच्च अधिकारीले नै ‘अन्तिम इच्छा’ सोध्नुजस्ता क्रियाकलापले प्रहरीको गैरव्यवसायिकता मात्रै नभएर कानूनी शासनकै धज्जी उडाएको पार्टीको ठहर छ।
यी र यस्ता घटनाबाट सभापति रवि लामिछानेमाथि राज्यको निर्मम प्रतिशोध रहेको पुन: प्रमाणित भएको निष्कर्ष पार्टीको सचिवालय बैठकले निकालेको कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए।
बैठकले रास्वपा अदालतको आदेशको सम्मान गर्दै, कानूनको उचित प्रक्रिया पूरा नगरी सरकारी पक्षबाट सभापति लामिछानेप्रति गरिएको अमर्यादित एवं अमानवीय व्यवहारको भर्त्सना समेत गरेको छ।
यसका अलावा बैठकले बदलिँदो परिस्थितिमा जनयात्रा कार्यक्रमको स्वरूप, राष्ट्रिय महाधिवेशन, पदाधिकारीहरूको प्रदेश हेर्ने जिम्मेवारी लगायतका विषयमा निर्णय लिन २०८२ वैशाख ४ गते केन्द्रीय समितिको बैठक बोलाउने निर्णय गरेको छ।
यसका साथै पार्टी सचिवालयको बैठकमा बाँकी छलफलका एजेण्डाहरूमा छलफल गर्न र केन्द्रीय समितिको बैठकको तयारीका लागि आज पनि निरन्तर बैठक बस्ने भएको छ।
यसअघि रास्वपाले लामिछानेमाथि भएको प्रहरी दमन र मानवअधिकार उल्लङ्घनका घटनाका सन्दर्भमा राष्ट्रिय मानवअधिकार आयोगलाई सत्यतथ्य छानबिन गरी दोषीमाथि कारबाही गर्न पार्टीको तर्फबाट उजुरी दिएको थियो।
चैत २८, २०८१ बिहीबार १०:३४:२५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।