१२ दिनपछि होस खुलेका गृहमन्त्री तीनकुनेका घाइते भेट्न अस्पतालमा, तर जवाफ लाचार

काठमाडौँ : सरकारले निःशुल्क उपचार गराउने निर्णय गर्दागर्दै पनि अस्पतालले उपचारको बिल मागेपछि चैत १५ को तीनकुनेका घाइते अस्पतालबाटै भाग्नुपर्यो।
कानहुँदै गालामा गोलीले घाउ बनाएका सुमन गुरुङलाई काठमाडौँ मेडिकल कलेजले १७ हजारको बिल दिएपछि उनी अस्पतालबाटै भागेका थिए। उकेराले सुमनको बिलसहित तीनकुने घटनाका घाइतेहरूले उपचारमा पाइरहेकै दुखबारे समाचार प्रकाशित गरेको थियो।
तर सरकारको चेत खुलेन। स्वास्थ्य मन्त्रालयका अधिकारीहरूले मन्त्रिपरिषद्ले निर्णय गरिसकेकाले अस्पतालले निःशुल्क उपचार गर्नुपर्ने तर्क मात्र गरेर बसे। जुन अस्पतालले उपचार गरेको छैन त्यसलाई कारबाहीको दायरामा ल्याउन कुनै प्रयास भएन।
घटनाको १२ दिनपछि बल्ल गृहमन्त्री रमेश लेखकको चेत खुल्यो। गोली लागेका २० मध्ये पाँच घाइते अस्पतालबाट डिस्चार्ज हुन बाँकी भएपछि उनी बुधवार चार अस्पताल पुगेर घाइतेहरूलाई भेटे।
अहिले गोली लागेका २० जनामध्ये तिघ्रामा रबर बुलेट लागेर गम्भीर घाइते भएकी रेविका खत्री, दाहिने हातमा छर्रा लागेका रामचन्द्र बुढाथोकी, पाखुरामा गोली लागेका रामहरि श्रेष्ठ, कुममा गोली लागेका शम्भु दर्जी र पेटमा गोली लागेका भोजपुरका डिल्लीप्रसाद लुइँटेल उपचाररत छन्।
बुढाथोकी सिनामंगलको काठमाडौं मेडिकल कलेजमा छन्। रामहरिको बीएन्डबीमा उपचार भइरहेको छ। रेविकाको सिभिल अस्पतालमा उपचार भइरहेको छ भने दर्जी र लुइँटेलको नेशनल ट्रमा सेन्टरमा उपचार भइरहेको छ।
बुधवार गृहमन्त्री लेखक यी चारै अस्पतालमा गएर घाइतेको अवस्था र उपचार सुविधाबारे बुझे। प्राय सबै घाइतेले निःशुल्क भने पनि पैसा लिइराखेको गुनासो गरे।
मन्त्रीले तत्काल अस्पताल प्रशासनलाई बोलाएर सरकारले निःशुल्क भन्दाभन्दै किन पैसा लिएको भनेर सोध्न सकेनन्। निःशुल्क उपचार गराउन निर्देशन पनि दिन सकेनन्। मन्त्रीसँगै उभिएका अस्पतालका कर्मचारीले अस्पतालमा नभएको औषधी बाहिरबाट किनेर ल्याएको दाबी गरिरहेका थिए।
उता सिनामंगलको केएमसीले घाइतेहरूलाई पैसा नतिरी डिस्चार्ज समेत हुन दिएको थिएन। जवर्जस्ती गरेपछि त्यहाँका घाइतेहरू आफैँ पैसा तिरेर डिस्चार्ज भएका थिए। सो अस्पताल नेपाली कांग्रेसका सांसद सुनिल शर्माको हो। आफ्नै दलका सांसदको अस्पतालले घाइतेहरूप्रति गरेको दुर्व्यवहारप्रति पनि उनी मौन नै रहे।
आफैँले पैसा खर्च गरेर औषधीहरू किनेको भए अस्पताल हुँदै स्वास्थ्य मन्त्रालयमा बिल पेस गरेर पैसा लिनु भन्दै फर्किए।
सम्बन्धित समाचार
चैत २७, २०८१ बुधबार २३:५९:२६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।