हजुरआमाको चप्पल लिन जाँदा डुबेका दिदी-भाइको शव भेटियो

नवलपरासी: मङ्गलवार साँझ नारायणी नदीमा डुबेर बेपत्ता भएका दुई जना दिदी भाइको शव फेला परेको छ। नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट-१ स्थित ब्रिटिस क्याम्प नजिकै नारायणी नदीमा डुबेर बेपत्ता भएका उनीहरूको शव बुधवार दिउँसो फेला परेको हो।
नदीमा बेपत्ता भएका गैँडाकोट–१ का विष्णु सेर्पुञ्जाकी १३ वर्षीया छोरी दीक्षा र नौ वर्षीय छोरा स्वपनिलको शव सशस्त्र प्रहरी बल १७ नम्बर गण भरतपुरबाट खटिएको गोताखोरको टोलीले फेला पारेको हो।
इलाका प्रहरी कार्यालय गैँडाकोटका निमित्त प्रमुख प्रहरी नायब निरीक्षक सानुकाजी विष्टले उनीहरू डुबेको ठाउँ नजिकै शव फेला परेको जानकारी दिए।उनीहरूको शव पोस्टमार्टमका लागि भरतपुरस्थित भरतपुर सङ्घीय अस्पतालमा पठाइएको विष्टले जानकारी दिए।
दुवै बालबालिका हजुरआमा सुनमाया कुमालसँग मङ्गलवार साँझ नारायणी नदीमा गएका थिए। घर फर्किने बेलामा हजुरआमाको चप्पल छुटेर लिन जाँदा दुवै नदीमा बेपत्ता भएका थिए।
चैत २७, २०८१ बुधबार २२:४९:४४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।