आठ महिनामा ८ अर्ब ४९ करोड बराबर प्रत्यक्ष वैदेशिक लगानी भित्रियो

काठमाडौँ : चालु आर्थिक वर्ष २०८१/८२ को आठ महिनामा साढे १० खर्बभन्दा बढी विप्रेषण भित्रिएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको फागुन महिनासम्मको तथ्याङ्कमा देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार विप्रेषण आप्रवाह नौ दशमलव चार प्रतिशतले बढेर १० खर्ब ५१ अर्ब ७७ करोड पुगेको उल्लेख छ।
यो अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या तीन लाख १७ हजार ६८ र पुनः श्रम स्वीकृति लिनेको संख्या दुई लाख १७ हजार चार सय तीन रहेको छ।
यो अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) ११ खर्ब ४८ अर्ब १२ करोड पुगेको राष्ट्र बैंकले जनाएको छ। त्यसैगरी समीक्षा अवधिमा चालु खाता एक खर्ब ८० अर्ब आठ करोडले बचतमा रहेको उल्लेख छ। यो अवधिमा ८ अर्ब ४९ करोड बराबर प्रत्यक्ष वैदेशिक लगानी भित्रिएको राष्ट्र बैंकले जनाएको छ।
गत फागुन मसान्तसम्ममा शोधनान्तर स्थिति तीन खर्ब १० अर्ब ३७ करोडले बचतमा छ। अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति तीन खर्ब २७ अर्ब ५५ करोडले बचतमा रहेको थियो।
गत असार मसान्तमा २० खर्ब ४१ अर्ब १० करोड बराबर रहेको कूल विदेशी विनिमय सञ्चिति पछिल्लो आठ महिनामा १८ प्रतिशतले वृद्धि भई २४ खर्ब ९ अर्ब २५ करोड पुगेको छ।
कूल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २१ खर्ब ३० अर्ब ३१ करोड पुगेको छ भने बैंक तथा वित्तीय संस्थासँग रहेको विदेशी विनिमय सञ्चिति दुई खर्ब ७८ अर्ब ९५ करोड कायम भएको छ।
चालु आर्थिक वर्षको आठ महिनाको आयातलाई आधार मान्दा बैङ्किङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चितिले १७ दशमलव दुई महिनाको वस्तु आयात र १४ दशमलव तीन महिनाको वस्तु तथा सेवा आयात धान्न सक्ने राष्ट्र बैंकले जनाएको छ।
चैत २७, २०८१ बुधबार २२:४२:५१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।