बक्स अफिस रिपोर्ट : पूर्ण बहादुरको सारंगी १७ लाखले हेर्दा सानो संसार हेर्ने एक हजार मात्र

काठमाडौं : गत वैशाखदेखि चैतको अन्तिम सातासम्म हलमा ६० वटा नेपाली फिल्म प्रदर्शनमा आए। अन्तिम साता दुई फिल्म रिलिज हुँदैछन्। ती जोड्दा संख्या पुग्छ ६२। गत शुक्रवारबाट प्रदर्शन भइरहेको ‘वसन्त’ र चैत २९ लाग्ने कर्मा र पीताम्बर बाहेक ५९ वटाको बक्स अफिस कलेक्सन हेर्ने हो भने १ अर्ब ८० करोड देखिन्छ।
नेपालको हलमा रिलिज भएका विदेशी फिल्मको संख्या ८३ वटा छ। प्रदर्शनमा आएका विदेशी फिल्मको कुल व्यापार ८९ करोड ५८ लाख छ। यी दुवै जोड्ने हो भने यो वर्ष फिल्म क्षेत्रको कुल व्यापार देखिन्छ २ अर्ब ७० करोड।
फिल्म रिलिज भएपछि निर्माण टिमले कुल व्यापारबारे आफ्ना दाबीहरू सार्वजनिक गर्छन्। निर्माण टिमले सार्वजनिक गरेका दाबी र बक्स अफिस कलेक्सनको आँकडा हेर्दा निकै भिन्नता देखिन्छ।
प्रदर्शनमा आएको फिल्ममध्ये सबैभन्दा धेरै कमाउनेमा पर्छ ‘पूर्णबहादुरको सारंगी’। यसले नेपालको बक्स अफिसमा मात्र ४६ करोड ८० लाखको व्यापार गर्यो। यो फिल्म १७ लाख दर्शकले हेरेको बक्स अफिस रिपोर्टमा उल्लेख छ।
फिल्मले सय दिन पार गरेको उपलक्ष्यमा आयोजित कार्यक्रममा निर्माण टिमले ४८ करोड भन्दामाथि ग्रस कलेक्सन गरेको दाबी गरेको थियो। तर बक्स अफिस रिपोर्टमा भने झन्डै दुई करोड फरक देखियो।
फिल्म ‘१२ गाउँ’को कुल कमाई १९ करोड ९२ लाख देखिए पनि निर्माण पक्षले भने करिब २५ करोडको दाबी गरेका थिए।
यो फिल्मको कमाइमा पनि झन्डै चार करोडको फरक देखियो। असोज २४ मा रिलिज भएको फिल्मले देशैभर चौथो हप्तामा २५ करोड ५० लाख बराबरको कलेक्सन गरेको दाबी गरेको थियो निर्माण टिमले।
फिल्मका वितरक गोविन्द शाहीले २५ करोड ५० लाख ग्रस भइसकेको र अझैँ बढ्ने दाबी गरेका थिए। तर उनको भनाई र बक्स अफिस रिपोर्टमा झन्डै ६ करोडको फरक देखियो।
फिल्म ‘१२ गाउँ’सँगै प्रदर्शनमा आएको अर्को फिल्म ‘छक्कापञ्जा ५’ सर्वाधिक कमाउने फिल्मको तेस्रो नम्बरमा छ। यो फिल्मले १५ करोड २० लाख ग्रस कलेक्सन गरेको छ। फिल्मका वितरक मनोज राठीले दुई सातामा ‘छक्का पन्जा ५’ १७ करोड २० लाख कमाइ गरेको दाबी गरेका थिए।
चार हप्तामा २३ करोड ग्रस कलेक्सन गरिएको दाबी बक्स अफिस रिपोर्टसँग मेल खाएन। लगभग ८ करोडको अन्तर देखियो।
‘बोक्सीको घर’ले ११ करोड हाराहारी ग्रस कलेक्सन गरेको भनिएका थियो। यसकी निर्माता समेत रहेकी केकी अधिकारीले यो फिल्म चौथो हप्तामा प्रदर्शनमा आउँदा ११ करोड हाराहारी पुगेको जानकारी दिएकी थिइन। फिल्मको बक्स अफिस रिपोर्टमा १० करोड २ लाख ग्रस कलेक्सन देखियो।
प्रदर्शनरत फिल्म ‘अञ्जिला’ ७ करोड ५० लाख,‘पूजार सार्की’ ७ करोड ३७ लाख,‘ घरज्वाइँ’ ५ करोड ९ लाख ग्रस कलेक्सन गरेको छ।
रोहित अधिकारीले ५ करोडमा निर्माण गरेको फिल्म ‘फर्की फर्की’ ले जम्मा ४ करोड ८४ लाख रुपैयाँ ग्रस कलेक्सन गरेको छ।
उपेन्द्र सुब्बा निर्देशित फिल्म ‘मनसरा’ ४ करोड ७८ लाख ग्रस कलेक्सन गरेको छ। कुमार कट्टेल निर्देशित फिल्म ‘लाज शरणम्’ ४ करोड ३४ लाख रुपैयाँ ग्रस गरेको छ।
पूजा शर्माले निर्माण गरेको फिल्म ‘रावायण’को व्यापार बिजोग देखियो। यसले जम्मा एक करोड ५४ लाख ग्रस कलेक्सन गरेको छ।
स्वस्तिमा खड्काले निर्माण गरेको फिल्म ‘बेहुली फ्रम मेघौली’ले तीन करोड ५४ लाख ४० हजार ग्रस कलेक्सन गरेको छ।
निकै हल्ला गरिएको खजुरे ब्रो जम्मा तीन हजार २ सय ४४ जनाले मात्र हेरे। यसबाट जम्मा व्यापार भयो १० लाख। गाउँ आएको बाटोको व्यापार चार करोड १९ लाख देखियो।
दानवीको ग्रस कलेक्सन ४७ लाख देखियो भने यसलाई १७ हजार दर्शकले हेरेको बक्स अफिस रिपोर्टमा उल्लेख छ।
लगानी नै पाँच करोड दाबी गरिएको ह्रस्व दीर्घले चार करोड ३३ लाख ग्रस कलेक्सन गरेको बक्स अफिस रिपोर्टमा उल्लेख छ। तेल भिसाले २ करोड ४५ लाखको व्यापार गरेको छ।
बुलाकी रि-रिलिज गर्दा २६ लाख व्यापार गरेको थियो। सतीदेवी ४ हजार २ सय ९९ जनाले हेर्दा ग्रस कलेक्सन एक करोड १९ लाख गरेको देखिन्छ।
निकै प्रशंसा भएको फिल्म सानो संसार करिब एक हजार दर्शकले मात्र हेरेको बक्स अफिस रिपोर्टमा देखिन्छ। यसले जम्मा सात लाख २९ हजारको ग्रस कलेक्सन गरेको थियो।
राम्रै प्रशंसा भए पनि व्यापारिक आँकडामा फेरि रेशम फिलिली फ्लप देखियो। यसले जम्मा ७६ लाखको व्यापार गर्यो। कार्साङले एक करोड ४८ लाखको ग्रस कलेक्सन गर्यो। रंगीले ३१ लाख ग्रस कलेक्सन गर्यो।
होस्टल ३ ले पनि चार करोडको ग्रस कलेक्सन गर्यो। मायावी ७१ लाख, सारङ १० लाख, देववाणी दुई लाख ४८ हजार, बम बहादुर पाँच लाख, खुस्मा चार करोड, देवी आठ लाख र साम्बालाको २ करोड १२ लाख ग्रस कलेक्सन देखिन्छ।
यस वर्ष केही फिल्मले ५० हजार भन्दा पनि कम व्यापार गरेको देखियो। ‘शिर फूल’ को जम्मा ८९ वटा मात्र टिकट बिक्री भयो। बक्स अफिस कलेक्सन जम्मा १८ हजार ५ सय भयो। आँखा जम्मा २ सय ६२ जनाले हेर्दा व्यापार गर्यो ९२ हजार।
नाम जुधेको भनेर निकै विवाद भएको फिल्म एक्टर जम्मा एक सय २१ जना दर्शकले हेर्दा व्यापार भयो ३३ हजार। एक्टर : टेक वानलाई ३४ हजार दर्शकले हेर्दा ग्रस कलेक्सन एक करोड भएको देखिन्छ।
मम्मीले ६० लाख ग्रस कलेक्सन गर्दा दुखी आत्माले ७१ लाखको कारोबार गरेको थियो। अन्तर्राष्ट्रिय फिल्म फेस्टिवलहरुमा निकै प्रशंसा पाएको राजागञ्जको व्यापार निकै कम देखियो। यो फिल्म जम्मा ४ हजार ७ सय २६ जनाले हेर्दा ग्रस कलेक्सन भयो १६ लाख २१ हजार। फिल्म डोरीको ग्रस कलेक्सन देखियो चार लाख।
चैत २७, २०८१ बुधबार २२:२३:२९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।