गृहमन्त्रीसँग तीनकुनेकी घाइते रेविकाको आग्रह 'मेरो भविष्य सुनिश्चित गरियोस्'

गृहमन्त्रीसँग तीनकुनेकी घाइते रेविकाको आग्रह 'मेरो भविष्य सुनिश्चित गरियोस्'

काठमाडौं : घाइते भएको १० दिनपछि गृहमन्त्री रमेश लेखक चैत १५ को राजावादी आन्दोलनका घाइते भेट्न गए। गृहमन्त्री लेखक सिभिल, ट्रमा, केएमसी र बिएन्डबी गएर घाइतेहरुसँग भेटेका हुन्।

उनी सिभिल अस्पताल गएर प्रहरीको गोली लागेर गम्भीर घाइते भएकी रेविका खत्रीसँग भेटेका थिए। बुधवार मन्त्री लेखकसँग रेविकाले हात जोड्दै भनिन्' मेरो खुट्टा ठिक हुनुपर्यो'। उनले आफ्नो भविष्य सुनिश्चित गरिदिन समेत आग्रह गरिन्। उनको तिघ्रामा गोली लागेको थियो।

सञ्चारकर्मीहरूसँगको कुराकानीमा मन्त्री लेखकले आन्दोलनको क्रममा जति घाइते भएका छन् सबैको सरकारले निःशुल्क उपचार गर्ने दाबी गरे। बाहिरबाट औषधी किनेको भएता पनि त्यसको बिल अस्पताल मार्फत स्वास्थ्य मन्त्रालयमा जाने र त्यो बराबरको भुक्तानी हुने उनले बताए ।

'सरकारले निःशुल्क उपचार गर्ने भनेर निर्णय गरिसकेको छ। सबै घाइतेहरूले निःशुल्क उपचार प्राप्त गरेकी गरेनन् भनेर नै म हेर्न आएको हो' उनले भने'बाहिरबाट औषधी किनेको भएता पनि त्यसको बिल अस्पतालका मार्फत स्वास्थ्य मन्त्रालयमा जान्छ र त्यो बराबरको भुक्तानी हुन्छ।’

कोटेश्वर भाटभटेनी नजिकै रहेको डेरामा जान लाग्दा रेविकालाई गोली लागेको थियो। रेविकाको अवस्थामा केही सुधार आएसँगै हिजो आइसियुबाट क्याबिनमा सारिएको छ। रेविकाका दाइ दिनेश भने केही दिनअघि नै डिस्चार्ज भइसकेका छन्।

चैत २७, २०८१ बुधबार १९:३७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।