प्रधानमन्त्री ओलीले भने 'थाहा नपाइकन भ्रष्टाचार चलिरहेको हुन सक्छ'

प्रधानमन्त्री ओलीले भने 'थाहा नपाइकन भ्रष्टाचार चलिरहेको हुन सक्छ'

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारले सुशासनमा कुनै सम्झौता नगर्ने दाबी गरे। 

बुधवार नेपाल चेम्बर अफ कमर्शको ७४ औँ वार्षिक साधारणसभाको उद्घाटन सत्रमा प्रधानमन्त्री ओलीले देशको परिवर्तनका लागि योगदान गरेका ठुला पार्टीहरू मिलेर सरकार बनेको भन्दै आगामी निर्वाचनसम्म र त्यसपछि पनि राजनीतिक स्थिरताको यो शिलशीला कायम नै रहने दाबी गरे। 

‘आज हामीलाई सुशासन र विकास चाहिएको छ। सुशासनमा कुनै सम्झौता हुन सक्दैन तर थाहा नपाइकन भ्रष्टाचार चलिरहेको हुन सक्छ। त्यसलाई नियन्त्रण गर्न तपाईँहरूको पनि सहयोग चाहिन्छ,' उनले भने 'देश परिवर्तनका लागि योगदान गरेका ठुला पार्टीहरू मिलेर सरकार बनेको छ। यो आगामी निर्वाचनसम्म र त्यसपछि पनि यो शिलशीला कायम रहन्छ। त्यस कारण तपाईँहरू ढुक्क भएर लगानी गर्नुस्। देशको विकासका योगदान गर्नुस्।’

उनले कसैलाई गाली गलौच, बदनाम र भ्रम दिन सूचना र प्रविधिको प्रयोग गर्न नहुने बताए। बाह्य लगानी र संयुक्त लगानीलाई अझ अगाडि बढाउनुपर्ने  र हरेक क्षेत्रमा सम्भावना छ भनेर कन्भिन्स गर्न सक्नुपर्ने उनको धारणा छ। 

‘कसैलाई गाली गलौच, बदनाम र भ्रम दिन सूचना र प्रविधिको प्रयोग गर्नु हुँदैन। मानिसलाई सहजरुपमा सेवा सुविधा दिन सूचना र प्रविधिको प्रयोग हुनुपर्छ। हामीले बाह्य लगानी र संयुक्त लगानीलाई अझ अगाडि बढाउनुपर्ने हुन्छ। हरेक क्षेत्रमा सम्भावना छ भनेर तपाईँहरूले कन्भिन्स गर्न सक्नुहुन्छ’उनले भने।

ओलीले सरकारबाट आर्थिक विकासका लागि ल्याइएका अध्यादेशहरूप्रति चेम्बरजस्ता संस्थाहरूले घोचे थाप्ने काम नगरी सही र गलतका आधारमा समर्थन र विरोध गर्ने शैली प्रशंसनीय रहेको बताए।

चैत २७, २०८१ बुधबार १९:०८:४७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।