स्वास्थ्य अनुसन्धान परिषद्को ११औँ सम्मेलनमा एघार सय अनुसन्धाता सहभागी हुने

काठमाडौंः नेपाल स्वास्थ्य अनुसन्धान परिषद् (एनएचआरसी)ले ‘स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरूको ११औँ शिखर सम्मेलन गर्ने भएको छ।
बिहीबारबाट काठमाडौँमा सुरु भएर शनिवारसम्म चल्ने सो सम्मेलनमा एक हजार भन्दा बढी राष्ट्रिय र सय भन्दा बढी अन्तर्राष्ट्रियतहबाट अनुसन्धाताहरू सहभागीहरू उपस्थित हुने परिषद्ले बुधवार पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ।
भारत, चीन, बेलायत, स्वीजरल्याण्ड, जर्मनी, अमेरिकालगायतका देशका विज्ञहरूको भौतिक तथा भर्चुअल माध्यमबाट सहभागिता हुनेछन्। त्यसैगरी सम्मेलनमा ८७ वटा मौखिक र एक सय १५ वटा पोस्टर प्रस्तुत हुने परिषद्ले जनाएको छ।
सम्मेलनको मूल नारा ‘स्वास्थ्य, जलवायु र जनसंख्या परिवर्तन: दिगो र समतामूल भविष्यको लागि उत्थानशील स्वास्थ्य प्रणाली’ रहेको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले सम्मेलनको उद्घाटन गर्ने एनएचआरसिले जानकारी दिएको छ।
सम्मेलनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनुसन्धानकर्ता, संस्थागत प्रतिनिधिहरू, नीति, निर्माताहरू र विकास साझेदार निकायको उल्लेख्य सहभागिता रहने परिषद्का सदस्य सचिव डा. प्रमोद जोशीले जानकारी दिए।
स्वास्थ्य तथा जनसंख्या क्षेत्रमा अनुसन्धानलाई प्रवर्द्धन गर्ने, प्रमाणमा आधारित निर्णय प्रक्रियालाई सुदृढ बनाउनुकासाथै वैज्ञानिक अनुसन्धानकर्ता तथा नीति निर्माताबीच समन्वय र सहकार्यलाई थप मजबुत बनाउनु यो सम्मेलनको उद्देश्य रहेको परिषद्ले जनाएको छ।
सम्मेलन विशेषगरी जलवायु परिवर्तनका कारण स्वास्थ्य क्षेत्रमा उत्पन्न भएका तथा हुनसक्ने सम्भावित चुनौतीहरूजस्ता विषयमा केन्द्रित हुने परिषद्का अनुसन्धान अधिकृत डा. मेघनाथ धिमालले जानकारी दिए। त्यसैगरी सम्मेलनमा स्वास्थ्य प्रणालीको उत्थानशीलता र स्वास्थ्य सेवामा समान पहुँचको सुनिश्चितता जस्ता विषय समेटिनेछन्।
सम्मेलन स्वास्थ्य बीमा कार्यक्रम, दक्ष स्वास्थ्यकर्मी र विज्ञहरूको पलायन, जनसङ्ख्याको परिवर्तन, मानसिक रोग, सर्ने तथा नसर्ने रोग र अनुसन्धान नियमन जस्ता विषयमा केन्द्रित भएर छलफल तथा प्रस्तुतीकरण हुने परिषद्ले जानकारी दिएको छ।
चैत २७, २०८१ बुधबार १८:४१:२८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।