मानव अधिकारको हनन हुने गरी रविलाई पक्राउ गरेको भन्दै रास्वपा आयोग पुग्यो

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सभापति रवि लामिछानेलाई प्रहरीले मानव अधिकारको हनन हुने गरी पक्राउ गरेको भन्दै मानव अधिकार आयोगलाई ध्यानाकर्षण गराएको छ।
बुधवार रास्वपाका कार्यवाहक महामन्त्री कवीन्द्र बुर्लाकोटीले सामान्य प्रक्रिया पनि पूरा नगरी लामिछानेलाई प्रहरीले पक्राउ गरेको भन्दै आयोगलाई छानबिन गर्न आग्रहसहित ज्ञापनपत्र बुझाएको बताए।
‘सामान्य एउटा प्रक्रिया पनि पूरा नगरी दुई रात भए पनि सुत्छ कि भन्ने हिसाबमा राज्य संयन्त्र रातारात लागेर सामान्य जीवनमा ठुलै हलचल ल्याउने खालको काममा राज्य संयन्त्र उत्रियो,' उनले भने 'आयोगबाट छानबिन भई आवश्यक कारबाही होस् भन्ने हिसाबमा आयोगमा निवेदन दिएका हौँ।’
उनले गैरकानूनी रूपमा अनावश्यक बल प्रयोग गरी अभद्र व्यवहार र धरपकड गरी प्रचलित कानून र न्यायिक प्रक्रिया समेत अवलम्बन नगरी गैर कानुनी रूपमा उनलाई पक्राउ गरेको बताए। उच्च अदालतको आदेश नआउँदै हातहतियारसहितको प्रहरीले अघोषित रूपमा घर सिल गरिएकोमा उनले आपत्ति जनाए।
चैत २७, २०८१ बुधबार १८:०२:२२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।