राजनीतिका संशोधित आत्मकथाका पात्रहरू

राजनीतिका संशोधित आत्मकथाका पात्रहरू

नेपालको राजनीतिक रंगमञ्चमा नेताहरूका अभिव्यक्तिहरू कहिलेकाहीँ यति रोचक हुन्छन् कि त्यसमै व्यङ्ग्य, हास्य र विडम्बनाको पूरा नाटक देख्न पाइन्छ।

हालैका केही अभिव्यक्तिहरूले नेपाली राजनीतिमा कसले बढी अनुत्तरदायी बयान दिने भन्ने प्रतिस्पर्धा नै चलिरहेको सङ्केत गर्छ।

यसमा अगाडि देखिन्छन् प्रधानमन्त्री केपी शर्मा ओली, परराष्ट्रमन्त्री आरजु राणा अनि प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड।

प्रारम्भ प्रचण्डबाट गरौँ।

‘प्रचण्ड’ ले पटक पटक गर्ने दाबी हो ‘गिरिजाप्रसाद कोइरालाले नै प्रहरी चौकीमा आक्रमण गर्न दबाब दिएका थिए’।

उनले एक पटक हैन, पटक पटक यस्तो दाबी गरिरहेका छन्। तर उनको यो दाबी कोइरालाको निधनपछि सुरु भएको हो।

‘महान् जनयुद्ध’ भन्दै १० वर्षको सशस्त्र सङ्घर्षको बखान गर्ने उनी अहिले आफ्नो ‘महान्’ कामको जिम्मेवारी स्वर्गीय भएका कोइरालालाई सार्न खोजिरहेको देखिन्छ। यसले आफैंले नेतृत्व गरेको विद्रोहको इतिहास प्रचण्डलाई नै गह्रुँगो हुँदै गएझैँ देखिन्छ।

उनी त्यो भारी थमाउन काँध खोज्न थालेका छन्। अब जीवित पात्रको काँधमा चढायो भने त प्रतिरोध हुने जोखिम हुन्छ। अनि काँध पनि मृतकको खोजिरहेका छन्।

यदि गिरिजाप्रसाद कोइरालाले प्रहरी चौकी आक्रमण गर्न भनेका थिए भन्नुको अर्थ विद्रोहको पृष्ठभूमि तय गर्ने पनि गिरिजाबाबु नै थिए त?

 

यसबाट एउटा कुरा प्रस्ट हुन्छ, जब सत्तामा पुगेर आफैँलाई उल्ट्याउने खेल खेलिन्छ तब प्रचण्डजस्ता नेताहरू क्रान्तिकारी होइन कि संशोधित आत्मकथाका लेखक बन्न पुग्छन्। प्रचण्डका केही दाबीहरूले यस्तै देखाइरहेको छ।

अर्की छिन् परराष्ट्रमन्त्री आरजु। भारतको अनौपचारिक घुमघाम सकाएर स्वदेश फर्किए लगत्तै उनले ‘नेपालको गणतन्त्रलाई भारतबाट कुनै खतरा छैन’ भनिन्।

गणतन्त्रलाई संस्थागत गर्ने संविधान संविधान सभाबाट पारित गर्दागर्दै दृश्य अनि पारित भइसकेपछि आइपरेको आपत्का दृश्यहरू स्मरणबाट हराइसकेकै हो त?

पछिल्लो समय सडक परेडमै उत्रिएका ज्ञानेन्द्र शाहदेखि तीनकुनेमा भएको प्रदर्शन अनि त्यसबारे भारतीय नेताहरूको अभिव्यक्ति र चासोले पनि खतरा कताबाट छ भन्ने देखाउँदैन र!

यदि नेपालको गणतन्त्रलाई भारतबाट कुनै खतरा छैन भने कोबाट खतरा छ त? नेपालीबाट?

आरजुको दाबी सत्य नै मानौँ। त्यसो हो भने नेपाली नेताहरू किन भारतीय संस्थापनप्रति यति धेरै नतमस्तक देखिन्छन्?

एक सार्वभौमसत्ता सम्पन्न देशको प्रधानमन्त्री अर्को देशको प्रधानमन्त्रीले भेट्नै बोलाएनन् भनेर किन यति धेरै चिन्तित देखिन्छन्? प्रधानमन्त्री तहकै सम्मान दिएर औपचारिक भ्रमण गराइसक्दा पनि आरजु अनेक बहानामा किन फुत्त फुत्त भारत गइरहन्छिन्?

राजसंस्था र हिन्दु राज्यको विषयमा भारतको सत्ताधारी दल भारतीय जनता पार्टीको धारणा के हो प्रस्टै देखिँदादेखिँदै आरजु त्यसलाई संशोधन गराउने प्रयत्नमा सक्रिय देखिइन्। यसले आरजुलाई पनि यो संशोधित आत्मकथाको एक पात्र देखायो।

प्रधानमन्त्री केपी शर्मा ओलीको भनाइहरू त झन् रोचकै रोचक छन्। उनी जब बोल्छन् केही न केही रोचक बोलिहाल्छन्।

पछिल्लो समयको उनको एक भनाई उस्तै रोचक छ। उनले भने ‘मैले मात्रै देश बिगारेको हो?’ देश सुध्रिएको छ भनेर जति रट लगाए पनि अवस्थाले देखाउँछ देश ठिक ट्र्याकमा छैन। समाजमा चरम असन्तुष्टि छ। त्यसले निर्माण गरेको आक्रोशको केन्द्रमा छन् ठुला दलका ठुला नेताहरू।

अहिले प्रधानमन्त्री भएकाले ओलीले त्यो आक्रोशको मात्रा अलि बढी नै बोक्नु परिरहेको छ। अनि उनले जे भने त्यो आत्म स्वीकृति हो या व्यङ्ग्य?

झोकमै भने पनि उनले कमसेकम देश बिग्रिएको त स्विकारे नै। त्यसमा उनले देश बिगारेको दोष एक्लै बोक्न चाहेनन् र मैले मात्र हो र, अरूले पनि बिगारेका हुन् नि भन्ने सन्देश दिए।

अहिले कोठा, चोटा, सडकदेखि रंगशालासम्म ओलीविरुद्ध देखिएको आक्रोश तत्काल उत्पादन भएको हैन। यो त थुप्रँदै गएर अहिलेको अवस्थामा आइपुगेको हो।

दुई तिहाइ नजिकको सरकार हाँक्दा दलीय स्वार्थअनुसार सरकार चलाउनु, अदालतबाट असंवैधानिक प्रमाणित भए पनि पटक-पटक संसद् विघटन गराउनु, सङ्कटमा तर्कगत हैन उडन्ते कुरामा रमाउनुकै परिणाम हो अहिलेको आक्रोश।

अनि उनी भन्दैछन् ‘मलाई मात्र दोष किन?’ अर्थात् देश बिगार्नेमा उनी मात्र भागीदार हैनन्, धेरै छन्। उनी पनि आत्मकथा संशोधन गर्ने प्रयासमा लागिरहेका छन्।

समाज परिवर्तनको पक्षमा छ। परिवर्तनको प्रारम्भ भएको हेर्न चाहन्छ। युवापङतीले खोजेको पनि त्यही त हो। तर अहिले पनि नेतृत्व तहमा रहेकाहरू विकासका कोरा भाषणमा मात्र केन्द्रित छन्। ट्र्याक बदल्ने सामान्य प्रयाससम्म गरेको देखिन्न।

एउटा महानगर तीन महिनादेखि कार्यकारी कर्मचारीहीन हुन्छ। प्रधानमन्त्री सार्वजनिक मञ्चबाट जङ्गिँदै सोध्छन् ‘मैले हाजिर गर्न नदेको हो?’

मञ्चमा बेलुन पड्किएर नेताको गाला डढेको घटनाबारे अनुसन्धान गर्न तत्काल छानबिन समिति गठन हुन्छ। तर दुई जनाको ज्यान जानेगरि भएको विरोध प्रदर्शनबारे सत्ताधारी भन्छन् ‘छानबिन गर्न आवश्यकै छैन।’ अर्थात जनताको ज्यान भन्दा नेताको गाला प्यारो छ सत्तालाई। अनि आक्रोश नबढाए के बढ्छ?

‘घुस खान्न र खान पनि दिन्न’ भन्छन् प्रधानमन्त्री। व्यवहारमा घुस नदिई एउटा सामान्य टिप्पणी पनि उठ्दैन।

महत्त्वपूर्ण स्थानमा हुने नियुक्तिमा सिधै मोलमोलाइ देखिन्छ। तै पनि प्रधानमन्त्री नै भनिदिन्छन् ‘देश मैले बिगारेको हो र!’

यसको नतिजा आक्रोशै त हो। त्यसैले त समाज आक्रोशित छ नेतृत्वसँग। उकुसमुकुस भएका छन्। त्यसैले ती जहाँ मौका पाउँछन् त्यो उकुसमुकुस पोखिहाल्छन्।

अनि केपी ओली कपमै सहभागी भएर ओलीविरुद्धको उकुसमुकुस पोख्छन् ‘……देश छोड,……मुर्दावाद भन्दै।

चैत २७, २०८१ बुधबार १६:०७:१४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।