शिक्षकका माग सम्बोधन गर्न झलनाथ खनालको माग, नभए सरकारविरुद्ध जनआन्दोलन गर्ने चेतावनी

शिक्षकका माग सम्बोधन गर्न झलनाथ खनालको माग, नभए सरकारविरुद्ध जनआन्दोलन गर्ने चेतावनी

काठमाडौं : पूर्वप्रधानमन्त्री एवं एकीकृत समाजवादीका नेता झलनाथ खनालले शिक्षकका माग सम्बोधन नगरे सरकारका विरुद्ध अझ फराकिलो दायराबाट जनआन्दोलन हुने बताएका छन्।

बुधबार एक विज्ञप्ति निकालेर खनालले काठमाडौंकेन्द्रीत आन्दोलनमा उत्रिएका शिक्षकहरूको नयाँ शिक्षा ऐन अबिलम्ब ल्याउनुपर्ने माग तत्काल सम्बोधन गर्न सरकारसँग माग गरेका हुन्।

उनले विज्ञप्तिमा भनेका छन्, ‘सरकारले शिक्षकहरूका मागहरू सम्बोधन नगरेको खण्डमा सरकारका विरुद्ध अझ फराकिलो दायराबाट जनआन्दोलन उठ्ने कुराको चेतावनी दिन चाहन्छु।’

सरकारले शिक्षकहरूको आन्दोलनलाई बेवास्ता गरिरहेको भन्दै उनले शिक्षकहरूको जायज र न्यायपूर्ण आन्दोलनप्रति समर्थन र ऐक्यबद्धता जनाएका छन्। सरकारले शिक्षकहरूका मागलाई सम्बोधन गरेर अघि बढ्नुपर्नेमा बेवास्ता गरेको देख्दा आश्चर्यचकित परेको बताए।

उनले सरकारसँग शिक्षा ऐन ल्याउने कुराको ग्यारेन्टी गर्न, शैक्षिक क्षेत्रका सम्पूर्ण समस्याहरू समाधान गर्न र शिक्षकहरूलाई अभिलम्ब आ-आफ्ना विद्यालयमा फर्केर नियमित पठनपाठनमा संलग्न हुने सहज वातावरण तयार पार्न माग गरेका छन्।

चैत २७, २०८१ बुधबार १३:३७:५२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।