‘वसन्त’ हेरेपछि छविको सुझाव- ‘प्रकाशजीले निर्देशन नगरेको भए हुन्थ्यो, सिनेमा म्युजिक भिडियो जस्तो हुन्न नि!’

‘वसन्त’ हेरेपछि छविको सुझाव- ‘प्रकाशजीले निर्देशन नगरेको भए हुन्थ्यो, सिनेमा म्युजिक भिडियो जस्तो हुन्न नि!’

काठमाडौं : प्रकाश सपुतको फिल्म ‘वसन्त’ हेरेपछि निर्माता छविराज ओझाले निर्देशन नगरेको भए फिल्म राम्रो बन्ने बताएका छन्। सोमबार दिउँसो फिल्म हेर्न हलमा पुगेका उनले ‘वसन्त’का लेखक, निर्देशक तथा अभिनेता समेत रहेका सपुतलाई यस्तो सुझाव दिएका हुन्।

‘मलाई लागेको कुरा के हो भने प्रकाशजीले राम्रो लेख्नुहुन्छ, अभिनय राम्रो गर्नुहुन्छ। सबै कुरा राम्रो गर्नुभएको छ,’ उनले भने, ‘यसमा उहाँले डाइरेक्सन नगरेको भए हुन्थ्यो भन्ने मलाई लागेको छ। सिनेमा हेरेर भएको कुरा बोलेको हो।’

सपुतले सबै विधामा आफैँले गर्न खोज्दो धेरै कुरा चिप्लिएको उनको भनाइ छ।

उनले थपे, ‘साउण्ड, मिक्सिङहरू उत्कृष्ट छैन। अलिकति डाइलगहरू बुझिएको छैन। फिल्म २० मिनेट कम भएको भए अलिक मजा आउँथ्यो। सबै कुरा हेर्दाखेरि नभ्याएको होकी जस्तो देखियो। अर्को निर्देशक भइदिएको भए राम्रो हुन्थ्यो।’

फिल्म निर्माण भनेको ६/७ मिनेटको म्युजिक भिडियो बनाएको जस्तो नभएको भन्दै उनले अर्को निर्देशक भइदिएको भए लेखाइमा भएका कमजोरी पनि सच्चिने बताए।

‘६/७ मिनेटको म्युजिक भिडियो र गीतहरु बनाएर हालिरहेको मान्छे, यो अढाई घण्टाको फिल्म हो,’ उनले अगाडि थपे, ‘अर्को निर्देशक भएको भए लेख्ने कुरामा पनि कसैले सच्याइदिन्थ्यो होला। अझै राम्रो सिन बन्थ्यो। सिनेमा म्युजिक भिडियो जस्तो हुन्न नि!’

आफैँ लेखेको फिल्मलाई सपुतले आफैँले निर्देशन गरेका छन्। मुख्य सहायक निर्देशनको जिम्मा भाइ सुनिल विकलाई दिएका छन्। फिल्ममा प्रकाशका अलवा स्वस्तिमा खड्का, प्रभात पाल ठकुरी, खड्ग बहादुर पुन (खबपु), श्री शिभांसी लगायतले अभिनय गरेका छन्।

चैत २७, २०८१ बुधबार १३:०२:०५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।