रवि लामिछाने पक्राउको क्रममा ज्यादती भएको भन्दै मानव अधिकार आयोगमा रास्वपाको उजुरी

रवि लामिछाने पक्राउको क्रममा ज्यादती भएको भन्दै मानव अधिकार आयोगमा रास्वपाको उजुरी

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो सभापति रवि लामिछाने पक्राउको क्रममा मानव अधिकार उल्लंघन गरेको भन्दै राष्ट्रिय मानव अधिकार आयोगमा उजुरी दिएको छ।

बुधबार दलका कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीसहितको टोलीले आयोगमा पुगेर लामिछानेलाई पक्राउ गर्ने क्रममा प्रहरीले कानूनी प्रक्रिया पूरा नगरेको र ज्यादती गरेको आरोप लगाएका छन्।

ध्यानाकर्षण पत्र बुझ्दै आयोगका पदाधिकारीले आवश्यक छानबिन गर्ने प्रतिबद्धता जनाएको कार्यवाहक महामन्त्री बुर्लाकोटीले जानकारी दिए।

सहकारीको रकम ठगेको कसुरमा चैत २२ गते शुक्रबार उच्च अदालत तुलसीपुरको बुटवल इजलासले लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश गरेको थियो।

जिल्ला अदालत रुपन्देहीले एक करोड धरौटीमा छाड्न दिएको आदेश बदर गर्दै उच्चले पुर्पक्षमा पठाउन आदेश दिएपछि सोही दिन राति प्रक्रिया पूरा नगरी लामिछानेलाई प्रहरीले काठमाडौंस्थित निवासबाटै पक्राउ गरेको थियो।

भोलिपल्ट शनिबारको सार्वजनिक बिदा भएकाले दुई रात हिरासतमा राखेर २३ गते मात्रै उनलाई भैरहवा कारागार चलान गरिएको थियो।

चैत २७, २०८१ बुधबार १२:३६:२७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।