जारी आईपीएलमा चेन्नईले चौथो हार, पञ्जाब १८ रनले विजयी

जारी आईपीएलमा चेन्नईले चौथो हार, पञ्जाब १८ रनले विजयी

काठमाडौं : पन्जाब किंग्सले इन्डियन प्रिमियर लिग आइपिएलमा आज चेन्नई सुपर किंग्सलाई १८ रनले पराजित गरेको छ। 

२ सय २० रनको लक्ष्य पछ्याएको चेन्नईले ५ विकेट गुमाएर २ सय १ रन बनाउन सक्यो। रचिन रविन्द्र र डेभन कन्वेले चेन्नईलाई बलियो सुरुवात दिलाए पनि त्यसपछिका सम्हालिन नसक्दा चेन्नईले चौथो हार बेहोरेको हो।

शिवम् दुवे र महेन्द्र सिंह धोनीले इनिङलाई सम्हाले कोसिस गरे पनि त्यो पर्याप्त भएन। रविन्द्र र कन्वेले पहिलो विकेटका ६१ रनको साझेदारी गरे। रविन्द्रले ३६ रन र कन्वेले अर्धशतक बनाए। दुवेले ४२ र धोनीले २७ रन जोडे।

पन्जाबका लोकी फर्गुसनले २ , यश ठाकुर र ग्लेन म्याक्सवेलले समान १ विकेट लिए।

महाराजा यादविन्द्र सिंह अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा त्यस अघि टस जितेर पहिले ब्याटिङ गरेको पन्जाबले प्रियांन्स आर्याको‌ शतकसँगै २० ओभरमा ६ विकेट गुमाउँदै २ सय १९ रन बनायो।

ओपनर प्रियांन्सले कीर्तिमानी रन जोडे‌। पहिलो पावर प्लेको समाप्तिमा पन्जाबले ७५ रन बनाएपनि ३ विकेट गुमाइसकेको थियो।

दोस्रो देखि छैटौं क्रमका ५ ब्याटरले दोहोरो रन छुन सकेनन्। ८३ रन जोड्दा ५ विवेट झरिसकेको थियो। प्रियान्स एक्लै क्रिजमा टिके र विष्फोटक ब्याटिङ गरे।

प्रियान्सले ३९ बलमा नै शतक बनाउने क्रममा ७ चौका र ९ छक्का प्रहार गरे। 

प्रियान्स यो सिजन शतक बनाउने दोस्रो ब्याटर हुन्। यसअघि सनराइजर्स हैदराबादका ईशान किशनले शतक बनाएका थिए।

प्रियान्स ४२ बलबाट १ सय ३ रनको इनिङ्स खेल्दै नुर अहमदको बलमा आउट भए। त्यसपछि शशांक सिंह र मार्को जोन्सनले सातौं विकेटको लागि ६५ रनको अविजित साझेदारी गरे।

शशांकले अर्धशतक बनाए। उनले ३६ बलमा अविजित ५२ र मार्कोले अविजित ३४ रन बटुले। बलिङमा चेन्नईका खालिद अहमद र रविचन्द्र आश्विनले समान २ विकेट लिए।

४ खेलमा ६ अंकसहित पन्जाब चौथो स्थानमा छ। ५ खेलमा २ अंकसहित चेन्नई नवौ स्थानमा छ।

मंगलबार भएको पहिलो खेलमा लखनउ सुपर जाइन्ट्सले कोलकाता नाइट राइडर्सलाई ४ रनले हराएको थियो। ५ खेलमा ६ अंकसहित लखनउ पाचौं र ४ अंकसहित कोलकाता छैटौं स्थानमा छ।

चैत २७, २०८१ बुधबार ०८:०२:२६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।