सावित्रीको कृषि कर्म, वार्षिक १२ लाख आम्दानी, बिदेसिएका श्रीमान् सघाउन फर्किए

सावित्रीको कृषि कर्म, वार्षिक १२ लाख आम्दानी, बिदेसिएका श्रीमान् सघाउन फर्किए

पर्वत : जलजला गाउँपालिका–८ फर्सेकी सावित्री खत्री ११ वर्षदेखि व्यावसायिक कृषि खेतीमा सक्रिय छिन्। उनले च्याउ र तरकारी खेतीबाट बर्सेनि १२ लाखभन्दा बढी आम्दानी गर्ने गरेकी छिन्।

उनले यस वर्ष उच्च प्रविधिको टनेल थपेर बाह्रै महिना च्याउ खेती सुरु गरेकी छिन्। वातानुकूलित टनेलमा जाडो तथा गर्मी दुवै याममा च्याउ उत्पादन हुने उनले बताइन्।

चारवटा गुम्बज टनेलमा कन्ये र गोब्रे च्याउ खेती उत्पादन गर्ने गरेकी उनले छिमेकी जिल्ला बागलुङ, म्याग्दी र पर्वतको कुस्मा बजारमा विक्रीका लागि पठाउँछिन्। यस वर्ष च्याउबाट मात्रै सात लाखभन्दा बढी आम्दानी भएको उनले बताइन्।

‘च्याउ खेतीबाट हुने आम्दानीबाट सन्तुष्ट छु, उत्पादित च्याउको बिक्रीका लागि कुनै समस्या छैन,’ कृषक खत्रीले भनिन्। गोब्रे च्याउको प्रतिकिलो पाँच सय र कन्येलाई दुई सयमा बिक्री गर्ने गरेका उनले गोब्रे च्याउबाट मात्र पाँच लाख र कन्ये च्याउबाट दुई लाख आम्दानी गरेको बताइन्।

कच्चापदार्थसहितका सामग्रीसमेत तयार गर्न सक्रिय रहेकी उनले सात रोपनी जमिनमा उत्पादन हुने अन्य तरकारीबाट पाँच लाख आम्दानी गरेको बताइन्। उनले च्याउबाहेक मौसमअनुसार काँक्रो, घिरौँला, बोडी, सिमी, करेला, भन्टा, खुर्सानी, धनियाँ, गाजरलगायतका तरकारी उत्पादन गर्दै आएकी छिन्।

तीन वटै जिल्लाका सदरमुकाम नजिकै रहेको र कालीगण्डकी कोरिडोरअन्तर्गत मालढुङ्गा–बेनी सडक नजिकै रहेकाले उत्पादित च्याउ र तरकारी बजारीकरणमा समस्या नरहेको उनले सुनाइन्।

उनको श्रीमान् वैदेशिक रोजगारीबाट फर्किएका छन्। श्रीमान् भीमबहादुर केसीले च्याउ र अन्य तरकारी खेतीको उत्पादन तथा बजारीकरणमा सघाउँछन् अहिले।

खेती गर्नलाई धेरै ठूलो ठाउँ, समय पनि नचाहिने र बेच्नलाई सजिलो भएकाले श्रीमान् विदेश नगई सघाउन थालेको उनले बताइन्।

चैत २६, २०८१ मंगलबार २०:४६:१२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।