चितवनमा २ सय ७९ उद्योग बन्द, २ सय ७३ नयाँ खुले

चितवन : उद्योग तथा वाणिज्य कार्यालय चितवनमा दर्ता भएका उद्योगमध्ये २ सय ७९ बन्द भएका छन्। चालु आर्थिक वर्षको साउनदेखि यता जिल्लाका विभिन्न स्थानमा दर्ता भएका ती उद्योग बन्द (लगत कट्टा) गरिएको हो। गत वर्ष सोही अवधिमा १ सय ८१ उद्योग बन्द भएका थिए।
कार्यालयका सूचना अधिकारी शक्तिमान कुमालका अनुसार वैदेशिक प्रयोजनका लागि दर्ता गरिएका अधिकांश उद्योग बन्द भएका हुन्। कतिपय सञ्चालन हुन नसकेर पनि बन्द भएका छन्।
उत्पादनमूलक, कृषि तथा वनजन्य, पर्यटनमूलक र सेवामूलक उद्योग बन्द भएका हुन्। वैदेशिक रोजगारीका लागि कम्पनी दर्ता गरेर आयआर्जन देखाउने र प्रयोजन सकिएपछि कम्पनी बन्द गर्न आउनेको सङ्ख्या बढ्दो रहेको उनले बताए। उद्योग सञ्चालन गर्ने तर यहाँ आम्दानी नभएपछि विदेश जानका लागि बन्द गर्नेहरूको सङ्ख्या उच्च रहेको उनले बताए।
यस वर्ष २ सय ७३ नयाँ उद्योग दर्ता भएका छन्। निजी फर्ममा २ सय ६२, सामुदायिक फर्ममा सात र प्राइभेट लिमिटेडमा चार उद्योग दर्ता भएको उनले जानकारी दिए। गत वर्ष सोही अवधिमा ३ सय २९ उद्योग दर्ता भएका थिए।
-रासस
चैत २६, २०८१ मंगलबार २०:३५:३५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।