गोली हानेर हत्यापछि भागेका लोकनाथ भारतको रामजानकी मन्दिरका पुजारी

गोली हानेर हत्यापछि भागेका लोकनाथ भारतको रामजानकी मन्दिरका पुजारी

काठमाडौँ : जग्गा विवादमा गोली हानेर हत्या गरेर फरार भएका लोकनाथ साह तेली १७ वर्षपछि पक्राउ परे। उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरेर नेपाल ल्याएको हो।

२०६४ साल वैशाख २५ मा पर्साको साबिक बहुअर्वाभाठा गाविसका ढोडा मुखिया विनलाई जग्गा सम्बन्धी विवादमा छलफल गर्ने बहानामा बोलाई गोली हानेर हत्या गरेको अभियोगमा सर्वोच्चले जन्मकैद सुनाएको थियो। तर उनी घटना लगत्तै फरार रहेकाले पक्राउ परेनन्।

सर्वोच्चले २०६९ कार्तिक २४ गते साह तेलीलाई मुलुकी ऐन, ज्यान सम्बन्धी महलको १३(१) बमोजिम सर्वस्व सहित जन्म कैदको सजाय तोकेको थियो।

उनी फरार भएर भारत पुगेका थिए। प्रहरीले १७ वर्षपछि उनी भारतको चम्पारण पिपरियामा रहेको रामजानकी मन्दिरको पुजारी रहेको खुलेपछि पक्राउ गरेको हो। उनी १० वर्षदेखि सो मन्दिरको पुजारी रहेको खुलेको छ। उनी साधुको भेषमा थिए।

प्रहरीले साह तेलीलाई २०८१ चैत २५ मा पर्साको वीरगन्जबाट पक्राउ गरेको दाबी गरेको छ। पक्राउपछि उनलाई फैसला कार्यान्वयनको लागि चैत २६ गते पर्सा जिल्ला अदालतमा बुझाएको छ।

चैत २६, २०८१ मंगलबार १९:५६:२७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।