आन्दोलनमा रहेका शिक्षकहरूलाई वार्तामा आउन सरकारको अनुरोध

काठमाडौँ : सरकारले आन्दोलनरत शिक्षकलाई वार्तामा बोलाएको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले नेपाल शिक्षक महासङ्घलाई बुधवार वार्ताका लागि मन्त्रालयमा बोलाएको हो।
मन्त्रालयका प्रवक्ता एवं सहसचिव शिवकुमार सापकोटाले विज्ञप्ति जारी गर्दै आन्दोलनरत सबै शिक्षक कर्मचारीको प्रतिनिधित्व हुने गरी महासङ्घलाई वार्ता र संवादका लागि आह्वान गरेका छन्। वार्ताको समय आपसी सल्लाहअनुसार तय गरिने विज्ञप्तिमा उल्लेख छ।
विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०८० यथाशीघ्र पारित गराउन दबाब दिन नेपाल शिक्षक महासङ्घको आह्वानमा शिक्षकहरूको आन्दोलनमा छन्। मन्त्रालयले साझा धारणा निर्माणका लागि आन्दोलनरत शिक्षकहरूसँग चैत २१ र २२ गते छलफल र परामर्शका लागि आह्वान गरेको थियो। तर उक्त छलफल तथा परामर्श भने हुन सकेको थिएन।
चैत २६, २०८१ मंगलबार १९:४५:०३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।