ओलीको दाबी : एमालेसँग देश र जनताको हितबाहेक अरू स्वार्थ छैन

सिरहा : प्रधानमन्त्री केपी शर्मा ओलीले एमाले जनताको जरासम्म फैलिएको पार्टी भएकाले कसैले हल्लाउन नसक्ने दाबी गरे। एमाले सिरहा जिल्लाको ११ औँ अधिवेशनको उद्घाटन सत्रमा बोल्दै उनले एमालेसँग देश र जनताको हितबाहेक अरू स्वार्थ नभएको दाबी गरे।
उनले एमाले देश जोगाउने पार्टी भएकाले आम कार्यकर्ता र शुभेच्छुकहरू एमाले विरोधी भुलभुलैयामा नलाग्न आग्रह गरेका थिए।
‘हाम्रो पार्टीलाई कसैले भित्तामा राख्छौँ भने, कसैले धुलो चटाउँछौँ भने, कसैले के भने तर एमालेलाई कसैले हल्लाउन सक्दैन भन्ने कुरा हामीप्रति जनताको उत्साहबाट स्पष्ट हुन्छ,’ उनले दाबी गरे ‘मैले विगतमा प्रधानमन्त्री हुँदा सुनकोसी मरिन डाइभर्सन, हुलाकी राजमार्ग, शिक्षा र स्वास्थ्यमा सुधारका कार्यक्रम सुरु गरेँ। मधेसका समस्याहरू मलाई बढी थाहा छ। तिनको समाधानका लागि केन्द्र सरकारको तर्फबाट गर्नुपर्ने कुराहरूमा सरकार प्रतिबद्ध छ।’
उनले राजतन्त्र फर्काउने कसैको सपना पूरा नहुने र चैत १५ गतेको अराजक गतिविधिबाट राजतन्त्र पक्षधरको वास्तविकता देखिसकिएकाले आगजनी र तोडफोड गर्ने मान्छेहरूका हातमा शासन नजाने र दिन नहुने बताए।
एमाले र काँग्रेसजस्ता पुराना र ठुला पार्टीको सरकारले संविधान र व्यवस्थाको रक्षा गर्दै जनतालाई समृद्धि र सुशासन दिएर छाड्ने उनले दाबी गरे।
‘यो सरकार चुनावसम्म टसमस हुँदैन। अबको १५ महिनापछि नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई म हस्तान्तरण गर्छु,’ उनले भने ‘सरकार अहिले ढल्छ, भरे ढल्छ भन्नेहरू अब थाके। यो मजबुत सरकार हो।’
चैत २६, २०८१ मंगलबार १९:३०:०२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।