रवीन्द्र मिश्र सहित २० जनाको हिरासत अवधि १५ दिन बढ्यो

रवीन्द्र मिश्र सहित २० जनाको हिरासत अवधि १५ दिन बढ्यो

काठमाडौं : तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनमा पक्राउ परेका रवीन्द्र मिश्र सहित २० जनालाई थप १५ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ। मंगलबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश विष्णुप्रसाद उपाध्यायको इजलासले राज्यविरुद्धको कसुरमा अनुसन्धान गर्न १५ दिन म्याद थप गरेका हुन्।

चैत १५ मा तीनकुनेमा आयोजित राजावादीहरूको प्रदर्शन हिंसात्मक भएपछि प्रहरीले मिश्रसहित पक्राउ परेका थिए। मिश्रसँगै सांसद धवलशम्शेर राणा, गोपाल मल्ल, गोपीकृष्ण खड्का, सन्तोष चौधरी, रामकुमार धिमाल, पशुपति खड्का, हरिहर चौलागाई, विष्णु पराजुली, पुष्कर खतिवडा, मुनिन्द्रराज भण्डारी, कुमार बस्नेत, अनिलकुमार थापा, तारानाथ बोहरा, दानबहादुर न्यौपाने, उमेश तामाङ, भानुभक्त पौडेल, विष्णुजंग बस्नेत, देवीप्रसाद संग्रौला र प्रेम थापा मगरमाथि प्रहरीले राज्यविरुद्धको कसुरको अभियोग लगाएको छ।

अन्य ५३ जनामाथि आपराधिक उपद्रव र संगठित अपराध कसुरमा प्रहरीले अनुसन्धान गरिरहेको छ। मंगलबार उनीहरूलाई थप २० दिन न्यायिक हिरासतमा राख्न अदालतले अनुमति दिएको छ।

चैत १५ को विरोध प्रदर्शनमा पत्रकार सुरेश रजक र सबिन महर्जनको मृत्यु भएको थियो। २० जना गोली लागेर घाइते भएका थिए।

चैत २६, २०८१ मंगलबार १९:१८:४९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।