मन्त्रिपरिषद्का १३ वटा निर्णय : नागरिक एप निर्देशिका खारेजदेखि मन्त्रीका भ्रमण स्वीकृतसम्म

मन्त्रिपरिषद्का १३ वटा निर्णय : नागरिक एप निर्देशिका खारेजदेखि मन्त्रीका भ्रमण स्वीकृतसम्म

काठमाडौँ : सरकारले नागरिक एप (सञ्चालन तथा व्यवस्थापन) निर्देशिका, २०७८ खारेज गर्ने निर्णय गरेको छ।  चैत २५ को मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले निर्देशिका खारेजीको निर्णय जानकारी दिए।

बैठकले १३ वटा निर्णय गरेकोमा अधिकांश विदेश भ्रमण स्वीकृति सम्बन्धी छन्। . बौद्धनाथ क्षेत्र विकास समितिको रिक्त कार्यकारी निर्देशक पदमा मोहनकुमार तामाङ, ललितपुरलाई नियुक्त गर्ने, . गृह मन्त्रालय तथा मातहतका निकायहरूको सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण गर्न पूर्वस्वीकृति प्रदान गर्ने लगायतका निर्णयहरू भएका छन्।

निर्णयहरू

१. नेपाल-भारत भन्सार महानिर्देशकस्तरीय वार्ताका लागि भन्सार विभागका महानिर्देशकको संयोजकत्वमा वार्ता टोली गठन गर्ने र वार्ता गर्न अख्तियारी प्रदान गर्ने। यो वार्ता चैत २८ र २९ गते काठमाडौँमा हुनेछ।

२. वरिष्ठ पत्रकार तथा लेखक भैरव रिसालको निधनमा सरकारले गहिरो शोक प्रकट गर्दै भावपूर्ण श्रद्धाञ्जली व्यक्त गरेको छ।

३. २०८२ वैशाख २६ र २७ गते भुटानको थिम्पुमा आयोजना हुने १८ औँ दक्षिण एसिया पावर सेक्रेटरिज राउन्डटेबल कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव (ऊर्जा) लाई सहभागी हुन स्वीकृति प्रदान गर्ने।

४. ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालय अन्तर्गत कार्यरत सहसचिव (प्रा.) राजेन्द्र प्रसाद शर्माको राजीनामा स्वीकृत गर्ने।

५. गृह मन्त्रालय तथा मातहतका निकायहरूको सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण गर्न पूर्वस्वीकृति प्रदान गर्ने।

६. नेपाली सेना अन्तर्गत एक जनालाई महासेनानीबाट सहायक रथी दर्जामा बढुवा गर्ने, एक जनालाई सहायक रथीबाट उपरथी दर्जामा बढुवा गर्ने र एक जना उपरथीको वैदेशिक भ्रमण स्वीकृत गर्ने।

७. रातो मच्छिन्द्रनाथको रथयात्रा (भोटो देखाउने जात्रा) र मीननाथ रथयात्राका लागि ६६५.९७ क्यु. फिट काठ गुठी संस्थानलाई उपलब्ध गराउने र उक्त वन पैदावारको हुन आउने राजश्व रोयल्टी मिनाहा गर्ने।

८. २०८२ जेठ ४ देखि ७ गतेसम्म बेलायतको लन्डनमा हुने एजुकेसन वर्ल्ड फोरम २०२५ मा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईलाई सहभागी हुन स्वीकृति दिने।

९. बौद्धनाथ क्षेत्र विकास समितिको रिक्त कार्यकारी निर्देशक पदमा मोहनकुमार तामाङ, ललितपुरलाई नियुक्त गर्ने।

१०. भागेश्वर गाउँपालिका, डडेलधुराको केन्द्र वडा नं. ४ बगरकोटबाट परिवर्तन गरी वडा नं. ४ टप्वा कायम गर्ने र सोको सूचना नेपाल राजपत्रमा प्रकाशन गर्ने।

११. नागरिक एप (सञ्चालन तथा व्यवस्थापन) निर्देशिका, २०७८ खारेज गर्ने।

१२. २०८२ जेठ १५ देखि १७ गतेसम्म जापानको राजधानी टोकियोमा आयोजना हुने एपिटी (एसिया प्यासिफिक टेलिकम्युनिटी) मन्त्रिस्तरीय बैठकमा सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङलाई सहभागी हुन स्वीकृति दिने।

१३. वैकल्पिक वित्त परिचालनका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक संघीय सांसदसमक्ष पेस गर्न स्वीकृति दिने।

चैत २६, २०८१ मंगलबार १८:४५:३९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।