एनपिएलका विजेता टिमले पाएनन् पुरस्कार रकम, फ्रेन्चाइज टिमलाई दिइएन आम्दानी र खर्चको विवरण

एनपिएलका विजेता टिमले पाएनन् पुरस्कार रकम, फ्रेन्चाइज टिमलाई दिइएन आम्दानी र खर्चको विवरण

काठमाडौँ : प्रतियोगिता सकिएको तीन महिना कट्दा पनि क्रिकेट एसोसिएसन अफ नेपाल (क्यान) ले नेपाल प्रिमियर लिगको विजेता टिमलाई पुरस्कार रकम दिएको छैन।

क्यानले मंसिर १५ देखी पुस ६ सम्म एनपिएलको आयोजना गरेको थियो। क्यानले लिगका विजेतादेखि चौथो हुने टिमसम्मलाई पुरस्कार रकम घोषणा गरेको थियो।

लिगको पहिलो सिरिज जनकपुर बोल्ट्सले जित्यो। उसले १ करोड १० लाख रुपैयाँ पाउनु पर्ने हो। दोस्रोमा सुदूरपश्चिम रोयल्सले ५१ लाख रुपैयाँ, तेस्रोमा कर्णाली याक्सले २५ लाख रुपैयाँ र चौथो हुने चितवन राइनोजले १५ लाख रुपैयाँ पाउनु पर्ने हो। तर क्यानले कुनै पनि टिमलाई पुरस्कार रकम दिएको छैन।

तीन महिनासम्म किन पुरस्कार रकम नदिएको ?

क्यानका प्रवक्ता छुम्बी लामा अबको १ महिनाभित्रमा रकम उपलब्ध गराउने तयारी गरिएको दाबी गरे।

‘हामीले बोर्ड मिटिङमा कुरा राखेका छौँ। २ पटकसम्म मिटिङ बसेको थियो। केही टिमले दिनुपर्ने रकम नदिएकोले भुक्तानी नभएको हो। अबको १ महिनामा सबै रकम भुक्तानी हुन्छ’ उनले भने।

कर्णाली याक्सका सह-मालिक गृहेन्द्र घिमिरेले क्यानलाई बुझाउनुपर्ने सम्पूर्ण रकम बुझाए पनि हालसम्म क्यानबाट पैसा नआएको बताए।

‘उहाँहरूले काम गरिराख्नु भएको होला। तर क्यानबाट रकम भने आएको छैन’ उनले भने।

फ्रेन्चाइज टिमलाई दिएन आम्दानी-खर्च विवरण

लिगमा सहभागी आठ टिमसँग क्यानले गरेको सम्झौता अनुसार लिगमा विज्ञापन र टिकटबाट उठेको ५० प्रतिशत रकम टिमलाई दिने उल्लेख छ।

लिगमा सहभागी हुने कम्पनीहरूले पोखरा एभेन्जर्स ३ करोड ५७ लाख, काठमाडौं ३ करोड ३३ लाख ३३ हजार, जनकपुर २ करोड ५ लाख, लुम्बिनी १ करोड ८६ लाख, चितवन १ करोड ७६ लाख, सुदूरपश्चिम १ करोड ६८ लाख ८८ हजार, विराटनगर १ करोड ५१ लाख र कर्णाली याक्स १ करोड ११ लाख ७० हजारमा रुपैयाँमा टिम किनेका थिए।

यो रकम टिमलाई बाँड्नु पर्दैन। तर लिगमा हुने अन्य आम्दानीको ५० प्रतिशत क्यानले लिने र ५० प्रतिशत आठ टिमलाई बाँड्ने सहमति पत्रमा देखिन्छ।

तर क्यानले अहिलेसम्म पनि फ्रेन्चाइज टिमका व्यवस्थापकहरूलाई लिगमा कति रकम उठ्यो र कति खर्च भयो भन्ने विवरण बुझाएको छैन। यो बिचमा एक पटक एनपिएल आयोजक समितिले फ्रेन्चाइज टिमका सदस्यहरूसँग छलफल गरेर मार्चमा आम्दानी र खर्च विवरणसँगै पैसा समेत दिने दाबी गरेको थियो। तर अझैँ विवरण दिएको छैन।

एक टिमका सदस्यका अनुसार अनौपचारिक रूपमा लिग आयोजक समितिका प्रमुख पारस खड्काले एउटा टोलीको भागमा एक करोड रुपैयाँसम्म आउने दाबी गरेका छन्।

छानबिन गर्दै परिषद्

एनपिएलमा गैर कानुनी काम भएको भन्दै छानबिन गर्न राष्ट्रिय खेलकुद परिषद्ले छानबिन समिति नै गठन गरिसकेको छ।

एनपिएलमा अवैध रूपमा विदेशी कम्पनीलाई नेपाल ल्याउनेदेखि अपारदर्शी कारोबारसम्मको अध्ययनका लागि परिषद्ले परिषद् सदस्य अञ्जन धमलाको संयोजकत्वमा चैत २० गते छानबिन समिति गठन गरेको थियो। सारङ्गी निरौला र कमल दाहाल रहेको समितिलाई १५ दिनको समय दिइएको छ।

एनपिएल दोस्रो सिजन अन्योलमा

अपारदर्शी कारोबार, अवैध रूपमा विदेशी कम्पनीसँग सम्झौता र खेल मैदानबाट अनलाइन जुवा खेलाउने कम्पनीको सरोगेट विज्ञापन लगायतका गतिविधिले एनपिएल पहिलो सिजन विवादमा तानियो। तर जसोतसो सम्पन्न भयो।

तर कानुनी विवादका कारण दोस्रो सिजन भने अन्योलमा छ। नेपाल प्रिमियर लिगको नामबारे काठमाडौं जिल्ला अदालतमा परेको रिटमा माघ २४ मा जिल्ला अदालत काठमाडौँले जोरा स्पोर्ट्स इन्टरटेन्मेन्ट प्रालिसँगको करार सर्त विपरीतको काम कारबाही नगर्न, नगराउन क्यानलाई अल्पकालीन अन्तरिम आदेश दिइसकेको छ।

एनपिएलको बारे जिल्ला अदालतमा रहेको मुद्दा विचाराधीनै छ। सो मुद्दा टुंगो नलगी क्यानले एनपिएलकै नाममा दोस्रो सिरिज सुरु गर्न सक्दैन।

कति आम्दानी गरेको थियो क्यानले?

एनपिएल आयोजना गरेको क्यानले यति नै रकम उठेको वा खर्च भएको विवरण सार्वजनिक भएको छैन। तर एनपिएल आयोजना हुँदा केही शीर्षकका आम्दानी र खर्च विवरण भने सार्वजनिक भएको थियो।

एनपिएल आयोजना सुरु हुनु अगावै फ्रेन्चाइज टिम विक्री गरेबापत १६ करोड ८८ लाख ९३ हजार २ सय ३१ रुपैयाँ उठाएको थियो। ब्रान्ड लजिकलाई ५ करोड ९२ लाख रुपैयाँमा कमर्शियल राइट्स बेचेको थियो।

क्यानले प्रायोजकको रूपमा सिद्धार्थ बैँकसँग सम्झौता गरे पनि आधिकारिक रूपमा रकम खुलेको छैन। क्यान अध्यक्ष चतुरबहादुर चन्दले लिग चलिरहेकै बेलामा ३ करोड रुपैयाँको सम्झौता भएको दाबी गरेका थिए।

मैदान र बाउन्डी नजिक राखेको प्रचारबाट क्यानले २० प्रतिशत प्रायोजक बोर्ड राखेको थियो।

क्यानको प्रारम्भिक अनुमान अनुसार प्रतियोगिताभर १ लाख ३५ हजार भन्दा बढीले प्रतियोगिता हेर्ने अनुमान गरेको थियो। सोही अनुमान अनुसार टिकेट बापत करिब ४ करोड रकम उठेको क्यानले दाबी गरेको थियो।

कार्यक्रम अवधिभर युट्युबमा प्रत्यक्ष प्रसारण गरेकोमा एक्सन स्पोर्ट्समा फाइनल खेलमात्रै ३७ लाखभन्दा बढीले हेरेका थिए। यसबाट पनि केही हिस्सा क्यानले पाउनेछ। यूट्यूब, फ्यान कोड र ओटीटीबाट पनि आम्दानी गरेको थियो।

क्यानले आयोजना गर्दा खर्च नै नगरेको भने होइन। क्यानले त्रिवि क्रिकेट मैदानमा संरचनाहरू निर्माण गरेको थियो। स्टार स्पोर्ट्सलाई पैसा तिरेर प्रत्यक्ष प्रसारण गराएको थियो। टिसिएमलाई व्यवस्थापनमा भित्र्याएको थियो।

उकेराले प्राप्त गरेको विवरणमा क्यानले दुबईमा रहेको कम्पनी टिसिएमसँग गैर कानुनी तवरले ९२ हजार ५ सय अमेरिकी डलर ५० प्रतिशत भुक्तानी गरी पठाएको खुलेको थियो।

यो बिचमा २ पटक बोर्ड मिटिङ बसिसकेको छ। तै पनि आम्दानी र खर्च विवरण सार्वजनिक गरेको छैन। प्रवक्ता लामा खर्चको बारे प्रधानमन्त्री कपको अघिल्लो दिन भैरहवामा र त्यसको १५, १६ दिन अघि मिटिङ बसेको बताए।

तर दुवै बोर्ड बैठकमा एनपिएल आयोजक समितिले लिगको आम्दानी र खर्चबारे केही पनि खुलाएन। आम्दानी र खर्च विवरणबारे प्रवक्ता लामासँग जिज्ञासा राख्दा भने,‘त्यस्तो जानकारी कसरी तपाईँलाई दिनु। त्यो भन्न मिल्दैन।’ 

यो पनि:-

चैत २६, २०८१ मंगलबार १८:२४:१३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।