चैत १५ मा राज्यले हिंसा भड्काएको लिङदेनको दाबी

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले जहाँ राजादेखि गणतन्त्रवादी सबै अटाउनेगरि नयाँ राजनीतिक समझदारी गर्न माग गरेका छन्।
मंगलबार आयोजित खबरदारी सभामा बोल्दै उनले अहिलेको बाटोबाट देश अगाडि जान नसक्ने दाबी गर्दै त्यसका लागि शान्तिपूर्ण तरिकाले सबै राजनीतिक शक्तिहरू अटाउने गरी नयाँ समझदारी निर्माण गर्नुपर्ने बताए।
राप्रपाले देशलाई पछाडि फर्काउने नभनेको दाबी गर्दै उनले अहिले देशको अवस्था अगाडि जान नसक्नेगरि अड्किएकाले देशलाई अगाडि लैजान नयाँ समझदारी गर्नुपर्ने बताए।
‘यही बाटोबाट देश अगाडि जान सक्दैन। देशलाई एउटा नयाँ समझदारीको आवश्यकता छ। त्यसको लागि शान्तिपूर्ण तरिकाले सबै राजनीतिक शक्तिहरू अटाउने गरी, सबै राजनीतिक शक्तिहरूको सहमतिमा एउटा नयाँ समझदारी गरौँ,’ उनले भने ‘हिजोका राम्रा कुराहरू समेटेर जाऊँ र अहिलेको पनि राम्रा कुराहरू समेटेर नयाँ समझदारी गरौँ। नेपालको मौलिक व्यवस्था निर्माण गरौँ। जहाँ राजादेखि अहिलेका गणतन्त्रवादी सबै अटाउने छन्।’
उनले चैत्र १५ मा तीनकुनेमा भएको हिंसात्मक क्रियाकलापप्रति खेद प्रकट गर्दै हिंसा राज्यको तर्फबाट भड्काइएको दाबी गरे।
राप्रपा कुनै पनि हिंसामा विश्वास नगर्ने भन्दै उनले जसले जेका लागि हिंसा गरे पनि त्यसको विरुद्धमा रहेको बताए। उनले चैत्र १५ मा राज्यको तर्फबाट हिंसात्मक क्रियाकलाप भएको दाबी गर्दै खेद व्यक्त गरेका थिए।
‘म अहिले पनि तोकेर भन्छु, त्यो हिंसा राज्यको तर्फबाट भड्काइएको थियो। त्यो राज्यको तर्फबाट गरिएको हिंसा थियो,’ उनले दाबी गरे।
चैत २६, २०८१ मंगलबार १७:२५:२५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।