आफ्नै कार्यक्रममा देखिँदैन दलका झन्डा

काठमाडौँ : राष्ट्रिय प्रजातन्त्र पार्टीले बल्खुमा आयोजना गरेको बृहत् खबरदारी सभामा पार्टीको भन्दा धेरै राष्ट्रिय झन्डा देखिए। सभामा सहभागी हुन आएका अधिकांशले राष्ट्रिय झन्डा बोकेका थिए।
यस अगाडिका कार्यक्रमहरूमा पार्टीको झण्डाको प्रयोग हुने गरेकोमा पछिल्लो समय भने दलगत कार्यक्रमहरूमा समेत राष्ट्रिय झण्डाको प्रयोगकोक्रम बढी रहेको देखिन्छ।
गत स्थानीय तहको निर्वाचनमा स्वतन्त्र उम्मेदवारहरूले प्रचारमा राष्ट्रिय झण्डाको प्रयोग गरेका थिए। त्यसमा सबैभन्दा अगाडि थिए बालेन शाह।
यसले दलगत झन्डाभन्दा राष्ट्रिय झण्डाले आकर्षण बढाउने देखियो। अनि राष्ट्रिय स्वतन्त्र पार्टीले पनि आफ्नो दलगत कार्यक्रमहरूमा राष्ट्रिय झण्डाको प्रयोग गर्न थाल्यो।
दुर्गा प्रसाईँले आफ्नो कार्यक्रमहरूमा समेत राष्ट्रिय झण्डाको प्रयोग गर्न थालेका थिए। तीनकुनेमा चैत १५ गते आयोजित विरोध कार्यक्रममा सहभागीहरू राष्ट्रिय झण्डासहित उपस्थित भएका थिए।
बल्खुमा राप्रपाले मंगलबार आयोजना गरेको सभामा समेत उही तीनकुनेकै शैलीमा राप्रपाको भन्दा राष्ट्रिय झण्डाकै बढी प्रयोग भएको देखियो।
चैत २६, २०८१ मंगलबार १६:२१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।