सूर्यज्योति लाइफले इ-कर्जा र डिजिटल कार्ड सेवा सुरु गर्यो

काठमाडौँ : सूर्यज्योति लाइफ इन्स्येरेन्स कम्पनीले इ-कर्जा र आफ्ना बीमित तथा अभिकर्ताहरूका लागि विशेष सुविधा दिने सूर्यज्योति केयर्स डिजिटल कार्डको सुरुवात गरेको छ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रकाश विक्रम खत्रीले सूर्यज्योति केयर्स डिजिटल कार्ड र इ-कर्जाका फाइदाहरू, यसका मापदण्ड र सेवा लिने विधिका बारेमा विस्तृत जानकारी दिए। उनले कम्पनीले सधैँ नवीनतम प्रविधिमा जोड दिँदै सेवाहरूमा परिमार्जन र परिष्कृत गर्दै लैजाने कुरामा जोड दिए। साथै दाबी भुक्तानीलाई पहिलो प्राथमिकतामा राखेर कम्पनी अगाडि बढेको बताए।
सूर्यज्योति लाइफले बीमितहरुलाई अझ सरल तथा सहज ढंगले सेवा दिने हेतुले बीमालेख बापत प्राप्त हुने कर्जा सम्बन्धी नयाँ प्रविधिमैत्री अनलाइन मार्फत लोन लिन सकिने कम्पनीले जानकारी दिएको छ।
कम्पनीका अनुसार बीमालेख जारी मिति ३ वर्ष पुरा भएपछि र ३ वर्षको बीमाशुल्क प्राप्त भएपछि कर्जा रकम दिइने, नगद मूल्य रकमको अधिकतम ९० प्रतिशतसम्म कर्जा लिन सकिने, अनलाइन मार्फत जुनसुकै समयमा र जुनसुकै ठाउँबाट सहज र सरल किसिमले कर्जाको लागि आवेदन दिन सकिने, एक क्लिकमा रियल टाइममा नै खल्ती वालेट मार्फत कर्जा रकम प्राप्त गर्न सकिने र हाललाई कर्जा रकम अधिकतम ५० हजार मात्र प्राप्त गर्न सकिने कम्पनीले जानकारी दिएको छ।
कम्पनीले आफ्ना बीमित तथा अभिकर्ताहरूलाई सुविधा दिने उद्देश्यले सूर्यज्योति केयर्स डिजिटल कार्डको पनि सुरुवात गरेको कम्पनीले जानकारी दिएको छ। तोकिएका मापदण्ड पूरा गरेका बीमित तथा अभिकर्ताहरूलाई सूर्यज्योति मोबाइल एप मार्फत डिजिटल कार्ड प्रदान गरिने, कम्पनीसँग सम्झौता भएका विभिन्न सेवा प्रदायक संस्थाहरूबाट विशेष छुट तथा सुविधा प्राप्त गर्न सकिने र अस्पतालहरू, स्वास्थ्य परीक्षण प्रयोगशालाहरू, होटलहरु, शैक्षिक संस्थाहरू, डिपार्टमेन्ट स्टोरहरू लगायतका सेवा प्रदायक संस्थाहरूसँग सम्झौता गरिएको कम्पनीले जानकारी दिएको छ।
बीमा प्राधिकरणका कार्यकारी निर्देशक सुशील देव सुबेदीले उच्च प्रविधियुक्त प्रडक्ट निर्माण गर्ने सूर्य ज्योतिको पहललाई प्रशंसनीय र कदरयोग्य बताए। नवप्रवर्द्धन र नवीनतम चिजको आविष्कारको विस्तार विकासमा बीमा प्राधिकरण सधैँ साथमा उभिएको र अभिभावकत्व निर्वाह गर्ने प्रतिबद्धता जनाए।
बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाले सूर्य ज्योतिको डिजिटल सर्भिस अत्यन्तै प्रशंसनीय र आम बीमितहरुका लागि महत्त्वपूर्ण रहेको बताए। बीमा प्रडक्टलाई लिक्विड बनाउने गरी फिंगरटिपबाट लोन लिने मेकानिज्म राम्रो रहेको र यसले बीमितहरुलाई तत्काल आवश्यकता परेको बेला बीमा कम्पनीसम्म नपुगी सेवा प्राप्त गर्न सकिने सन्देश दिने बताए।
चैत २६, २०८१ मंगलबार १६:०२:२३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।